• ८ जेठ २०८१, मङ्गलबार

आगलागीबाट लाखौँको क्षति

blog

जनार्जन खत्री
सर्लाही, वैशाख १८ गते ।
सर्लाहीको दुई फरक स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ ।जिल्लाको हरिवन नगरपालिका–३, मोहनपुरमा स्थानीय रोहन भुजेलले सञ्चालन गरेको कुखुरा फाम र सँगै रहेको घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रारम्भिक रुपमा बिजुली सर्ट भएर आगलागी भएको जस्तो देखिए पनि घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।

प्रनि गिरीका अनुसार आगलागीबाट कुखुरा फाम, फाम छेउमा बस्नका लागि बनाइएको तीन वटा घर, फाममा रहेको पाँच क्विन्टल तोरी, भाँडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । कुखुरा फाममा रहेका २६ वटा कुखुरा र २० वटा हाँस समेत जलेर मरेका छन् ।

सञ्चालक कोही नभएको समयमा फाममा एक्कासी आगलागी भएको हो । सोमबार राती ८ः३० बजेबाट सुरु भएको आगलागी गाउँले, प्रहरी र हरिवन नगरपालिकाबाट आएको दमकलको सहयोगमा राती ९ः४५ बजेतिर नियन्त्रणमा आएको थियो ।

यसैबिच सोमबार साँझ सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा आगलागी हुँदा दुई लाख रुपियाँ बराबरको क्षति भएको छ । स्थानीय बासुदेव महतोको गोठघरमा भएको आगलागीबाट गोठसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी चौकी कविलासीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । अत्यधिक तापक्रम, सुक्खापन र हावाहुरी चल्दा जिल्लामा दैनिक भइरहेका आगलागीबाट जनधनमा क्षति पुगिरहेको छ ।