• ८ जेठ २०८१, मङ्गलबार

लोकसंस्कृतिका अविश्रान्त शोधकर्ता

blog

विषय प्रवेश

नेपाली लोकजीवनमा ‘लिजेन्ड’ बनिसकेका जनकवि केशरी धर्मराज थापाको जीवनमा एउटा अपत्यारिलो घटना घटेछ । २०११ साल उनी लोकसंस्कृतिको खोजीमा मुस्ताङतिरको यात्रामा निस्केछन् । यसैबिच काठमाडौँमा एउटा गजबको हल्ला चलेछ– धर्मराज थापा मरेछ  । जुद्धोदय हाइस्कुलले त शोक सभा नै आयोजना गरेछ । दार्जिलिङबाट निस्कने ‘मुङ्ग्रो’ पत्रिकाले समवेदना सन्देश नै छापेछ । यही मेसोमा कवि कुलमणि देवकोटाले त ‘मरेको जनकवि’ शीर्षकमा कविता नै लेखेछन्, जसलाई पारसमणि प्रधानले ‘भारती’ मा फोटोसहित छापेछन् (नौसिन्दाको जागिर, २०७८, पृ. १४०) । अग्रज पत्रकार भैरव रिसालका अनुसार उनको मृत्युबारे ‘समाज दैनिक’ मा समाचार छापिएको रहेछ । जिउँदो मान्छेलाई मरेको भनेर समाचार छापेपछि ‘समाज दैनिक’ को सम्पादकीय नेतृत्वलाई पर्नुसम्म अप्ठ्यारो परेछ ।

लोकसाहित्य र लोकसंस्कृतिका माध्यमबाट लोकजीवनमा अमिट छाप पार्न सफल धर्मराज थापाका यस्ता जीवन–कहानी नियाल्दा उनी दन्त्यकथाका पात्रभन्दा कम प्रतीत हुँदैनन् । उनी बहुआयामिक व्यक्तित्वका धनीका रूपमा चिनिन्छन् । धर्मराज थापा परलोक भएपछि प्रकाशित उनको निबन्ध सङ्ग्रह ‘नौसिन्दाको जागिर’ (२०७८) को भूमिकामा प्राडा जीवन अधिकारीले उनका बहुआयामिक व्यक्तित्वको चरित्र–चित्रण गरेका छन् । 

उनी एकै व्यक्ति कवि, लेखक, गायक, अन्वेषक, अनुसन्धाता, जनजागरण–अभियन्ता, भ्रमणप्रेमी अनेक हुन् । उनी लोकभाकाका सङ्कलक, लोकगीतका गायक, नेपाली संस्कृतिका उन्नायक, उपासक र अन्वेषक हुन् भन्ने कुरामा उनका कृतिले नै पर्याप्त आधार दिन्छ । झ्याउँकिरीले भैmँ गाउँदै आफ्नोपनको खोजीमा यायावर बन्नु उनको कर्म हो (अधिकारी, २०७८, पृ. ट–ङ) ।

दार्जिलिङका प्रख्यात साहित्यकार रामकृष्ण शर्माले आफ्नो कृति ‘दस गोर्खा’ मा धर्मराज थापा र महानन्द सापकोटालाई स्मरण गर्दै उनीहरूको मुक्तकण्ठले प्रशंसा गरेका छन् । साहित्यकार शर्माको बुझाइ छ– धर्मराज थापाले पुरानो झ्याउरे लयमा नयाँ विचार घोलेर नेपालजनको आँखा उघार्दै ज्ञानको भण्डार विस्तीर्ण गर्न सघाए भने महानन्द सापकोटाले झ्याउरेमा लयदार ‘मनलहरी’ लेखेर सामाजिक चेतना पैmलाए (शर्मा, २०५०, पृ. ९७) । 

वास्तवमा धर्मराज थापा नेपाली लोकसंस्कृति र लोकसाहित्यलाई शिरमा सजाउने अतिशय भावुक र अथक साधक हुन् । उनले आफ्नो जीवनको उर्वर समय लोकजीवनको ढुकढुकी मानिने लोकसंस्कृति र लोकसाहित्यको खोजीमा गाउँबस्ती डुल्ने र त्यसलाई यथार्थपरक ढङ्गले अभिलेखीकरण गर्ने कार्यमा व्यतीत गरे । लोकसंस्कृति र लोकसाहित्यप्रति उनका अनन्त तिर्सना र खोज प्रकारान्तरले लोकजीवन र प्राज्ञिक जगतका लागि तिरिनसक्नुको गुन हुन पुगेको छ । 

