• ५ जेठ २०८१, शनिबार

प्रविधिमैत्री सेवा विस्तार गर्न सुझाव

blog

ललितपुर, वैशाख २२ गते । ललितपुर महानगरपालिकाका स्थानीयले महानगरपालिकाको विकास निर्माण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका छन् । 

अहिले महानगरपालिकाले गरेको काम अझै पर्याप्त नभएको भन्दै स्थानीयले महानगरको सेवालाई थप गुणस्तर र प्रविधिमैत्री बनाउन सुझाव प्रदान गरेका हुन् । 

ललितपुर महानगरपालिकाले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा महानगरवासीले महानगरपालिकाको कामलाई सेवाग्राहीमैत्री बनाउन विभिन्न प्रश्नसहित सुझाव प्रदान गरेका हुन् । 

महानगरवासीले महानगरपालिकाले साइकल लेन बनाएको तर लेन सञ्चालनका लागि व्यवस्थित पूर्वाधार नबनाएको, महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थीसँग विद्यार्थी भर्नाका क्रममा वार्षिक शुल्क उठाएको, सार्वजनिक सवारीसाधनमा फोहोर राख्ने डस्टबिन प्रयोग नभएको, पुराना पोखरी, ढुङ्गेधारा सुक्दै गएको र जनप्रतिनिधिलाई सजिलै भेट्न सकिने अवस्था नभएकोलगायतका विषयमा महानगरपालिकालाई प्रश्न गरेका हुन् । 

त्यस्तै मिचिएको सार्वजनिक जग्गा संरक्षण पर्याप्त रूपमा नभएको, खुला रहेको सार्वजनिक स्थानलाई खुलै राख्नुपर्ने, वडा नं. १ देखि २९ वटै वडामा पुगेर जनप्रतिनिधिले महानगरवासीको गुनासो सुनुवाइ गर्नुपर्ने, महानगरपालिकाले सञ्चालन गरेका विभिन्न सिपमूलक तालिममा एउटै व्यक्तिले विभिन्न तालिम लिएको तर व्यवहारमा कार्यान्वयन नभएकोलगायतका गुनासो राखेका हुन् । भगिनी सम्बन्ध कायम भएका पालिकासँग अन्तरिक पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीयले महानगरलाई सुझाएका छन् । स्थानीयको प्रश्नको जवाफ दिँदै महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक सुनुवाइमा उठेका सवाललाई महानगरपालिकाले नीतिगत र व्यावहारिक रूपमा सम्बोधन गर्ने बताउनुभयो । 

सबै प्रश्नको सम्बोधन एकै पटक नहुने भन्दै उहाँले क्रमिक रूपमा स्थानीयले राखेका गुनासो सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले चालु आर्थिक वर्ष २०८०/८१ मा महानगरपालिकाले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म महानगरपालिकाले कुल बजेटको ५७ प्रतिशत बजेट खर्च गरेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।