• ६ जेठ २०८१, आइतबार

टेबल टेनिसको ओलम्पिक छनोट नेपालमा

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख २३ गते । पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिस खेलको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ ।

आगामी जुलाइदेखि फ्रान्सेली सहरमा ३३ औँ गृष्मकालीन ओलम्पिक हुँदैछ । त्यसका लागि अधिकांश खेलको छनोट चरण चलिरहेको छ । टेबल टेनिसको लागि दक्षिण एसियाली छनोट प्रतियोगिता भने नेपालमा आगामी मे १३ देखि २५ तारिखसम्म हुने भएको हो ।

छनोट प्रतियोगितामा भारत र भुटानबाहेक दक्षिण एसियाली राष्ट्र नेपाल, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक अखिल नेपाल टेबल टेनिस सङ्घकाअनुसार विश्व वरीयताको शीर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो ।

प्रतियोगिता संयोजक तेजेन्द्र सिंहका अनुसार प्रतियोगिता नकआउटका आधारमा हुनेछ । छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र दुई महिलाले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नबिता श्रेष्ठ र इभाना थापाले प्रतिस्पर्धा गर्नुहुनेछ । 

दक्षिण एसियाली छनोटबाट समान एक पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न पाउनेछन् । नेपालले पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना गर्न लागेको हो । यो छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताका लागि करिब १० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भारतको सहभागिता नहुँदा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘‘भारत नहुँदा ओलम्पिकमा छनोट हुने सबैभन्दा ठुलो अवसर नेपालका लागि हुनेछ । श्रीलङ्का पनि दाबेदार हो । घरेलु कोर्टमा चारै खेलाडी दाबेदार रहनेछन् । अस्ट्रेलियामा रहनुभएका स्यान्टु केही दिनमा नेपाल आइपुग्नु हुनेछ ।’’

नेपालबाट यसअघि तेक्वान्दोका सँगिना वैद्य र दीपक विष्टले ओलम्पिकमा छनोट चरण पार गर्नुभएको छ । छनोट प्रतियोगिता सञ्चालनका लागि भने भारतबाट प्राविधिक आउने सङ्घले जनाएको छ ।