• २० असोज २०८१, आइतबार

'पत्रकारको पेसागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध छ'

blog

देवरामप्रसाद यादव

सप्तरी वैशाख १७ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकारिता क्षेत्र र पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । सप्तरीको तिरहुत गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थल लोहजरामा नेपाल पत्रकार महासङ्घ सप्तरीको ११ औँ अधिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री लेखीले पत्रकारको समस्याप्रति गम्भीर रहेको बताउनुहुँदै पत्रकारहरूको पेसागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा रहेको तमाम समस्यालाई सम्बोधन हुने गरी कार्ययोजना पेस गर्न र छलफल गर्न पत्रकार महासङ्घका जिल्ला तथा प्रदेश नेतृत्वलाई आग्रह गर्नुभयो । 

लोक कल्याणकारी विज्ञापनमा प्रदेश सरकारले कटौती गरी पत्रकारलाई सुविधाबाट वञ्चित गर्नु न्याय पूर्ण नभएको बताउनु हुँदै प्रदेशभरी रहेका सञ्चार माध्यमलाई दिने सुविधा वार्षिक २५ लाख यो न्यायसङ्गत नभएकोले प्रदेश नेतृत्वलाई ५० करोडको कार्ययोजना बनाएर पेस गरेमा कार्यान्वयन तर्फ लाने जिम्मा आफूलाई भएको बताउनुभयो । 

मन्त्री लेखीले सङ्घ सरकारले बजेटमा प्रदेश सरकार र स्थानीय सरकारमाथि भेदभाव गरी केन्द्रले ८० प्रतिशत बजेट राख्ने र सातवटा प्रदेश र ७ सय ५३ स्थानीय तहलाई २० प्रतिशत बजेट विनियोजन गरेर केन्द्र सरकारले विभेद गरेको आरोप लगाउनुभयो । 

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, पूर्व केन्द्रीय सदस्य अबधेश झा, पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविन, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्व सभापति बैथनाथ झा लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । 

उद्घाटन समारोह पश्चात् बन्द सत्रमा आर्थिक, प्रगति, सांगठानिक तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरी छलफल पश्चात् परिमार्जन गर्ने गरी अबेर राती पारित भएको पत्रकार महासङ्घ सप्तरीले जनाएको छ ।