• २० असोज २०८१, आइतबार

उपराष्ट्रपति यादव र भियतनामका राजदूत हाईबिच शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेट गर्नुहुँदै नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाई । तस्बिरः उपराष्ट्रपतिको निजी सचिवालय

काठमाडौँ, वैशाख १७ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गर्नुभएको छ। 

उपराष्ट्रपति यादवसँग राजदूत हाईले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गर्नुभएको हो। भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भयो। 

उपराष्ट्रपति यादवले काठमाडौँमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिताले भविष्यमा त्यहाँबाट नेपालमा लगानी भित्र्याउन पहल हुने विश्वास व्यक्त गर्नुभयो। 

‘‘सन् १९७५ मा द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र भियतनामबिच मित्रता, सौहार्दता, सद्भाव र आपसी समझदारीमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्ध रही आएको छ’’ उहाँले भन्नुभयो, ‘‘बुद्ध धर्मले दुई देशहरूबिच जनस्तरको सम्पर्कलाई अझ बलियो बनाएको छ।’’

उपराष्ट्रपति यादवले दुई मुलुक नेपाल र भियतनामले संयुक्त राष्ट्र सङ्घ लगायतका बहुपक्षीय फोरममा समान विचार राख्ने, एकअर्कालाई सहयोग गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘दुई मुलुकका परराष्ट्र मन्त्रालयबिच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) मार्फत पारस्परिक हितका क्षेत्रमा नियमित परामर्शको लागि मार्ग प्रशस्त गर्नेछ।’’

उहाँले नेपाल र भियतनामबिच २० अक्टोबर २०१५ मा हवाई सेवा सम्झौता भएको जानकारीमा रहेको उल्लेख गर्दै भविष्यमा काठमाडौँ/लुम्बिनी र हानोई बिच सीधा उडान हुने आशा व्यक्त गर्नुभयो । 

भियतनामका राजदूत गुएन थान हाईले नेपाल र भियतनामबिचको सम्बन्धलाई थप सुदृद्ध र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने उल्लेख गर्दै दुई मुलुकबिच सिधा हवाई उडान स्थापनाको गृहकार्य भइरहेको बताउनुभयो।