• १० मंसिर २०८१, सोमबार

पत्रकारिताको विश्वविद्यालय

blog

मुलुकको छापा पत्रकारिताको इतिहासमा जगका रूपमा रहेको गोरखापत्रलाई सिङ्गो पत्रकारिताको विश्वविद्यालय पनि मानिन्छ । पत्रकारिताको आजको विकसित स्वरूपबाट पछाडि फर्किएर गोरखापत्रलाई नियाल्दा पत्रकारिताको ‘गुरुकुल’ का रूपमा रहेको विदित हुन्छ । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक पत्रिकाका रूपमा प्रकाशित गोरखापत्र एसिया महादेशमा प्रकाशन हुँदै आएका पुराना छापामध्येमा पर्नु गौरवबोधी विषय हो । राणा शासनकालमा सुधारवादी शासक श्री ३ देवशमशेरले जनतालाई देश दुनियाँका खबरद्वारा सुसूचित गराउने पवित्र उद्देश्यले सनद जारी गरेर प्रकाशन प्रारम्भ गरिएको साप्ताहिक ‘गोर्खापत्र’ राजनीतिक उतारचढावका अनेक शासन व्यवस्थाका घामपानी सहँदै निरन्तरताको १२४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुँदै आएको गोरखापत्रले समाचार तथा सूचना प्रवाहमा अग्रणी भूमिका खेल्दै नेपाली भाषा, साहित्य, कला, धर्म र संस्कृतिको उन्नयनमा समेत विशिष्ट योगदान पुर्‍याउँदै आएको जगजाहेर छ ।

मुलुकको संविधानद्वारा प्रदत्त बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा भएकाले समावेशीकरणको दिशामा अगाडि बढेको गोरखापत्रमा ४३ भाषाले स्थान पाइसकेको तथ्य आफैँमा गौरवबोधको विषय बनेको हो । पहिलो पटक पण्डित नरदेवको नाममा सनद जारी गरिएर उहाँकै तालुकीमा पत्रिका प्रकाशन गर्ने गरी वार्षिक खर्च व्यवस्था गरिएको गोरखापत्रको उन्नयनमा उहाँपछि नियुक्त जयपृथ्वीबहादुर सिंहले महìवपूर्ण भूमिका खेल्नुभएको इतिहासमा अङ्कित छ । उहाँहरू तालुकवाला तोकिनुभएको भए पनि पत्रिकाको सम्पादकका रूपमा भने नाम उल्लेख भएको थिएन । विसं १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलो पटक सम्पादक प्रेमराज उल्लेख छ । यसै गरी पहिलो प्रधान सम्पादकको जिम्मेवारीमा भने विसं २०१२ भदौ ३० गते बालकृष्ण सम नियुक्त हुनुभयो । विसं २०१९ गोरखापत्र संस्थान ऐन जारी भएपछि सोही ऐन अनुसार सञ्चालित राज्यको गौरव गोरखापत्रका भगिनी प्रकाशनका रूपमा विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी दैनिक ‘दी राइजिङ नेपाल’ को प्रकाशन प्रारम्भ भएको हो । यसको पहिलो सम्पादक वरुणशमशेर नियुक्त हुनुभएको थियो ।

प्रकाशन झाँगिने क्रममा विसं २०२५ मा साहित्यिक मासिक ‘मधुपर्क’, २०४५ मा युवापुस्तालाई प्रतिनिधित्व गर्ने ‘युवामञ्च’ र २०४७ मा आएर बालबालिकाका लागि ‘मुना’ मासिकको प्रकाशन प्रारम्भ गरेर सबै तह र तप्कालाई रुचि अनुसारका खुराक पस्किने कार्यमा संस्थानले जिम्मेवारीबोध गर्दै आएको छ । विसं २०४७ मा प्रकाशन प्रारम्भ गरिएको अङ्ग्रेजी साप्ताहिक ‘सन्डे डिस्प्याच’ र २०५५ मा प्रकाशन प्रारम्भ गरिएको पारिवारिक मासिक ‘मनोरम अप्सरा’ लाई निरन्तरता दिन नसके पनि पछिल्लो चरणमा डिजिटल युगको माग अनुसार अनलाइन सञ्चालनमा ल्याएर संस्थानले पहुँचलाई विश्वव्यापी बनाएको छ ।

गोरखापत्र आमनेपालीको साझा पत्रिका भएकोमा कुनै द्विविधा छैन । यदाकदा सरकारी मुखपत्रको बिल्ला लगाइदिएर यसको भूमिका खुम्च्याउने प्रयत्न हुने गरेको पनि छ । यद्यपि प्रकाशन प्रारम्भ गर्ने आदेशको सनदमै ‘हाम्रा तारिफ नछाप्नू, देश दुनियाँका खबर छाप्नू’ भन्ने उल्लेख भएको इतिहास साक्षी छ । यसैको जगमा खडा भएको गोरखापत्र समग्र राज्यको मुखपत्रका रूपमा रहेको हो । गोरखापत्र साप्ताहिक, हप्तामा दुई÷तीन पटक हुँदै दैनिक र कुनै समयमा प्रातःकालीन र सन्ध्याकालीन संस्करणसमेत प्रकाशित हुने गरेको थियो । नेपालमा फोटो पत्रकारिताको सुरुवातकर्ता पनि गोरखापत्र नै भएको छ । विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक सर्वसाधारणको तस्बिर छापिएको इतिहास कायम छ । गोरखापत्र प्रकाशन भएको ऐतिहासिक दिन वैशाख २४ को स्मरण गर्दै नेपाल सरकारले २०७३ सालदेखि ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेर राष्ट्रिय पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको स्मरणीय छ ।

विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर गोरखापत्रले समावेशी पत्रकारिताको नयाँ इतिहास रचेको छ । २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ अन्तर्गत नेपालमा बोलिने राष्ट्रभाषाहरूको प्रकाशन सुरु गरी हाल ४३ भाषामा सामग्री प्रकाशन गरेर आमनागरिकमा अपनत्व बाँड्ने अवसर गोरखापत्रले जुटाएको हो । इतिहासको साक्षी बनेर विभिन्न आरोह–अवरोह खेप्दै १२४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्रले आमसञ्चारका क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्ककर्ता विभिन्न कालखण्डका हाम्रा श्रद्धेय पाठक वर्ग नै हुन् । परिवर्तनका अनेक आयाममा आफूलाई खरो उतार्न सफल गोरखापत्र पत्रकारिताको मर्म र धर्म निर्वाह गर्न सदैव तत्पर रहेको छ । आगामी दिनमा पनि राज्यको मुखपत्रका रूपमा सूचना प्रवाहका साथै जनसरोकारका विषयमा सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रण गर्दछौँ ।