भ्रमणशील शोधकर्ता 

धर्मराज थापा भ्रमणशील शोधकर्ता तथा अभिलेखनकर्ता हुन् । उनले थलोमै पुगेर वास्तविक पात्रहरूसँग भेटवार्ता गरेर लोकसंस्कृति र लोकसाहित्यसँग सम्बन्धित अनेकन् कृति जन्माए, जुन भरोसायोग्य र यथार्थपरक देखिन्छन् । मेरो नेपाल भ्रमण (विसं २०१६), हाम्रो लोकगीत (विसं २०२०), गण्डकीका सुसेली (विसं २०३०), सगरमाथाको सेरोफेरो (विसं २०३१), लोकसंस्कृतिको घेरामा लमजुङ (विसं २०४१), चितवन दर्पण (विसं २०५०), तनहुँ फुलबारी (विसं २०५८) आदि उनका यात्रा–संस्मरणात्मक कृति हुन्, जसमा लोकजीवनको मिठो प्रतिविम्ब भेटिन्छ । उनका कृतिमा प्रतिपल बिरानो बन्दै गएका गाउँबस्ती बोल्छन् अनि समयले ओझेल पार्दै लगेका लोकसंस्कृति जुर्मुराउँदै उठ्छन् । लोकजीवनलाई मुटुमा टाँसेर लेखिएका यस्ता भ्रमणप्रधान, मौलिक र यथार्थपरक कृति अब भेटिन मुस्किलै छ । 

उनले २०१० को दशकदेखि २०३० को दशकसम्म देश–देशावरको भ्रमण गरेको पाइन्छ । त्यसबेलामा देशमा यातायात प्रणालीको उस्तो विकास भइसकेको थिएन । उनले धेरै जसो ठाउँको पैदल भ्रमण गरे । उनले यो कुरा आफ्ना कृतिमा पनि उल्लेख गरेका छन् । उनले लोकसंस्कृति र लोकसाहित्यका खातिर आफ्नो निजी सुख सयल बिर्सिए । भोक प्यास भुलेर पसिना पुछ्दै उकाली ओराली गर्न रुचाए । यो चानचुने काम थिएन । उनले आफ्नो निजी सुखभोगलाई तिलाञ्जली नदिएको भए लोकसंस्कृति र लोकसाहित्यका क्षेत्रमा यस्ता युगान्तकारी कृति जन्मने थिएनन् । 

उनको भ्रमणशीलता र खोजी गर्ने बानी–बेहोराबाट जन्मिएका कृतिमध्ये ‘गण्डकीका सुसेली’ पनि एक हो । त्यसमा बुढीगण्डकीदेखि कालीगण्डकीसम्मको भूगोलमा प्रचलित मौलिक लोकगीतलाई समेटिएको छ । ती लोकगीतलाई स्वरलिपिसहित अभिलेखन गरिएको छ । टेलिसंस्कृतिबाट बिरलै प्रभावित तत्कालीन मौलिक लोकसुसेलीबारे स्थलगत अध्ययनका आधारमा तयार पारिएको त्यस कृतिमा लोकसुसेली प्रतिध्वनित हुन्छन् । 

अहिले समयले फेरो मारिसकेको छ । समाजको सांस्कृतिक परिदृश्यमा व्यापक परिवर्तन आइसकेको छ । धर्मराज थापाले त्यतिबेला खोजीनिती गरेका गीत अब सग्लो अवस्थामा नरहेको हुन सक्छ । आजको परिवर्तित सन्दर्भमा हिजोका लोकगीतमा केकस्ता परिवर्तन आए ? अब यसबारे तुलनात्मक अध्ययन गर्ने बेला भइसकेको छ । कसैले यस विषयमा तुलनात्मक अध्ययन गर्ने आँट गरेमा ‘गण्डकीका सुसेली’ महìवपूर्ण आधारग्रन्थ बन्न सक्छ । 

