• १० जेठ २०८१, बिहिबार

बिचौलियाको मारमा किसान र उपभोक्ता : मुख्यमन्त्री अधिकारी

blog

पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले आयोजना गरेको समीक्षा गोष्ठीमा बोल्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी । तस्बिर : रमेश पौडेल

रमेश पौडेल
पोखरा, वैशाख २२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताहरू बिचौलियाको मारमा परेको बताउनुभएको छ । शनिबार पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले आयोजना गरेको तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समीक्षा गोष्ठीमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले किसान र उपभोक्ताको हितका लागि बिचौलियाको अन्त्य गर्नुपर्नेमा जोड दिँदै पशुपालक किसान र उपभोक्ताका बिचमा पुलको काम सरकारले गर्नुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, “बिचौलियाका कारण एकातिर उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् भने अर्कोतिर पशुपालक किसानलाई लागत खर्च उठाउन मुस्किल भएर पलायन हुनुपर्ने अवस्थासम्म देखिने गरेको छ । यस्तो समस्या समाधानका लागि अब सरकारले किसान र उपभोक्ता बिच पुलको काम गर्नुपर्छ ।” पशु फार्मका सञ्चालक, सरकार र बिमा कम्पनी मिलेर तीन पक्षीय सम्झौता अनुसार काम गर्न सकिने मुख्यमन्त्री अधिकारीको विश्वास छ ।

स्थानीय सरकार तथा प्रदेश सरकारले न्यूनतम समर्थन मूल्य तोकेर दुध तथा मासु खपत गराउने र बजारसम्म पुर्‍याउने काम गर्दा पशुपालक किसानलाई उचित मूल्य र व्यावसायिक सुरक्षाको प्रत्याभूत हुनसक्ने तर्क अघि सार्नुहुँदै उहाँले भन्नुभयो “किसानहरू निर्वाहमुखी मात्र नभई यान्त्रिकीकरण र वैज्ञानिकीकरण तिर लागेर अधिकतम लाभ लिन सक्ने वातावरण सिर्जना गर्नु पर्दछ ।” उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई पहिल्याउँदै समाधानका लागि प्राप्त हुने विकल्पमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

किसानलाई मासु तथा दुग्धजन्य पदार्थ उत्पादन गरेपछि बेच्ने कहाँ भन्ने चिन्ता समेत हुने गरेकोले बजारीकरणसहित बजारको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । यसका लागि उपयुक्त योजना बनाउन पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयलाई निर्देशन दिँदै आवश्यक पर्ने बजेट उपलब्ध गराउन सरकार तयार रहेको प्रष्ट पार्नुभयो ।

यहाँ देखिएका बहुआयामिक गरिबी हटाउन कृषि र पशुपालनलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । ‘‘कृषि र पशुपालनलाई जबसम्म अगाडि बढाउन सकिँदैन तबसम्म हामी हाम्रो बहुआयामिक गरिबी हटाउन पनि सक्दैनौ, त्यसमा ध्यान दिएर जाने हो’’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । उहाँले गण्डकी प्रदेशलाई मासु, माछा, अण्डा, दुधलगायतमा केही समयमानै पूर्ण आत्मनिर्भर बनाउँदै निर्यात गर्न सक्ने ठाउँमा पुर्‍याइने दाबीसमेत मुख्यमन्त्री गर्नुभयो ।

कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा.टङ्कप्रसाद प्रसाईँ,  निर्देशनालयका महानिर्देशक डा.प्रेरणा सेढाई भट्टराई, डा. बालकुमार श्रेष्ठ, डा.सपना लक्ष्मी घिमिरे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले प्रगति विवरणसहितका प्रस्तुति राख्नुभएको थियो ।