• ५ जेठ २०८१, शनिबार

दमौली अस्पतालमा शल्यक्रिया सुरु

blog

तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताल । तस्बिरःअमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २३ गते । दमौली अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ । सामान्य शल्यक्रियासमेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौंमा पु¥याउन बाध्यता थियो । जनशक्ति अभावले बन्द गरेको शल्यक्रिया सेवा २० महिना पछि सुचारु गरिएको अस्पतालले जनाएको छ ।

 आवश्यक जनशक्ति विज्ञापनबाट पद पूर्ति गरी हालै  सेवा सञ्चालनमा ल्याइएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो  । एनेस्थेसिए सहायक सुजिता नापितलाई पदपूर्ति गरी सेवा दिन थालिएको बरालले बताउनुभयो । एनेस्थेसिए सहायक र स्त्री रोग बिशेषज्ञका लागि  व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मासिक तलब दिने व्यवस्था गरिएपछि सेवा सुरु गरिएको बरालले बताउनुभयो । यसअघि विशेषज्ञको अभावमा सामान्य प्रसूति सेवाले निरन्तरता पाए पनि शल्यक्रिया गर्नुपर्ने जटिल प्रकारका गर्भवतीलाई पोखरालगायत ठूला अस्पतालमा पठाउने गरिएको थियो ।

 गर्भवती महिलालाई औषधी लगाएर सामान्य डेलिभरी गराउने गरिएकोमा हाल महिलामा प्रेसर, सुगर भएमा, बच्चाको टाउको ठुलो भएमा,बच्चा ठुलो भएर जन्माउन समस्या भएमा जटिल अप्रेसन गरी बच्चा जन्माउने सुविधा रहेको दमौली अस्पतालको सूचना अधिकारी तथा अस्पताल नर्सिङ निरीक्षक मोनिका परियारले जानकारी दिनुभयो । परियारलको अनुसार सेवा सुरु गरिएपछि पाँच जनाले सुविधा लिनु भएको छ । परियारले भन्नुभयो ‘गर्भवतीको शल्यक्रिया गर्न सक्षम छौं, अब सुत्केरी हुन मात्र टाढा पुग्नु पर्दैन ।’ अस्पतालले उक्त सेवा दिन थालेपछि दमौली बाहिर गएर सेवा लिनुपर्ने बाध्यता हटेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गर्भवती महिलाका लागि दैनिक भिडियो एक्सरे, एक्सरे लगायतका सेवाको समेत व्यवस्था मिलाइएको छ ।

सुविधा पाएपछि सेवाग्राही खुसी भएका छन् । भाई बुहारीको अप्रेसनबाट बच्चा जन्माउने सुविधा पाउँदा निकै खुसी लागेको व्यास नगरपालिका–४ की केशरी शाहीले बताउनुभयो । शाहीले भन्नुभयो, अप्रेसनको लागि पोखरा जानुपर्दा धेरे खर्च लाग्थ्यो यहाँ सुविधा पाउँदा सजिलो खर्च कम भएको छ ।’ अस्पतालमा अहिले दैनिक करीव ४० गर्भवती महिला स्वास्थ्य परीक्षणका  लागि आउने गरेका छन् । अस्पतालले रात्रीकालीन रेडियोलोजिष्ट सेवा दिन समेत सुरु गरेको छ । अस्पतालमा माइनर अप्रेसन सेवा, स्त्री रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ, मानसिक रोग बिशेषज्ञ, महिनामा एक पटक मृर्गौला रोग बिशेषज्ञबाट मृगौला बिरामीको स्वास्थ्य परीक्षण, दाँत, आँखा उपचार तथा फार्मेसी लगायतका सेवा प्रदान गर्दै आएको छ । यो तनहुँको जिल्ला स्तरीय अस्पताल हो ।