• ११ मंसिर २०८१, मङ्गलबार

पछौटेपनभित्र लुकेको रहस्य

blog

पूर्वीय दर्शनको दाबी छ– “श्रम गर फलको आस नगर” । यस भनाइले श्रमप्रति इमानदार र अनुसाशित हुन प्रेरित गर्छ । श्रम स्वस्थ जीवनको आधार हो । शारीरिक तथा मानसिक सुखको स्रोत हो । जीवनयापनको प्रमुख अस्त्र हो । समृद्धिको मूल हो । श्रमपछिको आनन्द, श्रमपछिको भोक, श्रमपछिको सुख र श्रमपछिको शान्ति यस धर्तीमा सायद नै मिल्छ होला । 

श्रम शारीरिक र मानसिक दुवै हुन्छ । कतिपय अवस्थामा शारीरिक श्रमलाई घृणाको भावले हेर्ने परिपाटी पनि छ । त्यही जमात फेरि बिहान बेलुका जिम हलमा झोला बोकेर अनुत्पादक श्रमका लागि दौडिरहेको छ । त्यही जमात ब्याडमिन्टन भिरेर व्यायाम गर्ने नाममा फजुल श्रममा उत्पादक समय बिताइरहेको छ । जे भए पनि मानव जीवनको अस्तित्व रक्षाका लागि श्रम आवश्यक छ ।

विश्वको वर्तमान अवस्थालाई नियाल्दा नेपालमा श्रम शोषण भएको पुष्टि हुन्छ । लक्जेम्बर्गमा एक महिनाको ज्याला तीन हजार ३५७ अमेरिकी डलर छ । नेदरल्यान्डमा एक महिनाको दुई हजार ४२५ अमेरिकी डलर छ । एसियन देश जापानमा एक महिनाको एक हजार २०९ अमेरिकी डलर छ । सिङ्गापुरको एक हजार ४०० अमेरिकी डलर छ भने नेपालको न्यूनतम ज्याला प्रतिमहिना सत्र हजार ३०० रुपियाँ छ, जुन १२९ अमेरिकी डलर मात्र हो । यसले श्रममा आकर्षण होइन, विकर्षण पैदा गरेको छ, जसले अर्थतन्त्रको दिगोपनामा पनि चुनौती थपिरहेको छ ।

नेपाल एउटा विकासशील देशमा फड्को मारिरहेको विकासोन्मुख देश हो । त्यसैले यो देशमा क्रमशः विकासका कार्य तथा योजनाअगाडि बढ्ने क्रममा छन् । सडक सञ्जाल गाउँ–गाउँ बस्ती–बस्तीमा पुगिरहेका छन । विद्यालयहरू परिणामात्मक हिसाबले पनि बढिरहेका छन् भने गुणस्तरीयता पनि क्रमशः बढ्ने क्रममा छ । स्वास्थ्य पूर्वाधार पनि निराशाजनक छैन । सांस्कृतिक विभेदहरू पनि दिनप्रतिदिन अस्ताउँदो गतिमा छन् । राजनीतिक तथा सामाजिक चेतना पनि बढ्दो गतिमा छ । 

यति हुँदाहुँदै पनि किन युवाको मन यी पूर्वाधारले जित्न सकेका छैनन् ? किन मानिसको मनमा आशाको दियो बल्न सकेन ? धनी र गरिबबिचको बढ्दो खाडल किन हट्न सकेन ? गिनी कोफिसियन्ट किन बढ्दो छ ? विश्वको अर्थतन्त्र किन सीमित व्यक्तिको हातमा गइरहेको छ ? यी प्रश्नको कारण धेरै हुन सक्छन् तर मुख्य कारणचाहिँ श्रमको उचित सम्मान, कदर, मूल्य, प्रतिफल नुहुनु पनि एउटा हो । सामान्य उदहारण– एउटा मानिसलाई मजदुरले मालिक बनाउँछ तर मजदुर सडकमा राहत थप्न बाध्य छन् । त्यही पनि एउटा पातलो बस्त्रमा पुस, माघको जाडोमा । आफ्ना लालाबाला र अर्धाङ्गिनीसहित उभिएको दृश्य हामी माझ नौलो विषय होइन । के नेपालको श्रमसम्बन्धी व्यवस्थाले यसलाई टुलुटुलु हेरेको मात्र छ ? के छन् त समस्या निराकरणका मुख्य प्रावधान ? के ती प्रभावकारी छन् त ?

