• ५ जेठ २०८१, शनिबार

गोर्खा स्मारक निर्माणमा चासो

blog

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख २३ गते । निर्माण थालेको १० वर्षसम्म सुस्त गतिमा रहेको फेदिखोला गाउँपालिका १ साल्मेडाडाँ रामकोटको गोर्खा स्मारक निर्माणमा सबैको चासो गएको छ। पाँच वटा योजना रहेको बृहत् परियोजना स्रोतको अभाव र निर्माण समिति बिचको मुद्दा मामिलाका कारण गति सुस्त रूपमा अगाडि बढेको थियो । 

जनवरी २०१७ बाट गोरखा स्मारक ट्रस्टमा निष्क्रिय रहनुभएका अध्यक्ष पदम बहादुर गुरुङलाई हटाई जङ्ग बहादुर गुरुङको नेतृत्वमा समिति बनाएर काम थालिएको थियो । नयाँ समिति बनाएर काम थालेपछि समितिको अध्यक्ष आफैँ रहेको भन्दै पदम बहादुर गुरुङले उच्च अदालत पोखरामा रिट दायर गर्नुभएको थियो । पदम बहादुरको माग दाबी रिट गत चैत ६ गतेको उच्च अदालतले खारेज गरेसँगै गोरखा स्मारक ट्रस्टले बृहत् पत्रकार सम्मेलन तथा सरोकारवालासँग अन्तरक्रिया गर्दै निर्माणको गति अगाडि बढाउन आग्रह गरेको थियो । 

अन्तरक्रियामा गण्डकी विश्व विद्यालयका उपकुलपति गणेशमान गुरुङले गोर्खा स्मारक सबैको सम्पत्ति भएकाले निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । उच्च अदालतको फैसलाले समितिमा समस्या समाधान भएको र अब निर्माणका कुनै कन्जुसाई गर्न नहुने गुरुङको भनाई थियो । 

कार्यक्रममा गण्डकी प्रदेश सदस्य सुधीर कुमार पौडेलले १० वर्षसम्म पहिलो चरणको समाधि स्थल निर्माण सकिएको बताउँदै आफू यसै ठाउँको जनप्रतिनिधि भएकाले अब अन्य कामहरूको पहल गर्ने बताउनुभयो । कार्यक्रममा स्याङ्जा कार्यक्षेत्र भएका गण्डकी प्रदेशका सदस्यहरू सिता सुन्दास, कल्पना तिवारीले सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गरे चाँडै गोरखा स्मारक निर्माण सफलता पाउने बताउनुभएको थियो । 

गोरखा स्मारक सन १८१४ देखिएका लडाई तथा प्रथम र  दोस्रो विश्व युद्धमा वीरगति प्राप्त गरेकाको पुस्तौँसम्म स्मरण गराउने परियोजना हो । 

गोर्खा स्मारक ट्रष्टका महासचिव डा. चन्द्र बहादुर गुरुङले पहिलो चरणको फोहरा राख्ने र गोर्खा राइफल  आर्मीको मूर्ति राख्ने काम गर्ने बताउँदै चाँडै नेपालको प्रधानमन्त्री र बेलायतका प्रधानमन्त्रीहरूको संयुक्त उपस्थितिमा साल्मेडाँडा समाधि परिसरको उद्घाटन गर्ने बताउनुभयो । 

गेसोले साल्मेडाँडाको नाउमा उठाएको करोडौँ रुपियाँ नआएको बताउँदै गुरुङले अन्यथा चन्दा दाताहरूको नाम साल्मेडाँडा परिसरमा अभिलेखीकरण नहुने बताउनुभयो । पहिलो चरणको समाधी स्तरण निर्माणमा नेपाल सरकारको सात करोड ४३ लाख ६६ हजार ११५ रुपियाँ, प्रदेश सरकारको ६० लाख रुपियाँ सहित लाहरे चन्दा दाताबाट रकम सङ्कलन गरी १९ करोड खर्च गरिएको हो भने २७ लाख ८७ हजार रुपियाँ बक्यौता रहेको छ । 

पहिलो चरणको काम सकेसँगै गोरखा सङ्ग्रहालय, गोरखा साँकृतिक गाउँ, गोरखा धरहरा र छुकछुके ३ डिब्बे रेलको कामलाई अगाडि बढाइने छ । वरपर हरियाली र पहाडी बस्ती, माछापुच्छ्रे लगायतका हिमालय शृङ्खला देख्न सकिने प्राकृतिक सौन्दर्ययताले भरिपूर्ण स्थल गोर्खा स्मारक साल्मेडाँडा गोरखा पार्क हो । 

पोखराबाट १७ किलोमिटर दक्षिण पश्चिममा पर्ने र कास्की तथा स्याङ्जाको संगमस्थल साल्मेडाँडामा निर्माणाधीन बृहत् योजना सरकारी जग्गा ३०९ नम्बर कित्ता(फेदिखोला)मा ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।