धर्मराज थापाले लोकगीतको बेलिबिस्तार लाउने व्रmममा मुगलानी ओहोरदोहोर गर्ने उबेलाको चर्चित ‘खस्यौली’ बजारको साह्रै मन छुने किसिमले चरित्र चित्रण गर्न पनि चुकेका छैनन् । ‘गण्डकीका सुसेली’ मा उनी लेख्छन्– भट्टी थापी जीविकोपार्जन गर्ने, रक्सी र रूपको रमझमले स्वदेश फर्केका लाहुरेलाई रङ्ग्याउने र नङ्ग्याउने नामी बजार हो, ‘खस्यौली’ । यस बजारमा पुगेपछि चाहे तानसेनबाट झरेको पहाडी ठिटो होस् वा चाहे देश खाई शेष भएका लाहुरे नै किन नहोस्, दुवै झुम्मिन्छन् र खस्यौलीको पानी नपिई आफ्नो बाटो लाग्न सक्तैनन् (थापा, २०३०, पृ.११५) ।

‘लोकसंस्कृतिको घेरामा लमजुङ’ अर्को त्यस्तै बेजोड कृति हो । २०३० को दशकको लमजुङका विभिन्न गाउँबस्ती डुलेर तयार पारिएको त्यस कृतिमा तत्कालीन लमजुङ बोल्छ । त्यसमा लमजुङका अनेकौँ गाउँबस्तीको जीवन्त वर्णन छ । उनले जुन जुन ठाउँको भ्रमण गरे तत् तत् ठाउँको भौगोलिक अवस्थिति, लोकजीवन, तत्कालीन समयका अगुवा, स्थानीय कलाकारका अनेकौँ प्रसङ्ग समेटिएका छन् । भेटघाटमा व्रmममा कोरिलिन पुगेका अनेकौँ रोचक प्रसङ्ग, स्थानीयस्तरमा भेटिएका दस्ताबेज, जनश्रुति तथा कथाकुथुङ्ग्री पनि त्यस कृतिको मूल्यवान् अन्तरवस्तु बन्न पुगेका छन् । 

त्यस कृतिबाट ओझेलमा परेका प्रतिभाले पुनर्जीवन पाएका छन् । आफ्नो कला र गलाका माध्यमबाट लोकजीवन अमिट छाप छाड्न सफल लमजुङका बहुचर्चित लोकप्रतिभा देउबहादुर दुराबारे ‘लोकसंस्कृतिको घेरामा लमजुङ’ मा बेजोड वर्णन छ । लोकहृदयमा उच्चस्थान पाएका तर छापाको अक्षरमा समेटिन नपाएका प्रतिभाशाली ठाडो भाका (दुरा भाका) गायक देउबहादुर दुरालाई जनसमाजको फराकिलो घेरासम्म चिनाउन धर्मराज थापाले दिएको योगदान वन्दनीय छ । देउबहादुर दुराकै थातथलोमा पुगेर उनीसँग एउटै थालमा भात खाएका साथीसङ्गीसँंग वार्तालाप गरेर तयार पारिएको त्यस विवरण अहिले महìवपूर्ण सूचना–स्रोत बन्न पुगेको छ । 

त्यस कृतिमा देउबहादुर दुराका दर्बिलो साङ्गीतिक व्यक्तित्वबारे सुस्वादु वर्णन त छन्, उनका जमानाका चलेका रसिला–चाखिला–पोषिला गीतका शब्दहरू पनि समेटेका छन् । यससँगै देउबहादुर दुराका अनन्य रौसे मित्रहरू पञ्चसुब्बा गुरुङ, मनिराम दुरा, आफली घर्तिनी (देउबहादुर दुरालाई गीतमा टक्कर दिने गायिका) लगायतका लोकप्रतिभाको पनि सुमधुर चर्चा छ । अहिले कालातीत बनिसकेका यस्ता लोकप्रतिभाको बयान अब सुनिन छाडेको छ । दुनियाँले बिर्संदै गएका यी प्रतिभालाई ‘लोकसंस्कृतिको घेरामा लमजुङ’ ले भने चुपचाप सम्झिरहेको छ । 

