• ५ जेठ २०८१, शनिबार

वायु प्रदूषणले आँखाका बिरामी बढे

blog

दमौली अस्पतालमा आँखाको जाँच गर्दै विरामी बालिका । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २२ गते । 
वायु प्रदूषणले तनहुँमा आँखाका बिरामी बढेका छन् । यतिबेला जिल्लामा आँखा उपचार हुने सरकारी तथा निजी अस्पतालहरूमा आँखाका बिरामीको चाप बढेको छ ।

पछिल्लो केही दिनयता आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको दमौली अस्पतालस्थित गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार वायु प्रदूषण बढेसँगै आँखा रातो हुने, चिलाउने र आँखा बिजाउने समस्या भएका बिरामी बढी आउने गरेका छन् । हाल दैनिक ४५ जनाको हाराहारीमा आँखासम्बन्धी विभिन्न समस्याका बिरामी चेकजाँचका लागि आउने गरेको नेत्रसहायक लक्ष्मी चौधरीले बताउनुभयो ।

चौधरीले बिरामीको सङ्ख्या दैनिक वृद्धि भइरहेको जानकारी दिनुभयो । बिरामी चाप अत्यधिक बढिरहेको जनशक्ति अभावले सेवा दिन कठिन भइरहेको उहाँ बताउनुहुन्छ । आफू एक जनाले मात्रै परीक्षण गर्न कठिन भएकाले एक जना नेत्र सहायक थप्नका लागि माग गरिएको चौधरीले जानकारी दिनुभयो ।

तनहुँमा प्रदूषणले गर्दा दिउँसै बादल लागेजस्तो बनेर अँध्यारो भएको छ । यहाँ आकाश बाक्लो तुवाँलोले ढाकेको छ । वातावरणीय अवस्थामा सुधार नहुञ्जेल सकभर घरभित्रै बस्ने, धुलो धुवाँमा र घाम नलागेको बेला नहिँड्ने, हिँड्न परेको चस्माको प्रयोग गर्ने र पानी प्रशस्त पिउनु पर्ने दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिनुभयो । 

पृथ्वीराजमार्ग विस्तारको काम भइरहेको गाडीले सडक अप्ठ्यारो हुँदा धुवाँ धेरै फाल्ने,  धुलो धेरै उडाउने, वनमा लागेको डढेलोले धुवाँ र खरानीले वायु प्रदूषण गरेको डा.बरालले जानकारी दिनुभयो । बरालले भन्नुभयो, ‘‘पानी पर्न नसकेका कारणले धुवाँ र धुलोहरू जमिनमा स्थानान्तरण नहुने गरेकोले हाल आँखाका बिरामी बढेका छन् ।’’

मौसम परिवर्तनसँगै आँखा सुक्खा हुने र हावाहुरीले आँखामा धुलो परी एलर्जी हुने भएकाले आँखामा विभिन्न समस्या देखापर्ने गरेको डा. बराल बताउनुहुन्छ । धुलोधुँवा उड्ने खालका पेसा, व्यवसाय निर्माण कार्य गर्दा धुवाँधुलो नउड्ने व्यवस्था मिलाउनु पर्ने अस्पतालले जनाएको छ । आँखा पोल्ने, पिरो हुने, बिझाउने र रातो हुने समस्या देखिएको छ  उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको व्यास नगरपालिका–२ डाँग्रेखोल्सी, ग्रिनसिटी स्थित सगरमाथा चस्मा पसलको सञ्चालिका अन्जु दाहालले बताउनुभयो । हाल वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको जानकारी दाहालले दिनुभयो । दाहालले भन्नुभयो, ‘‘पहिलेभन्दा दोब्बर बढी बिरामी आउने गरेका छन्, विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।’’