• ११ मंसिर २०८१, मङ्गलबार

शैक्षिक पाठ्यक्रमको स्वरूप

blog

शिक्षण विधि कालक्रमिक रूपमा सुधार एवं विकास हुँदै जाने विधा हो । विश्वमा शिक्षण विधिको विकास आजभन्दा ३५०० बिसी पहिले भएको हो । उक्त समयदेखि वर्तमानसम्म आइपुग्दा शैक्षिक विधिले पाँच चरण पूरा गरिसकेको छ । जहाँसम्म शैक्षिक विधिको चरणबद्ध विकासको सवाल छ, ३५०० बिसी देखि ३०९ बिसीसम्म शिक्षक केन्द्रित, ३१० बिसीदेखि सन् १५९५ सम्म पुस्तक केन्द्रित, सन् १५९६ देखि १८३९ डिस्कार्ट लर्निङ (व्यावहारिक सिकाइ), सन् १८४० देखि १९१२ सम्म डिस्ट्यान्ट लर्निङ (दूरशिक्षा), सन् १९१३ देखि १९२० सम्म बुम्स टेक्सोमनी (प्रक्रिया, सिर्जना, विश्लेषण, प्रयोग र स्मरण) र सन् १९२१ पश्चात् इन्जिनियरिङ तथा टेक्नोलोजी विधि प्रयोगमा आएको हो । 

पाठ्यक्रमको विकासमा सुरुवाती समयदेखि अहिलेसम्म आइपुग्दा, ज्ञान केन्द्रित, सिप केन्द्रित, नवप्रर्वतन केन्द्रित र सशक्तीकरण केन्द्रित गरी चार प्रकारका पाठ्यक्रम पद्धति क्रमशः विकास भएको पाइन्छ । प्रथम चरणमा, ज्ञान केन्द्रित पाठ्यक्रम विकास भएको हो । जहाँ, पाठ्यक्रमको शतप्रतिशत लक्ष्य ज्ञान प्रदान गर्नु वा विद्यार्थीलाई ज्ञानी तुल्याउनु हो । यस प्रकृतिको पाठ्यक्रम अविकसित तथा अल्पविकसित मुलुकले अहिले पनि अवलम्बन गर्ने गरेका छन् । पाठ्यक्रम सुरुवातीदेखि सन् १९६० सम्म यसपद्धतिले बढवा पायो ।

दोस्रो चरणमा सिप केन्द्रित पाठ्यक्रम विकास भएको हो, जहाँ पाठ्यक्रमको ७० प्रतिशत लक्ष्य ज्ञान प्रदान गर्नु र ३० प्रतिशत लक्ष्य सिप विकास गर्नु हो । यस प्रकृतिको पाठ्यक्रम सन् १९९६ देखि युरोपेली सङ्घमा आबद्ध मुलुकहरूले अवलम्बन गरेका हुन् । तेस्रो चरणमा नवप्रवर्तनीय पाठ्यक्रम विकास भएको हो, जहाँ पाठ्यक्रमको लक्ष्य ५० प्रतिशत ज्ञान प्रदान गर्नु र ५० प्रतिशत जीवन उपयोगी नवप्रर्वतन गर्नु हो । अमेरिका तथा रुसले सन् १९९८ ताका नवप्रवर्तन सम्मेलनमार्फत उक्त विधि अवलम्बन गरेका हुन् । 

चौथो चरणमा, मानव सशक्तीकरण केन्द्रित पाठ्यक्रम विकास भएको हो । स्टिम (साइन्स, टेक्नोलोजी, इन्जिनेरिङ एन्ड म्याथमेटिक्स) विधिमा आधारित उक्त पाठ्यक्रमको लक्ष्य ५० प्रतिशत ज्ञान प्रदान गर्नु र ५० प्रतिशत सशक्तीकरण गर्नु हो । उक्त पद्धति, युरोपेली सङ्घमा आबद्ध मुलुकहरूले सन् २००२ देखि, चीनले सन् २०१० देखि, अमेरिकाले सन् २०१७ देखि (४१ वटा राज्यमा) र भारतले सन् २०१८ देखि (पाँच वटा राज्यमा) कार्यान्वयनमा ल्याएका हुन् । 

पाठ्यक्रमलाई अध्ययन–अध्यापनको मुटु मानिन्छ । कुनै निश्चित विधामा के कस्ता विषयहरू समावेश गर्ने, के कस्ता विधिबाट अध्यापन गराउने, के कति गुणवत्तापूर्ण शिक्षा प्रदान गर्ने मूलतः पाठ्यक्रमद्वारा निर्धारण हुने कुरा हो । अर्थात् शैक्षिक गुणवत्ता कस्तो हुने भन्ने कुरा पाठ्यक्रममा निर्भर हुने हुँदा पाठ्यक्रम समसामयिक, जीवन उपयोगी, वस्तुनिष्ठ र वैज्ञानिक हुनु पर्छ । एक पटक निर्माण गरिएको पाठ्यक्रम सधैँका लागि पूर्ण हुँदैन । यसैले पाठ्यक्रमलाई समयसापेक्ष रूपमा परिमार्जन गर्नु पर्छ ।