आपूmले यात्राका भोग्नु परेका व्रmममा वज्र जस्तो कडा र पूmल जस्तो नरम पलहरूलाई धर्मराज थापाले जस्ताको तस्तै प्रस्तुत गरेका छन् । लमजुङ भ्रमणका सिलसिलामा गिलुङ गाउँ जाने व्रmममा भोग्नु परेको कटुमधु प्रसङ्गबारे एक ठाउँमा उनले लेखेका छन्– गिलुङ जाने उकालो बाटोतिर लागेँ । बिहानको भात खाने बेला टरिसक्दा पनि गिलुङ भेट्टउन सकिनँ । एउटा गोठमा पसेँ । बिचरो गोठालाले मकैको भात र धार्नी ठेकामा राखिएको ढोडे दुध खुवायो । गुरुङ गोठालो नभेटिएको भए त्यस दिन मेरा लागि ठुलो एकादशी पर्ने रहेछ (थापा, २०४१, पृ.९) । उनका यात्रा–संस्मरणात्मक कृतिमा यस्ता रोचक शब्दचित्रको वृष्टि नै भइरहेका हुन्छन् ।

धर्मराज थापाको लोकसाहित्य र लोकसंस्कृतिप्रतिको स्नेहभाव ‘चितवन दर्पण’ मा पनि स्पष्टसँग झल्कन्छ । त्यसमा चितवनका थारू समुदायमा प्रचिलत गीत, गाथा, भजन तथा लोककथा ४० वटा विवरण भेटिन्छन् । थापाले ती सबै गीतको टेप गरिएको पनि भूमिकामा उल्लेख गरेका छन् । ती टेप सामग्रीलाई सकुशल प्राप्त गर्न सक्ने हो भने लोकगीतका अध्येताहरूका लागि गतिलो खजाना हुन सक्छ । जातजातिका लोकसंस्कृतिसम्बन्धी यो विवरण त एउटा सानो दृष्टान्त मात्रै हो । 

चितवनको इतिहास, त्यहाँका गाउँठाउँ, धार्मिक तथा पर्यटकीय स्थल, सुखी जीवन बिताउने अभिप्रायले चितवन झरेकाहरूको जीवनशैली, विभिन्न जातजातिमा प्रचलित लोकगुञ्जन आदिबारे स्वादिलो किसिमले वर्णन गर्न भुलेका छैनन् । ‘चितवन दर्पण’ तत्कालीन समयको चितौने जनजीवनको ढुकढुकी स्पन्दित हुन्छन् ।

छन् । 

समयको कोल्टो फेराइसँगै पुराना बस्तीहरू उजाडिने र नयाँ बस्ती जम्ने व्रmम जारी छ । गाउँबस्तीका नाम फेरिने व्रmम पनि जारी छ । ‘चितवन दर्पण’ मा तनहुँका दरै तथा बोटे बस्तीका २२ वटा नाम समेटिएका छन्, जसमा खकौली, फराकचौर, हाँडीगाउँ, सिमलटार, रतौली, दुम्सीचौर, जोगीटार, घर्ती चौतारा जस्ता नाम समाविष्ट छन् (थापा, २०५०, पृ. ञ) । उनले पेस गरेका यस्ता गाउँठाउँको नाममा समयको पदचाप र लोकजीवनको पदचिह्न भेटिन्छन् ।

यसरी लोकजीवनका अनेकौँ आयामबारे सोधखोज गर्ने धर्मराज थापाले आफ्नैबारे एक ठाउँमा भनेका छन्– ‘नेपाली लोकसाहित्य र लोकगीतको खोजी गर्न मैले कहिल्यै अल्छी गरिनँ’ (थापा, २०७८, पृ. ११४) । उनको यो कथन शतप्रतिशत सत्य प्रतीत हुन्छ । 

उनले अल्छी मानेको भए नेपाली जनजीवनका झाँकीहरूलाई यति सुन्दर, सुललित र विस्तृत किसिमले लिपिबद्ध गर्न सम्भव थिएन । एउटा व्यक्तिको प्रयासबाट भएकोे यति उच्चस्तरीय काम आजको दिनमा विदेशी दाताको सहयोगबाट सञ्चालित आकर्षक परियोजनाले पनि साकार तुल्याउन गाह्रै पर्ला कि भन्ने प्रतीत हुन्छ । 

