• २० फागुन २०८१, मङ्गलबार

‘रोनाल्डो’ ३३ सन्तानको बाबु !

blog

हात्ती प्रजनन केन्द्रमा रोनाल्डो । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

नारायणगढ, वैशाख २२ गते । चितवनको खोरसोर सौराहामा जोखिम मोलेरै हात्ती प्रजनन गराउने गरिएको छ । यो नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र हो । घरपालुवा मत्ता (भाले हात्ती) नहुँदा जङ्गली मत्ताको भर पर्दा जोखिम भएको हो । केन्द्रका प्रमुख मनिपुरन चौधरी जङ्गली हात्ती त्यसै पनि जोखिम हुने भन्दै झन् सहवासका बेला मत्ता मात्तिने भएका कारण अझ बढी जोखिम हुने बताउनुभयो । “जङ्गली हात्तीसँग त जोगिनै प¥यो नि । सामान्य त्रुटि भयो भने ज्यानै जान सक्छ,” उहाँले भन्नुभयो । 

केन्द्रका कर्मचारीबिच ज्वाईं राजाको नामले चिनिने रोनाल्डोले मात्रै १६ वर्षको अन्तरालमा २२ जनाको ज्यान लिएको छ । रोनाल्डो जङ्गली मत्ता हो । प्रजनन केन्द्रमा नियमित आइरहने धुव्रे हात्तीले १८ जना र गोविन्दे हात्तीले तीन जनाको ज्यान लिइसकेको छ । 

“प्रजनन केन्द्र घुम्न आउने पर्यटकदेखि निकुञ्ज सुरक्षाकर्मी र स्थानीय बासिन्दाको ज्यान जङ्गली हात्तीले लिएका छन्,” उहाँले भन्नुभयो, “हात्तीले त्यसै त आक्रमण गर्दैन । ऊ रिसाएका बेला वा उसका अगाडि पर्‍यो भने आक्रमण गरिहाल्छ ।” 

२०५७ सालमा जङ्गली हात्तीको आक्रमणबाट प्रजनन केन्द्रको धीरेन्द्रप्रसाद हात्ती मरेको थियो । यसपछि ऐरावतगज र शेरप्रसादलाई पनि जङ्गली हात्तीले आक्रमण गरेर मारिदिए । त्यसपछि प्रजनन केन्द्रमा घरपालुवा मत्ता राख्न छाडियो । घरपालुवा मत्ता नभएसँगै केन्द्रमा रहेका ढोईलाई रोनाल्डो, गोविन्दे, धुव्रेजस्ता जङ्गली मत्ताकै भर पर्नुपर्ने अवस्था रहँदै आएको छ । 

हात्तीको सन्तान वृद्धिका सन्दर्भमा यीमध्ये रोनाल्डोले प्रजनन केन्द्रलाई भरपूर सहयोग गर्दै आएको छ । रोनाल्डोले ‘कन्जरभेसन कूटनीति’ अन्तर्गत नेपालले कतारलाई उपहार दिन लागेका रुद्रकली र खगेन्द्रप्रसादजस्ता धेरै हात्ती जन्माएर वंश वृद्धिमा प्रजनन केन्द्रलाई सहयोग पु¥याएको छ । केन्द्रका प्रमुख चौधरीका अनुसार २७ वर्षयता प्रजनन केन्द्रमा जन्मिएका ६२ हात्तीमध्ये ३३ वटा त रोनाल्डोकै सन्तान हुन् । 

भारतसँग १६ वटा, म्यानमार र थाइल्यान्डसँग दुई दुई वटा हात्ती उपहार लिएर २०४४ सालमा स्थापना भएको हात्ती प्रजनन केन्द्रमा २०५४ सालदेखि सन्तान वृद्धि गराउन थालिएको हो । हात्तीको सन्तान वृद्धिमा सहयोग पुगेकाले नै प्रजनन केन्द्रका कर्मचारीले जोखिम मोलेर पनि रोनाल्डोलाई माया गरिरहेका छन् । 

“रोनाल्डो, धुव्रे, गोविन्देसँगै आउँदा पनि सकेसम्म अरूलाई धपाएर यहाँका कर्मचारीले रोनाल्डोलाई नै राख्न चाहन्छन् । यो महिना दिनसम्म पनि प्रजनन केन्द्रमै बसेर एक दुई वटा ढोईलाई गर्भवती बनाएरै जान्छ,” उहाँले थप्नुभयो, “हामीले पनि रोनाल्डोलाई पल्काउन केन्द्रमै रहेको हात्तीलाई दिइने कुची (भेली, धान, गहुँ, उखु, खरलगायतका वस्तु मिलाएर बनाइने दाना) नियमित दिने गरेका छौँ ।”

धुव्रे, गोविन्देका तुलनामा रोनाल्डो पछिल्लो समय केही शान्त बनेको छ । हात्ती विशेषज्ञ अशोक रामले विगतका तुलनामा अहिले रोनाल्डो केही शान्त देखिएको बताउनुभयो । “यो हात्ती चितवनमा २०६३ सालतिरबाटै देखिएको हो । सुरु सुरुमा त यो निकै हिंस्रक थियो । अहिले प्रजनन केन्द्रमै रहँदा बस्दा शान्त हुँदै आएको हो,” उहाँले भन्नुभयो, “कुनै पनि मत्ता सहवासका बेला मात्तेको हुन्छ । यो बेला उसलाई जिस्क्याउने वा नजिक गयो भने उसले मानिसलाई आक्रमण गर्छ ।” 

समूहमै बस्न रुचाउने हात्ती सहवासकै बेला अन्य भालेले आफूलाई ‘डिस्टर्ब’ गरेको अनुभूति गरे उसलाई पनि पाखा लगाउने स्वभावको हुने उहाँले बताउनुभयो । प्रजनन केन्द्रमा यसअघि नानापाटेकर, रोमियोलगायतका जङ्गली हात्ती आउने गरे पनि अहिले ती मरिसकेका छन् । 

नेपालमा दुई सयका हाराहारीमा जङ्गली हात्ती छन् । जसमध्ये चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा ५५ देखि ६० वटा हात्ती भएको बताइन्छ । विशेषतः समूहमा बस्ने हात्ती प्रजनन योग्य उमेर भएपछि भाले समूहबाट बाहिरिने वा एक्लिने गर्छ । हाल बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतसमेत रहनुभएका हात्तीविज्ञ अशोक राम नेपालमा भारतको आसामबाट समेत आउने गरेको बताउनुभयो । 

“अहिले चितवनमा रोनाल्डोसँगै धुव्रे, गोविन्दे, मकुनालगायतका भाले हात्ती एक्ला छन्,” यसअघि चितवन राष्ट्रिय निकुञ्जमा सहायक संरक्षण अधिकृत भई काम गरिसक्नुभएका अशोकले भन्नुभयो, “अहिले रहेका एक्ला भाले हात्ती नेपालकै समूहबाट छुट्टिएका हुन् वा आसामबाट आएका हात्ती हुन् यसै भन्न सकिँदैन ।”