• ३ जेठ २०८१, बिहिबार

‘बालविवाह रोक्न सामूहिक प्रयास गर्नुपर्छ’

blog

बालविवाहविरुद्धको दिवसको अवसरमा आयोजित कार्यक्रममा अतिथिहरु । तस्विर– धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, वैशाख १७ गते । ‘छोराछोरी बराबरी, बिस पारी बिहेबारी’ नारासाथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा मनाइएको बालविवाहविरुद्धको दिवसमा बालविवाह रोक्न सामूहिक प्रयासको खाँचो रहेको सरोकारवालाले औँल्याउनुभएको छ । 

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख १७ गतेका दिनलाई बालविवाह विरुद्धको दिवस मनाउन गरेको निर्णयबमोजिम प्रदेशको राजधानीसहित प्रदेशका पालिकामा विभिन्नखालका कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ । 

लाइफ नेपाल र आसमान नेपालको संयोजनमा मधेश प्रदेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयले बालविवाहविरुद्धको दिवसको अवसरमा जनकपुरधाममा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागीले मधेश प्रदेशमा बालविवाह समाजको साझा समस्या भएकाले अन्त्यका लागि संयुक्त प्रयास हुनुपर्ने बताउनुभयो । 

मधेश प्रदेशमा १५ वर्षअगावै विवाह गर्नेको सङ्ख्या ८.९ प्रतिशत, १८ वर्षअगावै विवाह गर्नेको सङ्ख्या २९.३ र १५ देखि १९ वर्ष उमेर समूहमा विवाह गर्नेको सङ्ख्या १५.२ प्रतिशत रहेकाले यसको अन्त्यका लागि सबैको प्रयास हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले प्रदेश सरकारले बालविवाह अन्त्यका लागि तार्किक कार्य ढाँचासहितको १० वर्षे रणनीतिक योजना तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको बताउनुभयो ।

महिला बालबालिका तथा सामाजिक न्याय समिति मधेश प्रदेशका सभापति रुपा यादवले अभिभावकको कमजोरीका कारण बालविवाहका घटना बढदैगएको भन्दै अभिभावकले आफ्नो छोराछोरीलाई शिक्षादीक्षा दिनमा कुनै किसिमको कन्जुस्याइँ गर्न नमिल्ने बताउनुभयो ।

नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गरिरहेको भन्दै बालबालिकालाई शिक्षित बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सुरुंगा नगरपालिकाका नगर प्रमुख गीता चौधरीले आफ्नो नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गर्नेक्रममा भएका चुनौती बारेमा सहभागीलाई जानकारी गराउनुभयो । प्रदेशको आठवटै जिल्लाबाट बालबालिकाको सहभागिता रहेको थियो ।