प्रवासी मनहरूलाई जोड्ने त्यो यात्रा

नेपाली लोकजीवन, लोकसाहित्य र लोकसंस्कृतिप्रतिको अगाध स्नेहभावले जन्माएको हुटहुटीले धर्मराज थापालाई नेपालको सरहदभित्र मात्र सीमित रहन दिएन । उनी नेपाली मन, भाका, गाथा, मर्म र भावनालाई लिएर मुटुमा साँचेर प्रवासतिर लम्के । 

यस व्रmममा पूर्वोत्तर भारतको असम, सिलङ, दार्जिलिङ, खर्साङलगायतका स्थानमा पुगेर जनस्तरका नेपालीभाषी समुदायकहाँ नेपालका तर्पmबाट सांस्कृतिक कोसेली लिएर गए । त्यहाँ गीत–सङ्गीतका माध्यमबाट नेपालीपन र नेपाली माया ममता बाँडे । दार्जिलिङका विभिन्न चियाबगानमा पुग्दा त्यहाँका मजदुर, कुल्ली र सरदारहरूबाट न्यानो माया पाए । उनले यो मृदुप्रसङ्ग आफ्नो कृति ‘नौसिन्दाको जागिर’ मा कोट्याएका छन् । 

उनले प्रवासी नेपालीको मर्म समेटिएको नाटक ‘भुलेको छैन’ लेखेका रहेछन् । सन् १९५३ जुन ६ र ७ तारिखमा त्यस नाटकलाई दार्जिलिङको ‘गोर्खा दुःख निवारक सम्मेलन हल’ मा मञ्चन गरियो । नाटकका दार्जिलिङकै गभर्मेन्ट कलेजका विद्यार्थीहरूले अभियन गरेका थिए । साहित्यकार धरणीधर कोइरालाद्वारा उद्घाटित नाटकको प्रदर्शनीमा इतिहासकार सूर्यविव्रmम ज्ञवाली, पारसमणि प्रधानलगायतका भावुक हृदयहरू उपस्थित थिए । नाटक हेरेपछि धेरैको परेला निथ्रुक्कै भिजे । दार्जिलिङ, कालिङपोङ र खर्साङका चियाबगान र बस्तीमा नाटक लोकप्रिय रह्यो (थापा, २०७८, पृ. १७७–१८०) ।

यसरी प्रवासमा जनस्तरका प्रवासीबिच समेत प्रियपात्र बन्दै गएका सफल धर्मराज थापाले त्यहाँका बौद्धिक जमातसँग पनि मिठो साइनो गाँस्न पुगेको तथ्य उनका लेखाइमा प्रस्टसँग झल्कन्छ । उनले असम पुगेर चर्चित गायक, सङ्गीतकार, कवि एवं नायक भूपिन हजारिकासँग भेटघाट गरी साङ्गीतिक वार्तालाप गरे । यसका अतिरिक्त गुहाटी विश्वविद्यालयमा पाइला हालेर नेपाली मन र मुटु बाँडे । उनले त्यहाँको स्थानीय संस्कृतिसँग मितेरी लाउने व्रmममा असमिया झुमर गीतको शब्दलाई पनि आफ्नो कृतिमा दुरुस्त उतारेका छन् ।

धर्मराज थापाले नेपाल र असमबिच लिच्छविकालमै साइनो गाँसिएको दरिलो ऐतिहासिक प्रमाण पनि पेस गरेका छन् । उनले भारतीय इतिहासकार भगवानलाल इन्द्रजीले आफ्नो कृति ‘इन्स्व्रिmप्सन अफ जयदेव अफ नेपाल : एन इन्डियन एन्टिक्वेरी’ मा लिच्छवि वंशका राजा जयदेवले असमकी कन्या राज्यमतीसँग विवाह गरेको ऐतिहासिक उल्लेख भएको प्रसङ्गसमेत कोट्याएका छन् । त्यस पुस्तक कलकत्ताको ‘एम्पिरियल लाइब्रेरी’ मा रहेको समेत समेटेका छन् (थापा, २०७८, पृ. १००) ।

