• १२ पुस २०८१, शुक्रबार

वायुप्रदूषणको असर

blog

श्वासप्रश्वासका लागि अपरिहार्य वायु नै प्रदूषित बनेपछि मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनु स्वाभाविक हो । विशेष गरी देशका सहरी क्षेत्रमा सुक्खा मौसममा प्रायः हुने गरेको वायुप्रदूषणले केही वर्षदेखि अधिक असर पुर्‍याउन थालेको छ । वायुको गुणस्तर मापन गर्ने संस्थाहरूको प्रतिवेदन सार्वजनिक हुँदा खास गरी काठमाडौँ उपत्यका र मुलुकका अन्य प्रमुख सहरको वातावरण कहालीलाग्दो नै छ । काठमाडौँ उपत्यकाको वायुप्रदूषणको मात्रा त विश्वका प्रदूषित सहरहरूको सूचीमा बर्सेनि एक/दुई नम्बरमै पर्ने गरेकाले असर बढ्दो छ । विशेष गरी श्वासप्रश्वास र आँखासम्बन्धी रोगका बिरामीका कारण अस्पतालमा चाप बढेको समाचार सार्वजनिक हुँदै छन् ।

वायु प्रदूषित हुनुका अनेक कारणमध्ये लामो समयदेखि वर्षा नहुनुलाई वातावरणविद्हरूले प्रमुख कारक मानेका छन् । खास गरी हिउँदमा वर्षा नहुनु, आगलागी र डढेलोका घटना अधिक हुनु, वायुको बहाव कम हुनु एवं वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुनुले प्रदूषणको मात्रा धेरै भएको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाको भनाइ छ । तुवाँलोको मात्रा बाक्लिएर जमिन सतहमा बस्दा हावाको बहाव तीव्र भएमा उडाउने सम्भावना हुन्थ्यो तर हावा नचल्ने र पानी पनि नपर्ने भएपछि प्रदूषणको मात्रा चुलिएको देखिन्छ । 

फागुनको मध्यदेखि नै वनमा डढेलो लागेका घटना सार्वजनिक हुन थालेका थिए । मुलुकको कुल क्षेत्रफलको ४५ प्रतिशत भूभाग ओगटेको वनक्षेत्रका सयौँ स्थानमा डढेलो लागेको छ । बस्तीलाई पनि असर पुर्‍याएको छ । पछिल्लो समाचार अनुसार बागमती प्रदेशमा मात्रै करिब १४ हजार हेक्टर वनमा डढेलो लागेको प्रदेशस्थित वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । पूर्वदेखि पश्चिमसम्मै कुनै त्यस्तो वन छैन; जसमा डढेलो नलागेको होस् । वायुप्रदूषणको प्रमुख कारक नै आगलागी मानिएकाले मानिसले आफ्नो स्वास्थ्यमा आफैँले हानि पु¥याइरहेको देखिएको हो । हावाको गति स्थिर रहेर तुवाँलो फाट्न नसक्दा भूमिस्थ दृश्य (भिजिबिलिटी) मा कमी आएर हवाई उडानमा समेत प्रभाव परेको देखिएको छ । तुवाँलोले ढाकेर परपरको दृश्यसमेत नदेखिने भएपछि पोखरालगायतका पर्यटकीय क्षेत्रमा पुगेका पर्यटक फर्किन चाहेका तथा हवाई उडानसमेत प्रभावित भएकाले पर्यटन क्षेत्रमा गम्भीर असर पारेको होटल व्यवसायीहरूको भनाइ छ । 

अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अनुसार एक्युआई शून्यदेखि ५० सम्मलाई स्वस्थकर मानिन्छ । यसै गरी ५१ देखि सयसम्मलाई मध्यम, सयदेखि १५० सम्मलाई अस्वस्थकर र १५० देखि दुई सयसम्मलाई अति अस्वस्थकर मानिएको छ । गत साता काठमाडौँ उपत्यकाको एक्युआई १८४ पुगेको सार्वजनिक भएकोमा शनिबार पोखराको एक्युआई २०८ पुगेर काठमाडौँलाई उछिनेको मात्र नभई सम्भवतः विश्वकै प्रदूषित सहरको कोटीमा परेको देखिएको हो । जसका कारण पोखराको जनजीवन नराम्ररी प्रभावित बनेको स्थानीयको भनाइ छ । 

उपत्यकाका लागि तर्जुमा गरिएको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार वायु गुणस्तर सूचकाङ्क (एक्युआई) तीन सयभन्दा बढी भएको अवस्थालाई विपत्का रूपमा लिइन्छ । यस्तो विपत् रोक्नका लागि तयार पारिएको कार्ययोजनामा फोहोरजन्य वस्तु नजलाउने, सडक सफा गर्न बु्रमुर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने उल्लेख गरिएको छ । यसै गरी राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदूषण कम गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । जस अनुसार प्रमुख सहरहरू र औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा वायुको गुणस्तर मापन केन्द्र स्थापना गरिने उल्लेख भए पनि व्यवहारमा भने लागु गरिएको देखिँदैन । 

अहिलेको वायुमा कार्बन मोनोक्साइड र नाइट्रस अक्साइड जस्ता मानव स्वास्थ्यका लागि हानिकारक ग्यासको मात्रा अधिक देखिएको जनस्वास्थ्यविद्को भनाइप्रति सचेत रहन आवश्यक छ । वायुप्रदूषणका कारण आँखा पोल्ने, रुघाखोकी लाग्ने, छाला चिलाउनेलगायतका अल्पकालीन रोगका साथै मुटु, फोक्सो तथा मस्तिष्कमा हुने दीर्घकालीन असरप्रति पनि चिकित्सकले सतर्कता अपनाउन सुझाव सम्प्रेषण गरेको पाइएको छ । यस्तो बेलामा सकभर घरभित्रै बस्ने, बाहिर जानै परेमा गुणस्तरीय मास्क लगाउने, दम तथा श्वासप्रश्वासका बिरामीले विशेष सुरक्षा सतर्कता अपनाउनुपर्ने चिकित्सकीय रायप्रति सबैले ध्यान पुर्‍याउन आवश्यक छ । बर्सेनि हुने गरेका डढेलोका घटना न्यूनीकरणका लागि सचेतना अभिवृद्धिका साथै सरकारी स्तरबाट आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने देखिन्छ ।