• ८ जेठ २०८१, मङ्गलबार

बालबालिकालाई झोला र स्टेशनरी सामान वितरण

blog

मधेश प्रदेशको श्रम तथा यातायात मन्त्री वेची लुंगेली तथा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल विद्यार्थीहरुलाई झोला र स्टेशनरी वितरण गर्नुहुँदै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, वैशाख १९ गते । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महोत्तरी जिल्लाको मटिहानीको जरलहवा आगलागी बस्तीका बालबालिकाहरूलाई झोला तथा स्टेशनरी वितरण गरिएको छ । संयुक्त ट्रेड युनियन समन्वय समिति मधेश प्रदेश जनकपुरधामको आयोजना र श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेशको सहयोगमा बुधवार १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मटिहानी नगरपालिका वडा नं. ६ को जरलहवा बस्तीका बालबालिकाहरूको किताब, कापीहरू समेत जलेकोले बालबालिकाहरूलाई स्टेशनरी र झोला वितरण गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

मधेश प्रदेशको श्रम तथा यातायात मन्त्री बेची लुंगेली तथा मटिहानी नगरपालिकाका नगरप्रमुख मण्डलले संयुक्त रूपमा सो बस्तीका १०५ बालबालिकाहरूलाई झोला तथा स्टेशनरी वितरण गर्नुभएको हो ।

आगलागीका कारण विद्यार्थीहरूको काँपी, किताबलगायतका अध्ययन गर्ने सामग्रीहरू जलेको समाचारहरू बाहिर आएपछि बालबालिकाहरूलाई पठनपाठनमा समस्या हुन नदिन नगरपालिकाको आग्रहमा बालबालिकालाई झोला र स्टेशनरी वितरण गरिएको मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले बताउनुभयो । उहाँले विभिन्न सहयोगी हातहरूले आगलागी पीडितहरूलाई खाद्यान्न वितरण गरिरहेकोमा सबैलाई धन्यवाद दिनुहुँदै दुःखको यस घडीमा मटिहानीका जरलहवावस्तीको साथमा मधेश सरकार रहेको बताउनुहुँदै मधेश सरकारबाट हुन सक्ने हरसम्भव सहयोग मिल्ने बताउनुभयो ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जरलहवा बस्तीका सम्पूर्ण परिवारहरूको गुजारा श्रम गरेर नै हुने गरेको बताउनुहुँदै अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सो बस्तीका बालबालिकाहरूलाई मधेश सरकारले झोला र स्टेशनरी वितरण गरिएकोमा धन्यवाद दिनुभयो । उहाँले नगरपालिकाले अझै पनि सो बस्तीका पीडितहरूलाई समस्या हुन नदिन आफैँ पुगेर गुनासो सुन्ने र समस्या समाधानको पहल गर्ने गरेको बताउनुहुँदै राहतको लागि आइरहेको सहयोगको लागि सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव, मटिहानी नगरपालिकाका शिक्षा शाखा संयोजकलगायतका विभिन्न वडाध्यक्षहरूको उपस्थिति रहेको थियो । यसैबिच, जरलहवा बस्तीका आगलागी पीडितहरूलाई राहत सहयोग गर्नेहरू निरन्तर सहयोग गरिरहेका छन् । राहत सहयोग गर्ने क्रममा श्रमिक दिवसको दिन बुधवार जनकपुरधाममा रहेको मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले पनि राहत वितरण गरेको छ । मोनाष्टिक विद्यालयले मटिहानी नगरपालिका वडा नं. ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागीले क्षतिग्रस्त १०३ घरपरिवार पीडितहरूलाई टिनको पेटी वेड सिट, दालबुटको पैकट, नुहाउने र कपडा धुने साबुन वितरण गरेको हो । 

विद्यालयका संस्थापक वीणा देवी, प्रिन्सिपल डाँ सोनु कुमार, जनकपुरधामका पूर्व नगरप्रमुख लालकिशोर साह लगायतकाहरुले घटनास्थल पुगेर आगलागी पीडितहरूलाई राहत वितरण गर्नुभएको थियो ।