उता देहरादुन, भाक्सु, अल्मोडा जस्ता ठाउँमा रहेका नेपालीभाषी समुदायबिच नेपाली मन, मुटु र माटोले भरिएको स्नेह सम्बन्ध कायम गरेर फर्किए । नेपालको मुटुभरिको माया त्यतातिर लगे, त्यताको प्रवासी माया मनभरि लिएर आए । कला र गलामार्पmत प्रवासी गोर्खाली समुदायबिच नेपाली माया बाँडे । मायाको सट्टामा माया नै लिएर घर फर्किए । उनी देहरादून पुगेको दसी–प्रमाण उनकै गीतले आयपर्यन्त दिइरहेको छः 

आइपुग्यौँ रेलैमा

नौ बजे बेलैमा

देरादुनैमा साथी देरादुनैमा

आफ्नो भ्रमणको माध्यमबाट धर्मराज थापाले भूराजनीतिक कारणबाट विभाजित नेपाली ढुकढुकीलाई सांस्कृतिक रूपले एउटै ठाउँमा समेटने सत्प्रयास गरे । यस दृष्टिले उनी एकातिर नेपाली लोकसंस्कृति र लोकसाहित्य ब्रान्ड राजदूतका रूपमा देखा पर्छन् भने अर्कातिर स्वदेश–विदेशमा रहेका नेपाली मनमुटुहरूलाई जोड्ने सेतुका रूपमा पनि प्रकट हुन्छन् ।

पृथक् लेखनशैली

धर्मराज थापाको लेखाइमा एउटा बेग्लै किसिमको पृथकता पाइन्छ, जसमा आफ्नै माटोको सुवास मगमगाउँछ । एक अर्थमा थापाको लेखाइ अन्य लेखक तथा साहित्यकारको तुलनामा उतिविधि परिष्कृत लाग्दैन । उनका लेखकीय शैली अनौपचारिक प्रकृतिको देखिन्छ । यही अनौपचारिकतामा मौलिकता र मृदुलभाव बेस्सरी बयली खेल्छन् । लेखाइमा बोलीचालीको भाषाको छेलोखेलो छ । त्यसमा ग्राम्य अभिव्यक्ति र भावुकता छचल्किन्छन् । उनका कलममा बोधगम्यता, लालित्य र स्थानीय लवजको बेग्लै संस्करण भेटिन्छ । यसैमा उनका व्यक्तित्व छर्लङ्ग खुल्छ, पानी परेपछि उघ्रेको आकाश झैँ । 

उनका लेखाइमा भेटिने अनौपचारिकपना र ग्राम्यपनले लेखाइमा तत्कालीन ग्रामीण जीवनशैलीको मौलिक परिचय दिन्छ, जसमा माटोको सुवास र लोकजीवनको झलक भेटिन्छन् । कतै पनि सम्पादकीय कैँची नचलेको प्रतीत हुने उनका लेखाइमा कृत्रिमताको छनकसम्म पनि पाइँदैन । 

कस्मेटिक शैलीभन्दा कोसौँ पर रहेको लेखनशैलीमा कृत्रिमतारहित शब्दचित्र भेटिन्छन् । सरलता उनको मौलिक विशेषता हो । सरल लेखाइबाट रैथाने लालित्यसहित जनजीवनको यथार्थ तस्बिर कोर्न सक्नुलाई उनको विशिष्ट खुबी मान्नु पर्छ । उनको यस किसिमको लेखकीय कला एउटा बेग्लै बास्नादार परिकार झैँ प्रतीत हुन्छ । 

उनका कृति जति हे-यो, उति नयाँ झैँ प्रतीत हुन्छ । कृतिको अन्तरवस्तुले हरेक पटक नयाँ अर्थ बोकेर आए झैँ लाग्छ । उनका कृतिमा नेपाली लोकजीवन, लोकसाहित्य, स्थानीय जीवन पद्धति र स्थानीय इतिहासको मिहीन अभिलेखनसहितको सूक्ष्मतम वर्णन भेटिन्छन् । 

जुनसुकै विषयलाई सूक्ष्म तवरले अवलोकन गर्ने क्षमता, सुनेका कुरा जस्ताको तस्तै टिपोट गर्न सक्ने खुबी, स्थानीय बासिन्दासँग मृदुशैलीमा वार्तालाप गरी चुरो कुरो निकाल्न सक्ने सामथ्र्य र एकतमासको धैर्यशीलता उनको मौलिक विशेषता हो, जुन साँच्चै आरिसलाग्दो छ ।

