• ४ जेठ २०८१, शुक्रबार

३९ वटा पुल निर्माणाधीन अवस्थामा

blog

ढल्केबर–जनकपुर छ लेन सडकअन्तर्गत बसही खोलामा निर्माणधीन पुल । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, वैशाख १८ गते । सहज रूपमा आवतजावत गर्न धनुषा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ । धनुषा र महोत्तरी जिल्ला कार्य क्षेत्र रहेको सडक डिभिजन कार्यालय जनकपुरले दुवै जिल्लामा गरी ३९ वटा पुल निर्माण गरिरहेको छ । 

सडक डिभिजन कार्यालय जनकपुरका इन्जिनियर विकास झाले कार्यालयको क्षेत्र अधिकारभित्र ३९ वटा पुल निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । त्यसमध्ये छ वटा पुल चालू आर्थिक वर्षमा सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भारतसँगको सीमा विवादका कारण तीन वटा पुलको निर्माण कार्य रोकिएका छन् । त्यस्तै दुई वटा जग्गा विवाद र चार वटाको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले पुल निर्माणको काम रोकिएको छ । 

चालू आर्थिक वर्षमा कुनै पनि पुलको ठेक्का नलागेको बताउँदै इन्जिनियर झाले सबै अघिल्लो वर्षहरूको योजना भएको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा सम्पन्न हुने पुलको ९० देखि ९५ प्रतिशत काम सम्पन्न भएर आवतजावतका लागि खुला गरिएको र बाँकीको काम केही दिनभित्र सकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समयमा नै पुल निर्माणको काम सम्पन्न गर्न तदाकताका साथ काम अघि बढाइएको छ । अधिकांश पुलको फाउन्डेसन उठाउने र स्वल्याब ढलानको काम भइरहेको छ । ” पुल निर्माणपछि यातायातलगायत मानिसलाई ओहोरदोहोर गर्न सहज हुने इन्जिनियर झाको भनाइ छ । 

ढल्केबर–जनकपुर छ लेन सडकअन्तर्गत मिथिला नगरपालिका–६, स्थित बसही खोलामा विगत तीन वर्षदेखि अलपत्र परेको पुल निर्माणको विषयमा उहाँले ठेकेदार पक्षसँग ठेक्का सम्झौता तोड्ने मनस्थित कार्यालय पुगेको बताउनुभयो । 

दुई वर्षभित्र पुल निर्माणको काम सक्ने गरी आर्थिक वर्ष २०७५-०७६ मै नागार्जुन जेभि कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । त्यस अवधिमा पुल निर्माण नभएपछि २०८० साल असार मसान्तभित्र सक्ने थप समय दिइएको थियो तर त्यस अवधिमा पनि पुल निर्माण गर्न नसकेपछि ठेकेदार पक्षसँग ठेक्का सम्झौता भङ्ग गर्ने तयारीमा कार्यालय रहेको इन्जिनियर झाको भनाइ छ ।