फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख २१ गते। कोरला नाका औपचारिक रुपमा खुलेको करिब छ महिनापछि त्यहाँ बिजुली बलेको छ। नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइन यसअघि नै त्यही पुगिसकेको भए पनि ट्रान्सफर्मर र अन्य व्यवस्थापन नहुँदा नाकाको नेपाली भूमीमा बिजुली बल्न सकेको थिएन।
नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रले ट्रान्सफर्मर जडानसहितका काम गरी बिहीबार पहिलो पटक विद्युत सेवा उपलब्ध गराएको छ। करिब पाँच लाख लागतमा ट्रान्सफर्मर जडानसहितका काम भएको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले जानकारी दिनुभयो।
नाकामा बिजुली पुगेपछि त्यहाँ रहेका सुरक्षाकर्मी र करिब आधा दर्जन घुम्ती पसलेलाई सहज हुनेछ। कोरलासमेत नाका पर्ने लोमान्थाङ गाउँपालिकाका प्रमुख टसीन्हवु गुरुङले व्यापारिक रुपमै नाका खुलिसकेपछि बिजुली बाल्ने व्यवस्था गर्न पालिकाले पहल गर्दै आएको बताउनुभयो।
“बिजुली नाका पुयाउनैपर्ने थियो। मोबाइलको टावर पनि लैजानुपर्ने छ,” उहाँ भन्नुहुन्छ, “बिजुली उपलब्ध हुँदा त्यहाँ रहेका सुरक्षाकर्मी, व्यापारीसहित त्यहाँ जाने पर्यटकलाई पनि सहज हुन्छ।” अब नाकामा खानेपानी उपलब्ध गराउन काम थाल्नुपर्नेमा उहाँको जोड छ।
प्राधिकरणका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख कमल आचार्यले खुलेसँगै विद्युतको आवश्यक महशुस गरी प्रतिकूल मौसमका बाबजुद पनि काम गरेको उल्लेख गर्नुभयो। बिजुली कोरलासम्म पुगेपछि नाकामा चीनले उपलब्ध गराएको कन्टेनरमा बस्दै आएका नेपाली सुरक्षाकर्मी त्यही बस्न सक्ने अवस्था बन्नेछ।