कुनै पनि वस्तुलाई सूक्ष्म तवरले अवलोकन गर्ने खुबी र देखेसुनेको कुरालाई जस्ताको तस्तै टिपोट गर्न सक्ने क्षमताले नै होला उनको लेखाइमा स्थानीय जनश्रुति, लोककथा एवं लोकथन टन्नै भेटिन्छन् । उनका कृतिमा स्थानीयस्तर प्राप्त इस्तिहार, लालमोहर तथा अन्य कागजातहरूको पनि उतार भेटिन्छन्, जुन स्थानीय इतिहासको महìवपूर्ण स्रोत हुन पुगेको छ । हिजोका दिनमा सामान्य टिपोट जस्तो मात्र लाग्ने उनका लिखित विवरण कालान्तरमा महìवपूर्ण ऐतिहासिक दस्ताबेज बन्न पुगेको छ । बुझ्नेका लागि उनको कृति आपैmँमा बेजोड सांस्कृतिक इतिहास बन्न पुगेको छ । 

भावी लक्ष्यरेखा

समय प्रतिकूल छ । समयको बलवान् झोक्काले हाम्रा मौलिक लोकसंस्कृति र लोकसाहित्यमाथि प्रतिपल कडा प्रहार गरिरहेको छ । ‘साइबर कल्चर’ बाट सङ्व्रmमित नयाँ पुस्ताका अगाडि हाम्रो मौलिक लोकसंस्कृति हरघडी बिरानिँदै गएको छ । 

नेपाल र बिरानिँदै गएको लोकसंस्कृतिलाई चिन्न धर्मराज थापाका यात्रा–संस्मरणात्मक कृतिहरू पढ्न आवश्यक छ । लोकजीवन, लोकसाहित्य, लोकसंस्कृति र स्थानीय इतिहाससँग परिचित बन्न चाहनेका लागि उनका कृति मार्गदर्शक ग्रन्थ हुन् । लोकसंस्कृति र लोकसाहित्यका अनुरागीका लागि उनका कृति एउटा अभौतिक जीवनदायिनी बुटीका रूपमा प्रकट हुन्छन् । 

धर्मराज थापाका लोकजीवन, लोकसंस्कृति र लोकसाहित्यसँग सम्बन्धित सबै कृति र तिनका सन्देशलाई बिरानो बन्न नदिन त्यस्ता कृतिबारे छलफल शृङ्खला चलाउन ढिला भइसकेको छ । उनका कृतिबारे छलफल शृङ्खला चलाउन सकिएका उनका व्यक्तित्व र कृतित्वको आलोक जनस्तरको फराकिलो घेरासम्म पुग्न सक्छ ।

अहिले उनका अधिकांश कृति अप्राप्य भइसकेका छन् । लोकजीवनको सजीव चित्र झल्कने त्यस्ता कृतिलाई हराउन दिनुहुँदैन । ती कृतिलाई आवश्यक परिष्करण गरी पुनः प्रकाशन गर्न आवश्यक छ । त्यस्ता कृतिलाई देशका सबै पुस्तकालयमा राख्न आवश्यक देखिन्छ । 

ती कृतिलाई अङ्ग्रेजीमा समेत अनुवाद गर्न आवश्यक भइसकेको छ । यसो गरिएमा नेपाली भाषा बिर्सँदै गएका र अङ्ग्रेजी भाषामा अभ्यस्त बन्दै गएका नयाँ पुस्ताको पहुँचमा ती कृतिलाई पु¥याउन सकिन्छ । यति मात्र होइन, यस्ता पुस्तकलाई विश्वविद्यालयका पाठ्यव्रmममा पनि समावेश गर्न आवश्यक छ । 

धर्मराज थापाका पुस्तककार कृतिबाहेक फुटकर रचना पनि छन् । ती रचना ‘गोरखापत्र’ लगायत विभिन्न पत्रपत्रिकामा लोकसंस्कृति र लोकसाहित्यबारे विभिन्न कालखण्डमा अनेकौँ लेखरचना छपाएका छन् । तिनको खोजी, सङ्कलन र आवश्यक समृद्धीकरण गरी सँगालो प्रकाशन गर्नुपर्ने देखिन्छ ।

