• ६ जेठ २०८१, आइतबार

बजेट अभावले कालोपत्रे रोकिँदै

blog

अमरगढी समाचारदाता

डडेलधुरा, वैशाख २५ गते । डडेलधुरा चक्रपथ सडकका रूपमा परिचित आइतबजार–कीर्तिपुर खण्ड बजेटको अभावमा कालोपत्रे हुनबाट रोकिने भएको छ ।

सुदूरपश्चिम प्रदेशको गौरवको योजना दैजी–जोगबुडा–चिरकिट्टे–आइतबजार–कीर्तिपुर हुँदै पोखरा–बेलापुर–ढुङ्गाड–देउरा–जौलजीवीलाई मानसरोवर जोड्ने सो सडकखण्डको आइतबजार–कीर्तिपुर खण्ड डडेलधुराको चक्रपथ बनेको छ । 

अमरगढी नगरपालिका–३ को आइतबजारबाट वडा नं. ४ को हरडी, भलिया र वडा नं. ५ को सेलागाउँका बस्ती जोड्दै कीर्तिपुर बजार भएर महाकाली राजमार्गसँग जोडिने भएकाले यसलाई रिङरोड (चक्रपथ) का रूपमा हेरिएको हो । साढे छ किलोमिटर सडक कालोपत्रे गर्न गत असारमा भ्याटबाहेक १९ करोड रुपियाँ बराबर रकममा ठेक्का सम्झौता भएको थियो । दुई वर्षमा काम गर्ने गरेर पूर्वाधार विकास कार्यालयले शनिदेव सहिन्श्वर जेभीसँग ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख इन्जिनियर नवराज रावलले जानकारी दिनुभयो । 

गत पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले हालसम्म कटिङको ९९ प्रतिशत काम गरेको छ भने पर्खाल र नाली बनाउने काम भइरहेको कम्पनीका सञ्चालक यज्ञराज जोशीले जानकारी दिनुभयो । 

मोबिलाइजेसनबापतको करिब दुई करोड रुपियाँ अग्रिम लिएर काम सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार हालसम्म करिब २० प्रतिशत काम भइसकेको छ । कीर्तिपुरको जिरो प्वाइन्टमा स्थानीयले सडकमा आफ्नो जमिन परेको भन्दै दाबी गरेपछि कटिङको शतप्रतिशत काम हुन नसकेको उहाँको भनाइ छ । काम भए अनुसारको बिल भुक्तानीका लागि कार्यालयमा जाँदा बजेट नभएको भन्ने जानकारी पाएको उहाँले बताउनुभयो । असार मसान्तसम्म पूरै सडक ग्राभेल गरिसक्ने लक्ष्य अनुसार काम भए पनि आवश्यक बजेट नहुँदा ढिलाइ भएको उहाँले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय डडेलधुराका कार्यालय प्रमुख रावलले रकम नभएको बताउनुभएको छ । भुक्तानी गर्न रकम अभाव भएकाले कार्यालय प्रमुखले नै काम रोक्ने भए रोक्न भनेको उहाँले स्पष्ट पार्नुभयो । कार्यालय प्रमुख रावलका अनुसार निर्माण कम्पनीले हालसम्म साढे चार करोड बराबरको काम गरिसकेको छ तर काम अनुसारको बिल भुक्तानी गर्न कार्यालयसँग बजेट छैन । आवश्यक बजेट उपलब्ध गराउन सुदूरपश्चिम प्रदेश भौतिक मन्त्रालयसँग माग गरिए पनि प्राप्त नभएको उहाँले बताउनुभयो ।