• १२ साउन २०८१, शनिबार

बुद्धिमानी नानी

blog

“नाइ ममी म पनि जाने ।” अनिता अटेर गर्दैछिन् । ‘बजारमा धेरै भिड हुन्छ छोरी हराइन्छ, अटेर नगर न बरु म फर्कंदा मेरी प्यारी छोरीलाई मिठाई ल्याइदिन्छु ।’ सुनिता आफ्नी छोरी अनितालाई सम्झाउन खोज्दै छिन् ।

आज हरेक शुक्रबार हाटबजार लागेको छ । त्यसैले अनिता आमासँग हाटबजार जान अटेर गर्दै छिन् । बजार धेरै भिड हुने भएकाले सुनितालाई छोरीलाई बजार लान खोजेकी छैनन् तर पनि छोरीको अटेर सामु उनको केही लागेन । अनितालाई बजार लान तयार पार्दै उनले भन्छिन्, “मेरो हात समाइराख्नु, यताउता आँखा नडुलाउनु यदि हरायो भने त्यहाँ कालो र हरियो रङको कपडा लगाएर बसेका पुलिस हुन्छन्, उनीहरूसँग नडराई सबै कुरा बताउनु ।” अनिताले आमाको कुरा ध्यान दिएर सुनेकी थिइनन्, उनी त बजार जाने खुसीमा रमाउँदै छिन् ।

एकछिनमा आमाछोरी हाटबजार पुग्छन् । हाटबजार त्यसदिन सोचेभन्दा बढी नै भिड थियो । मानिस हस्याङफस्याङ गर्दै सामान किनबेच गरिरहेका थिए । सुनिताले छोरीको हात बलियो गरी समाउँछिन् । अनिता भने बजारमा राखेका खेलौना, मिठाई आदि कुरा हेर्न व्यस्त थिइन् । उनको आँखा बजारमा डुलिरहेको थियो । सुनिता सरसामान किन्नमा व्यस्त थिइन् । अचानक सुनिताको हातबाट अनिताको हात छुट्टिन्छ । सुनिताले यो कुराको समयमै पत्तो पाइनन् । एकछिन पछि बल्ला उनलाई छोरी हराएको कुरा ज्ञात भयो । उनी आत्तिन थालिन् । उनको अनुहारमा चिटचिट पसिना आउँदै थियो । उनले ‘अनिता, अनिता’ भनेर छोरीलाई बोलाउन खोजिन् । उनले त्यो भिडभाडमा छोरीको मुहार खोज्न थालिन् । यता अनिता पनि धेरै आत्तिएकी थिइन् । उनी ‘ममी, ममी’ भन्दै रुँदै कराउँदै हिँड्दै थिइन् । उनलाई आमाले भनेको नमानी बजार आएकोमा पछुतो लाग्योे । रुँदै हिँड्दा उनलाई झट्ट कसैको याद आयो । उनले आमाले भनेको कुरा सम्झिन् र हाटबजारमा घुमिरहेका पुलिस देखेर आफू हराएको कुरा बताइन् । छ वर्षकी एउटी बच्चीले 

पुलिससामु आफू हराएको कुरा भन्न सक्दा उनीहरू छक्क परे । त्यसपछि पुलिसले माइकिङ गर्दै कसैको बच्चा हराएको छ कि भन्दै हिँडे । यो कुरा सुनेर सुनिता घोडाको जस्तो रफ्तारमा पुलिस भए ठाउँ पुगिन् । आफ्नी छोरीलाई सकुशल देखेर सुनिताका आँखा रसाउँछन् । अनिताले आमालाई अँगाल्दै अब सधैँ भनेको कुरा मान्ने र अटेर नगर्ने भनी वाचा गर्छिन् । आमाछोरीको मिलन देखेर एक पुलिसले भन्छ, “म्याम हजुरकी नानी बुद्धिमानी रहिछिन् । छोरीलाई यस्तै चलाख बनाउनु होला । हरेक अभिभावकले हजुरले जस्तै आफ्ना छोराछोरीलाई यस्ता कुरा सिकाउन आवश्यक छ ।’’ पुलिसको कुरा सुनेर उनी मुस्कुराउँछिन् र छोरीलाई लिएर घरतिर जान्छिन् ।