• ५ माघ २०८१, शनिबार

'सीमा सुरक्षामा सशस्त्रको योगदान अतुलनीय'

blog

जनार्जन खत्री

सर्लाही, वैशाख १९ गते । सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै बुधबार आयोजित एक कार्यक्रमका वक्ताहरुले सशस्त्र प्रहरीको प्रशंसा गरेका छन् । 

सर्लाहीको कविलासी नगरपालिकास्थित अगर्बामा रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टरको १७ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहका वक्ताले सीमा सुरक्षार्थ परिचालित सशस्त्र प्रहरीले पुर्‍याइरहेकाे योगदानको मुक्तकण्ठले प्रशंसा गरेका हुन् । कविलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्‍याएकाे योगदान सराहनीय रहेको बताउनुभएको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सीमा क्षेत्रमा सशस्त्र प्रहरी उभिएको देख्दा राष्ट्र नै त्यहाँ उभिएको भान हुने बताउनुभयो । उहाँले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापन लगायतको सवालमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो । 

जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले सीमा क्षेत्रमा बसोवास गर्ने स्थानीयसँगको सम्वन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सशस्त्र प्रहरीलाई सुझाव दिनुभएको छ । उहाँले समाजसँगको सम्वन्ध थप प्रगाढ बनाउँदै लगे सशस्त्र प्रहरीको काम, कारवाही अझ प्रभावकारी बन्ने बताउनुभयो । 

सिंहले नेपाल–भारत सीमा दशगजा अर्थात् ‘नो म्यान्स ल्याण्ड’ क्षेत्रमा पराल राख्ने, घर, टहरा बनाउनेलगायत अतिक्रमण भइरहेकाले सबै पक्षले समन्वय गरी त्यस क्षेत्र खाली गराउनुपर्नेमा जोड दिनुभयो । सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वार्टरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले दशगजा क्षेत्र अतिक्रमणमा पर्न नदिन र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि अन्य सुरक्षा निकाय र भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरी काम गरिरहेको जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी उपरीक्षक खनालले दशगजामा पहिले जस्तो समस्या नरहेको उल्लेख गर्दै सङ्गठनलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न प्रतिवद्ध रहेको बताउनुभयो । समारोहका प्रमुख अतिथि एवं सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले सीमित स्रोत साधनका बाबजुत सीमामा हुने अपराध नियन्त्रण र सीमा सुरक्षाका लागि सक्दो रुपमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समन्वय गरी काम गर्दै आइरहेको बताउनुभयो । उहाँले सीमावर्ती क्षेत्रका वासिन्दासँग सुमधुर सम्वन्ध कायम गर्ने उद्देश्यले केही समयअघि सीमासँग जोडिएका मधेश प्रदेशका १४३ वटा वडाको वडाध्यक्षलाई बाहिनीमा बोलाएर अन्तक्र्रिया गरेको बताउनुभयो । डिआइजी शाहले पछिल्लो समय लागुऔषधको ओसारपसार र सेवन चिन्ताको विषय बन्दै गएको सन्दर्भमा भारतीय समकक्षीसँग छलफल भएको र सो छलफलअनुसार युवालाई लागुऔषधको कुलतबाट रोक्न प्रयासरत् रहेको बताउनुभएको छ । 

समारोहमा स्थापना दिवसका अवसरमा आयोजित व्यावसायिक कौशल प्रतियोगितामा उत्कृष्ट हुने र उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत तथा सशस्त्र प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा तथा सङ्घ, संस्थालाई कदर–पत्र प्रदान गरी सम्मान गरिएको छ । गणको स्थापना दिवसकै अवसरमा बुधबार नै गण परिसरमा बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो ।