• ११ मंसिर २०८१, मङ्गलबार

भत्किएको कुलो नबन्दा खेत बाँझो

blog

घोडाघोडीस्थित बग्धौली सिँचाइ कुलो मर्मतसम्भारको पर्खाइमा । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), वैशाख २२ गते । कैलाली जिल्लामा धानको ब्याड राख्ने समय सुरु भएको छ । घोडाघोडी क्षेत्रका करिब पाँच सय किसान भत्किएको सिँचाइ कुलो नबन्दा खेत बाँझो हुने चिन्तामा छन् । घोडाघोडी नगरपालिका–१, घोडाघोडी, कौवा, कैलाशपुर र सुखडका किसानको सयौँ बिघा जमिन नकरोड तालबाट ल्याइएको पानीले सिञ्चित हुँदै आएको छ । २०७९ सालको बाढीले कुलो र बाँध भत्काएपछि सिँचाइमा समस्या आएको हो ।

घोडाघोडीका स्थानीय राजु आचार्यले सिँचाइ सुविधाका कारण बाह्रैमास खेती हुने जग्गा गत वर्षदेखि आकासे पानीको भरमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कुलोको पानी भएको भए बिउ राखिसक्ने बेला भयो, बर्खे मकै लगाइन्थ्यो, सिँचाइ नहुँदा बिउ राख्न समस्या भएको छ ।” नल्का (धारा) को पानीले जेनतेन धानको बिउ राखे पनि समयमा पानी परेन भने बिउ सुकेर मर्ने र धान कम फल्ने समस्या रहेको किसान बताउँछन् । यहाँका किसानले परम्परादेखि नै नकरोड तालको पानी खेतसम्म ल्याउन प्रत्येक वर्ष श्रमदान गरेर कुलो सरसफाइ तथा निर्माण गर्दै आएका छन् । 

किसानकै प्रयासमा बग्धौली सिँचाइ उपभोक्ता समिति गठन गरी केही वर्षअघि बजेटको व्यवस्था गरेर कुलोको स्तरोन्नतिसँगै पक्की बनाइएको थियो । कुलोमा पानी नियन्त्रणका लागि बनाइएको ‘आउटलेट’ सहित २०७९ साल भदौमा आएको बाढीले कुलो भत्काएपछि निर्माण हुन सकेको छैन । कुलो निर्माण नहुनुमा उपभोक्ता समिति कमजोर रहेको आरोप स्थानीय किसानको छ । बग्धौली सिँचाइ उपभोक्ता समितिका सचिव दिलबहादुर धामीले आफूहरू समितिमा नआउँदै कुलो भत्किएकाले अब निर्माणको पहल भइरहेको बताउनुभयो । 

“सिँचाइ डिभिजन कार्यालयमा कुलो मर्मत निर्माणका लागि प्रस्ताव पेस गरेका छौँ । सके यसै वर्ष नसके आगामी वर्षबाट बजेट छुट्याएर भत्केको कुलो निर्माण गर्ने आश्वासन पाएका छौँ,” उहाँले भन्नुभयो । स्थानीय सीता विक किसान आफैँ एकजुट भई कुलो सफा गर्ने, ड्याम मर्मत गर्ने र पानी आलोपालो गर्दै आएको बताउनुहुन्छ । सिँचाइ डिभिजन कार्यालयको सहयोगमा करिब १४० मिटर लामो कुलो निर्माण गरिएको हो । बाढीले भत्काएको पक्की कुलो पुनर्निर्माणका लागि करिब ५० लाख रुपियाँ लाग्ने जनाइएको छ । यसका लागि केन्द्र सरकार र प्रदेश सभा सदस्य, स्थानीय सरकार प्रमुखलाई आग्रह गरिएको उपभोक्ता समितिका निवर्तमान उपाध्यक्ष हरिलाल सापकोटाले बताउनुभयो । 

“आगामी असार १५ सम्म बग्धौली सिँचाइ कुलोको पानीले धान रोपेर सक्नुपर्ने अवस्था छ । यहाँका किसान अहिले जग्गा बाँझो हुने हो कि भन्ने चिन्तामा छन्,” उहाँले भन्नुभयो । बग्धौली सिँचाइ आयोजनाबाट दुई सय हेक्टर खेतीयोग्य जमिन सिँचाइ हुने गरेको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख अमरबहादुर पालले बग्धौली सिँचाइ योजना निर्माणका लागि आगामी वर्षबाट बजेटको व्यवस्था गरिने बताउनुभयो । खेतीयोग्य जमिन, पानीको स्रोत, उपभोक्ता सङ्ख्याका आधारमा योजना छनोट हुने जनाउँदै उहाँले पक्की कुलो निर्माणमा डिभिजन कार्यालयको सहयोग भएको तर मर्मतसम्भार र संरक्षण गर्न नसक्नु उपभोक्ताको कमजोरी रहेको औँल्याउनुभयो ।