• ८ जेठ २०८१, मङ्गलबार

समृद्धि यात्राको कोसेढुङ्गा

blog

लामै समयको तयारीपछि आयोजित दुईदिने तेस्रो लगानी सम्मेलन (वैशाख १६–१७ गते) सम्पन्न भएको छ । कुल ५४ देशका आठ सय जना विदेशी पाहुना र स्वदेशी उद्योगी व्यवसायी एवं सरकारी प्रतिनिधिसहित दुई हजारभन्दा बढीको सहभागिता रहेको सम्मेलनले मुलुकमा लगानी गर्न अनुकूल वातावरण रहेको विश्वास दिलाउन सफल भएको छ । १३३ वटा आयोजना र १९ वटा आशयपत्र माग गरिएका थप परियोजनासहित कुल १५२ वटा आयोजना ‘सोकेस’ मा राखिएकोमा जम्मा आठ वटा परियोजनाको समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छ । यद्यपि अन्य थुप्रै परियोजनामा लगानीकर्ताको चासो रहेको र सम्मेलन अवधिभरमा भएका १२ वटा विषयगत सत्रका छलफलले लगानी गन्तव्य मुलुकका रूपमा नेपाललाई विश्वभर चिनाउन सफलता मिलेको छ ।

लगानी सम्मेलनको तेस्रो संस्करणमा आइपुग्दा यसअघिका दुई सम्मेलनमा भएका कमीकमजोरीमा सुधार गर्ने अवसर प्राप्त भयो । विद्यमान ऐन, नियममा गरिएको परिमार्जन एवं सरकारी प्रतिबद्धताका कारण सम्मेलनमा सहभागी लगानीकर्तामा विगतमा भन्दा ज्यादा उत्साह वृद्धि भएको अनुभव गरियो । सम्मेलनले नेपालमा लगानी गर्न राम्रो वातावरण छ र लगानीकर्ताले आफ्नो लगानीको प्रतिफल सजिलै लैजान सक्छन् भन्ने सुनिश्चितता गराउन सफल भएको छ । बाधक देखिएका कानुनमा सुधार, लगानीका प्राथमिकता क्षेत्र निर्धारण, उत्पादित वस्तु तथा सेवाको बजार सुनिश्चिततालगायत महत्वपूर्ण आधारहरू सरकारले सम्प्रेषण गर्न सफल भएको देखिन्छ । प्रधानमन्त्री स्वयम् लगानी बोर्डको अध्यक्ष रहने र सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति नै गठन गरेर सम्मेलनलाई उपलब्धिमूलक बनाउनेतर्फ निकै मेहनत गरेको थियो । मेहनत गरे अनुरूपको तत्कालीन उपलब्धि नभएको भन्ने टिप्पणी यदाकदा सुन्नमा आए पनि दीर्घकालीन रूपको वातावरण तयार पार्ने कार्यमा सफलता मिलेको धेरैको बुझाइ छ । 

लगानी बोर्डको कार्यालयका अनुसार भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बिएलसी होल्डिङ्सबिच करिब तीन अर्ब रुपियाँमा डेटा सेन्टर स्थापना गर्ने समझदारी भएको छ । त्यसै गरी, साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबिच होटल व्यवसायमा सहकार्य गर्ने समझदारी पनि भएको छ । मुगुको राराताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडबिच समझदारीमा हस्ताक्षर भएको छ । यसका साथै अन्य केही व्यापारिक समूहबिच सहकार्यका विषयमा सहमतिपत्रमा हस्ताक्षर भएका छन् । सम्मेलनमा भएका लगानी सम्झौता अनुसार नौ अर्ब १३ करोड रुपियाँ बराबरको लगानी स्वीकृत भएको हो । चिनियाँ लगानी कम्पनीको छ अर्ब रुपियाँको लगानी र अस्ट्रेलियाको एस एन्ड जेजी इन्भेस्टमेन्ट कम्पनीको तीन अर्ब तथा एचिलस इनर्जी बेलायतको करिब साढे १३ करोडको लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । 

तेस्रो लगानी सम्मेलन निर्देशक समितिका संयोजक अर्थमन्त्री वर्षमान पुनले सम्मेलन पूर्ण रूपमा सफल भएको बताउनुभएको छ । सहभागीबिच भएका छुट्टाछुट्टै बैठक तथा दातृ निकायका प्रतिनिधि एवं विदेशी लगानीकर्ताको उल्लेख्य उपस्थितिका कारण सम्मेलन सफल भएको उहाँको भनाइप्रति विमति नहोला । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रिम, विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधि तथा नेपालस्थित विभिन्न देशका राजदूतहरूको सहभागिता रहेकाले लगानीका लागि ढोका खोल्ने कार्य भएको छ । आगामी दिनमा व्यापक वैदेशिक लगानी भित्र्याउन मात्र होइन, समृद्धि यात्राकै निम्ति सम्मेलन कोसेढुङ्गा साबित हुनेमा सम्बद्ध क्षेत्र विश्वस्त छ ।

विश्व बजारमा लगानी गरेर आफ्नो प्रतिष्ठा वृद्धि गर्ने, मुनाफा आर्जन गर्ने तथा मित्रताको हात बढाएर विकास साझेदार बन्न चाहने मुलुक तथा वैदेशिक कम्पनीहरूलाई भित्र्याउन उनीहरूको विश्वास जित्न आवश्यक हुन्छ । लगानीमैत्री वातावरण, नीतिगत, प्रक्रियागत र कानुनी सुनिश्चितता स्पष्ट पारेर आकर्षित गर्नुपर्ने देखिन्छ । सरकारले ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट, २०२४’ मार्फत सबै कुराको प्रतिबद्धता जाहेर गरेको छ । विसं २०७३ मा भएको पहिलो लगानी सम्मेलनमा करिब १४ खर्ब रुपियाँको लगानी प्रतिबद्धता आएकोमा यथार्थमा तीन खर्ब रुपियाँ मात्र लगानी आउन सकेको थियो । त्यसै गरी २०७५ मा भएको दोस्रो लगानी सम्मेलनमा ३२ खर्बको लगानी प्रतिबद्धता आएकोमा लगानीको ठुलो हिस्सा प्रतिबद्धतामै सीमित रहेर एक खर्ब रुपियाँ मात्र लगानी आएको थियो । यस पटक लगानी प्रतिबद्धताभन्दा पनि समझदारीपत्रमा ज्यादा सहमति भएको देखिएको छ । चार वटा परियोजनाका लागि भएको नौ अर्ब १३ करोडको प्रतिबद्धता कार्यान्वयनमा आउँदा आगामी दिनमा यसले अन्य लगानीकर्तालाई थप आकर्षित गर्ने विश्वास गर्न सकिन्छ ।