नेपालको संविधानको भाग ३ धारा ३४ मा श्रमको हकको व्यवस्था छ । यो धाराले प्रत्येक श्रमिकलाई उचित श्रमको, पारिश्रमिक सुविधाको, सामाजिक सुरक्षाको सामूहिक सौदाबाजीको, ट्रेड युनियनको हकको सुनिश्चित गरेको छ । यही भागको धारा २९ ले कुनै पनि प्रकारका शोषण नहुने कुराको ग्यारेन्टी गरेको छ । कसैलाई निजको इच्छाविरुद्ध काम लगाउन नपाइने व्यवस्था गरेको छ । यही भागको धारा १८ मा समानताको हक अन्तर्गत लैङ्गिक आधारमा सामाजिक सुरक्षा तथा पारिश्रमिकमा भेदभाव गर्न नपाइने प्रावधान छ । धारा ४२ मा सामाजिक न्यायको हकको प्रावधान छ । धारा ३९ मा बालबालिकाको हकको व्यवस्था छ । धारा ३३ मा रोजगारीको सुनिश्चितताका लागि प्रत्येक नागरिकलाई रोजगारीको हकको व्यवस्था छ । 

श्रम ऐन, २०७४ को दफा ४,५,६,७,८ मा श्रमिकको हक अधिकारबारे प्रस्ट पारिएको छ, जहाँ कुनै पनि वर्ण, लिङ्ग, जात, उत्पत्ति, भाषा, धर्म, वैचारिक आस्थाको आधारमा भेदभाव गर्न नपाइने विषय पनि स्पष्ट परिएको छ । श्रम नियमावली, २०७५ पनि जारी भइसकेको अवस्था छ । समान कामका लागि समान पारिश्रमिकबारे नागरिकलाई सुसूचित बनाएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को पनि व्यवस्था छ तर यो श्रमसम्बन्धी व्यवस्था कतिपय अवस्थामा भुत्ते खुकुरीसरह साबित भएको छ । कागजी बागमा सीमित भएको छ । अन्तर्राष्ट्रिय देखावटी छवि निर्माणको आधार मात्र भएको छ । यस श्रमसम्बन्धी कानुनी प्रावधानलाई बसको ढोकामा हातमा पैसा बोकेर हिँड्ने १३ वर्षको सहचालकले गिज्याएको छ । निर्माणमा काम गर्ने महिला र पुरुषको पारिश्रमिकमा हुने विभेदले नाङ्गो बनाएको छ । विदेश जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको त्यो लामो लाइनले उदाङ्गो बनाएको छ । कतिपय होटलमा काम गर्ने बाल मजदुरको कथा व्यथाले चुनौती दिइरहेको छ ।

नेपालमा व्यावसायिक र जिम्मेवार बन्न अझै बाँकी रहेको निजी क्षेत्र, उपेक्षित रहेको कृषि क्षेत्र, कतिपय कलकारखाना, वैदेशिक रोजगार श्रम शोषणका मुख्य क्षेत्र हुन् । नेपालको पछिल्लो तथ्याङ्क अनुसार ७४ प्रतिशत अदक्ष मानिस वैदेशिक श्रममा जान्छन् । कतिपय मानिस बाकसमा मृत फर्कन्छन् । यो अवस्थाको कारण केही हदसम्म वैदेशिक श्रम शोषण पनि हो । यो किन बढिरहेको छ त ?

सामाजिक–संस्कृतिक भड्किलोपन, छिटो धनी बन्ने चाहना, गरिबी, बेरोजगारी, अमानवीयता, अशिक्षा, वैदेशिक रोजगारीमा अन्धाधुन्ध प्रवेश, भड्किलो चुनाबी खर्च, नागरिक शिक्षाको कमी यसका मुख्य कारण हुन् । प्रभावकारी खोज पत्रकारिताको अभाव, फितलो कर्मकाण्डी अनुगमन तथा मूल्याङ्कन, लोकतन्त्रको उपहास, जनचेतनाको कमी, नागरिक समाजको राजनीतीकरण, सामन्तवादको अवशेष, तराईको जमिनदारी प्रथा, श्रमको कमजोर मूल्याङ्कन, गाउँघरमा अझै प्रचलनमा रहेको बालीघरे प्रथा श्रम शोषणका अरू उत्प्रेरक तत्व हुन् ।

श्रम शोषणले ल्याएका विकराल समस्यामा ब्रेन ड्रेन, मसल ड्रेन, अन्तरिक कलह तथा द्वन्द्व, बढ्दो आयात, घट्दो निर्यात, बसाइँ सराइमा तीव्रता, सुस्ताउँदो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बाँझो जमिन, बढ्दो कृषि आयात, बढ्दो आत्महत्या, चोरी–डकैती–लुटपाट, बेस्यावृत्तिसमेत पर्छन् । यसलाई रोक्न सबैको साझा प्रयास अति आवश्यक छ । 

समस्या समाधानको खाकामा मुख्यतः कानुनको प्रभावकारी कार्यान्वयन र अक्षरशः पालना नै प्रथममा आउँछ । प्राविधिक, व्यावसायिक, सिपमूलक, जीवन उपयोगी, उत्पादनमुखी तथा व्यावहारिक शिक्षा श्रम शोषण निर्मूलको दोस्रो हतियार हो । सिप विकास तालिम सञ्चालन गर्ने, व्यक्तिमा सिपको विकास गर्ने, लगानीको वातावरण निर्माण गर्ने, उत्पादन गर्ने, बजारको प्रबन्ध गर्ने, पुनः लगानीको वातावरण निर्माण गर्ने, जसले सामान्य आम्दानीका लागि अर्काको शरणमा जानु नपर्ने अवस्था सिर्जना गर्छ ।

वैदेशिक रोजगारीमा जाँदा म कुन देशमा जाँदै छु, के कामका लागि जाँदै छु, त्यो काम कसरी गर्ने, जाँदा कति पैसा लाग्छ, मैले जाँदा खर्च गरेको पैसा कताबाट आयो, त्यसको ब्याज कति हो, त्यो मिटर ब्याज हो कि आदि आधारभूत ज्ञान जान्नै पर्छ । वैदेशिक रोजगारीमा जानेलाई कामको प्रकृति हेरी न्यूनतम ज्ञान तथा तालिम सरकारले विदेश जानुअघि आनिवार्य प्रदान गर्नु पर्छ । यो तेस्रो उपाय हो । खुला बजार अर्थतन्त्रमा सरकार उत्प्रेरक, सहजकर्ता, वातावरण निर्माता त हुनै पर्छ तर यसका अतिरिक्त कडा नियामक हुनु पनि जुरुरी छ । जसले बाटो बिराउँछ, उसलाई जसरी भए पनि सही ट्र्याकमा ल्याउनु पर्छ । छाडा छोडेको बजारलाई सकारात्मक लगाम लगाउनु पर्छ । यो चौथो उपाय हो । 

श्रम शोषण अन्त्य गर्ने पाँचौँ अर्को अस्त्र भनेको व्यावसायिक पत्रकारिता पनि हो, जसको माध्यमबाट समाजका विकृति विसङ्गति सहजै उजगार हुन सक्छ । मौजुदा कानुनको पर्याप्त सञ्चार गर्ने तथा जानकारी दिलाउने प्रभावकारी नागरिक चेतना प्रवाह गर्ने काम पनि सञ्चार माध्यमबाट सम्भव छ । दण्डहीनताको संस्कृतिको अन्त्यका लागि सुरक्षा निकायलाई दबाब, अभाव तथा प्रभावबाट टाढा राख्नु पनि अर्को प्रभावकारी छैटौँ उपाय हो । समय अनुसारको उचित श्रमको मूल्य दिएर पनि यसको समूल अन्त्य गर्न सकिन्छ ।   

आज माध्यमिक तहको गणित शिक्षक काम गर्न कोरिया जान्छ । बहालवाला मुख्य सचिव आफ्नो पद छोडेर विदेशी संस्थामा प्रस्थान गर्छन् । हजारौँ युवा विदेश भासिन्छन् । यसमा हजारौँ कारण होलान् तर एउटा अकाट्य कारण श्रमको उचित मूल्य, इज्जत सम्मान नभएर हो भन्दा दुई मत नहोला । 

नेपालको संविधानको मुख्य उद्देश्य पनि सुशासन, सामाजिक न्याय, शान्ति, समृद्धि र विकास नै हो । उक्त उद्देश्य पूरा गर्न पनि श्रमको उचित सम्मान, कदर र मूल्य सिर्जना हुनु पर्छ, जुन आजको आवश्यकता हो । भ्रष्टाचारको दुर्गन्ध हटाएर सुशासनको सुगन्धको तयार गर्नु पर्छ । यो विदेश जाने लर्को रोक्ने मन्त्र पनि हो ।

Author

सञ्जय थापा