• ६ जेठ २०८१, आइतबार

आइभिएफलाई स्वास्थ्य बिमामा समावेश गर्नुपर्छ

दुई वर्षमा ६० जनाले लिए आइभिएफ सन्तानको सुख

blog

सिर्जना खत्री 

काठमाडौँ, वैशाख १९ गते। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सुलभ मूल्यमा निःसन्तान भएका दम्पतीलाई आइभिएफ (इनभिट्रो फर्टिलाइजेसन) सेवा दिँदैआएको छ। अस्पतालमा सेवा सुरु भएको दुई वर्षको अवधिमा ६० जनाले आइभिएफ सेवा लिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।

अस्पतालले २०६८ सालमा यो सेवा सुरु गरेको थियो। २०७२ सालको भूकम्पको कारणले बन्द भएको थियो। न्यून आय स्रोत भएका निःसन्तान दम्पत्तीलाई लक्षित गर्दै २०७८ सालबाट सेवा पुन सुरु गरेको थियो। सेवा सुरु गरेदेखि निःसन्तानको समस्या लिएर दैनिक ५० जना दम्पती अस्पतालमा पुग्ने गर्दछन्। 

उहाँका अनुसार ९० प्रतिशत दम्पत्तीलाई आइभिएफ सेवा आवश्यक पर्दैन। उपचारमा आएका दुईदेखि तीन जनालाई मात्र आइभिएफ सेवा आवश्यक पर्ने उहाँ बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, ‘अस्पतालमा दैनिक निःसन्तान सम्बन्धी ५० जना दम्पती आउने गर्दछन् जसमध्ये दुईदेखि तीन जनालाई मात्र आइभिएफ चाहिन्छ।’

अस्पतालले निःसन्तान दम्पत्तीलाई न्यून पैसामा सेवा दिँदै आएको डा.अधिकारीको दाबी छ। अस्पतालले निःसन्तान दम्पत्तीलाई सेवा शुल्क बापत ३५ हजार रुपियाँ तोकेको डा.अधिकारी बताउनुहुन्छ। 

उहाँले भन्नुभयो,‘अस्पतालले आइभिएफ गर्ने दम्पत्तीलाई सेवा बापत ३५ हजार शुल्क तोकेको छ। आइभिएफ गर्दा चाहिने औषधी दम्पतीले आफै किन्नुपर्ने हुन्छ। आइभिएफ गरेको एक लाख ५० हजारदेखि दुई लाखसम्म पर्ने गर्छ।’ 

अहिले अस्पतालमा आर्थिक अभावका कारण बच्चा जन्माउन नसकेका ४० जनाको लिस्ट रहेको डा.अधिकारी बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ, ‘पैसा नभएका कारण बच्चाको सुखबाट वञ्चित भएका ४० जना दम्पतीको लिस्ट छ यदि सरकारले यो सेवालाई स्वास्थ्य बिमामा समावेश गरिदिने हो भने धेरै सन्तानको सुखबाट वञ्चित हुनु पर्दैन थियो।’

तालिम दिएर तयार बनाएका जनशक्तिको स्थायित्व नभएको सेवा सञ्चालनमा निकै चुनौती थपिने उहाँको भनाइ छ। 

सरकारले निःसन्तान भएका दम्पत्तीलाई लक्षित गर्दै नीति तथा योजना कार्यक्रममा यो सेवा सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य दिएको छ। 

उहाँले भन्नुभयो, ‘नीति तथा योजनामा सातै प्रदेशमा निःसन्तान केन्द्र खोल्ने र बिस्तारै आइभिएफ केन्द्रमा विस्तार गर्ने योजना रहेको छ। यस्तो समस्या लिएर दूरदराजबाट महिला आउने गरेकोले हरेक प्रदेशमा निःसन्तान केन्द्रको आवश्यक पर्छ।’

परिवार कल्याण महाशाखाले सबै प्रदेशमा सेवा विस्तार गर्ने योजना सहित चारवटा प्रदेशका चिकित्सक, नर्स र प्याथोलोष्टिलाई तालिम दिइसकेको र अन्य प्रदेशका चिकित्सक, नर्स प्याथोलोजिष्टलाई तालिम दिने योजना रहेको उहाँको भनाइ छ।

सरकारले आइभिएफ गर्न आवश्यक पर्ने उपकरण र औषधी किनिदियो भने सुलभ मूल्यमा सेवा दिन सहज हुने उहाँको भनाइ छ। 

अस्पतालले आइभिएफ मार्फत निःसन्तान भएका दम्पत्तीलाई कसरी सञ्चालन गर्दै छ भन्ने विषयमा केन्द्रित भएर अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीसँगको कुराकानीका आधारमा केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।