• ९ जेठ २०८१, बुधबार

आगलागीपीडितलाई सशस्त्र प्रहरीको राहत

blog

आगलागीपीडितलाई राहत वितरण गर्नुहुँदै सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, वैशाख २२ गते । 
सशस्त्र प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–१, बारा उद्योरणस्थित पूर्वारी टोलका आगलागीपीडितलाई शनिबार बिहान राहत प्रदान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बारा उद्योरणका आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । पीडित परिवारलाई बाहिनीपति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले राहत सामग्री वितरण गर्नुभएको छ ।

पीडित परिवारलाई एक थान कम्बल, एक थान तन्ना, एक थान तन्नाको खोल, एक थान सिरानी, एक थान सिरानीको खोल, एक थान थाल, एक थान कचौरा, एक थान गिलास र एक थान पानीखाने बोतल प्रदान गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले बताउनुभयो । उहाँले आगलागी पीडितलाई थोरै भए पनि सहयोग पुगोस् भनी सशस्त्र प्रहरीको तर्फबाट राहत प्रदान गरिएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले आगलागी पीडितलाई यस्तो दुःखको घडीमा सबै मिलेर बस्न अनुरोध गर्नुभयो । उहाँले मधेश प्रदेशमा सर्लाही, महोत्तरी, सप्तरीसहितका जिल्लामा आगलागीबाट व्यापक जनधनको क्षति भइसकेको भन्दै सावधानी अपनाउन समेत स्थानीयसँग आग्रह गर्नुभयो ।

राहत वितरण कार्यक्रममा उपस्थित विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले ज्यानको बाजी मारेर ठुलो सहयोग प्रदान गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्तै आपतविपद् परेको समय तथा सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी अपरिहार्य रहेकाले जग्गाको व्यवस्थापनसहित अन्य सरसहयोग गरेर सशस्त्र प्रहरीको क्याम्प राखिएको उल्लेख गर्नुभयो ।

राहत वितरण कार्यक्रममा सशस्त्रका डिआइजी शाह, गाउँपालिका अध्यक्ष यादवसहित सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्का, बोर्डर आउट पोष्ट (बीओपी) बाराउद्योरणका सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनाली, बलरा नगरपालिका–१, का वडाध्यक्ष बिकाऊ ठाकुरलगायतको उपस्थिति रहेको थियो । बिहीबार दिउँसो भएको आगलागीबाट बारा उद्योरणका ६० बढी घर जलेर नष्ट भएका थिए ।