धर्मराज थापाले २०१० सालमै श्रीगणेश गरेको ‘लोकगीत सङ्ग्रहालय’ को अहिले कुनै अस्तित्व देखिँदैन । अब त्यसलाई ‘धर्मराज थापा लोकगीत सङ्ग्रहालय’ नाम दिएर ब्युँताउनु श्रेयस्कर हुने देखिन्छ । त्यस सङ्ग्रहालयमा लोकगीतसम्बन्धी श्रव्य–दृश्य सामग्री, बाजागाजा, लोकप्रतिभाका प्रोफाइल, पुस्तक तथा अन्य सन्दर्भ सामग्री राखिनु पर्छ । 

उनले आफ्ना विभिन्न कृतिमा पूर्वको हाक्पारेदेखि पश्चिमका देउडासम्मका लोकभाकाको वर्णन गर्नुका साथै ठाउँ ठाउँमा सान्दर्भिक किसिमले गीतका हरफहरू पनि पेस गरेका छन् । उनका युगान्तकारी साङ्गीत खोज जनजातीय सङ्गीत (इथ्नोम्युजिकोलोजी) अध्ययनका दृष्टिले पनि दरिलो विषय बन्न सक्छ । यतातिर पनि ध्यान दिनु आवश्यक देखिन्छ ।

यी तमाम प्रस्तावित रचनात्मक गतिविधिलाई अघि बढाउन सजिलो छैन । यसमा जनस्तर र राज्यस्तरमा दरिलो कार्यगत प्रतिबद्धता र एकता आवश्यक छ । यस्ता रचनात्मक कदम चाल्न सकिएमा मौलिक लोकसंस्कृति बचाउन सहयोग पुग्नुका साथै धर्मराज थापाप्रति पनि सच्चा श्रद्धाभाव ठहरिनेछ ।

समापन

धर्मराज थापा लोकसंस्कृति र लोकसाहित्यका झल्मलाउँदा नक्षत्र हुन् । उनले हामीबिच अमूल्य कृतिहरू छाडेर गएका छन् । हृदयदेखि नै चाहने हो भने उनको व्यक्तित्व र कृतित्वमाथि चिन्तन–मनन, विश्लेषण र विशद् अध्ययन गर्ने अवसर नयाँ पुस्तालाई छ । 

उनले लोकसाहित्य र लोकसंस्कृतिलाई मन, वचन र कर्मले अटुट प्रेम गरिरहे । लोकजीवनका तमाम आयामलाई मातृवात्सल्यपूर्ण तवरले जीवनकालभरि सुम्सुम्याइरहे । उनी व्यक्ति नभई संस्था हुन् । उनी सांस्कृतिक चेतनाको दियो सल्काएर त्यसमा जीवनभर चेतनारूपी तेल थपिरहने चेतनाप्रवाहक र अविश्रान्त साधक हुन् । 

यी प्रातस्मरणीय साधकले हामीलाई अमूल्य कोसेली छाडेर गएका छन् । अब एउटा गम्भीर चिन्ता छ– समाजका तमाम मूल्य मान्यता र मानकहरूमा आमूल उलटफेर भइरहेको सन्दर्भमा ती कोसेलीलाई कसरी बचाउने र भावी पुस्तालाई कसरी हस्तान्तरण गर्ने ? यसबारे गम्भीर चिन्तन–मनन हुन आवश्यक छ । 

अन्त्यमा आइरिस कवि तथा नाटककार अस्कर वाइल्डको भनाइ पेस गरेर लेखको बिट मार्न मन लाग्यो । वाइल्डको कथन छ, ‘जोकोहीले पनि इतिहास बनाउन सक्छ । महान् व्यक्तिले मात्र त्यसलाई लेख्न सक्छ ।’ धर्मराज थापाको समग्र व्यक्तित्व र कृतित्वका सन्दर्भमा यो कथन सतप्रतिशत सान्दर्भिक हुन आउँछ । उनले साँचो अर्थमा लोकसाहित्य र लोकसंस्कृतिको इतिहास प्रेमपूर्वक अभिलेखन गरे । उनका लोकहितैषी सत्कर्मप्रति सिङ्गो नेपाली समाज अनुगृहीत छ ।