नेपालका शैक्षिक संस्थाले अवलम्बन गर्ने गरेको पाठ्यक्रम र पाठ्यक्रमको समसामयिक संशोधन गर्न सकेका छैनन् । हाम्रा शैक्षिक संस्थाहरूले जीवनमा कुनै उपयोग हुन नसक्ने वा मृतप्रायः (आउट डेटेट) भइसकेका विषयवस्तुलाई अझै तिलाञ्जली दिन सकेका छैनन् । नेपालले अहिले पनि पहिलो चरणको ज्ञान केन्द्रित पाठ्यक्रमलाई त्याग्न सकिरहेको छैन । अर्थात् सिप केन्द्रित, नवप्रवतनीय र मानव सशक्तीकरण पाठ्यक्रम नाम मात्रको प्रयोगमा ल्याइएको छ । अक्सर पाँच वा दस वर्ष व्यतीत नभई पाठ्यक्रम संशोधनको सोचसमेत जन्मने गरेको पाइँदैन । विद्यार्थीलाई कुनै निश्चित विषयमा विशेषज्ञ बनाउनुको साटो सबै विषय समावेश गरी घर न घाटको बनाउने प्रकृतिको पाठ्यक्रम पस्कने गरिएको छ । 

 स्तरीय पाठ्यक्रम निर्माण गरी ज्ञान, सिप, दक्षता र विज्ञतायुक्त जनशक्ति उत्पादन गर्ने कुरा गफैमा सीमित गरिएको छ । यिनै कारणले विश्वविद्यालयको शिक्षा हासिल गरेपछि अध्येता विज्ञ, दक्ष, सिपयुक्तभन्दा साक्षर मात्र बन्नु परेको हो । त्यस्तै, तर्जुमा गरिएका पाठ्यक्रम कार्यान्वयनका लागि गुणवान्, क्षमतावान्, कर्तव्यनिष्ट शिक्षक वा प्राध्यापक वस्तुनिष्ठ तरिकाले भित्र्याइ समयसापेक्ष तालिम तथा प्रशिक्षण प्रदान गर्नु पर्छ तर हाम्रा शिक्षण संस्थाहरूमा आवश्यकता अनुसार शिक्षक चयन, क्षमता अनुसार पदस्थापन, बढुवा र बर्खास्ती, कार्यसम्पादन अनुरूप पारिश्रमिक प्रणालीको अभाव छ । शिक्षक वा प्राध्यापकलाई निरन्तर अध्ययनशील, शोध अनुसन्धान केन्द्रित र नवीनतम पद्धति केन्द्रित हुनै पर्ने वातावरण निर्माण गर्न सकिएको छैन । 

पाठ्यक्रम, परीक्षा र मूल्याङ्कन प्रणालीबिच अन्योन्याश्रित सम्बन्ध हुन्छ । शैक्षिक संस्थाले लिने परीक्षा विश्वसनीय र वस्तुनिष्ठ हुनु पर्छ तर नेपालको सबैभन्दा पुरानो, विद्यार्थी सङ्ख्या, स्रोतसाधनका दृष्टिकोणवाट सबैभन्दा धनी त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाको उत्तरपुस्तिाका परीक्षणका लागि अध्यापन गराइरहेका प्राध्यापकहरूलाई विश्वास नगरी परीक्षा नियन्त्रण कार्यालयलाई निक्षेपण गर्ने गरिएको छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयले लिने गरेको परीक्षाको मूल्याङ्कन उपर पनि पटक पटक प्रश्नचिह्न खडा भएको छ तर सुधारका कदम चाल्न सकिएको छैन । 

परीक्षा विद्यार्थीको क्षमता मूल्याङ्कन गर्ने कडी भएकाले यसलाई विश्वसनीय, वस्तुनिष्ठ र वैज्ञानिक बनाउनु पर्छ । यसका निमित्त पूर्वनिर्धारित समयमा परीक्षा सञ्चालन गर्न, इमानदार तथा क्षमतावान् जाँचकबाट उत्तरपुस्तिका परीक्षण गराउन, पूर्वनिर्धारित समयमा नतिजा प्रकाशन गर्न, नतिजालाई वस्तुनिष्ठ बनाउन चुक्नु हुँदैन । अर्थात्, परीक्षा तथा मूल्याङ्कन प्रणाली र प्राप्त हुने लब्धाङ्कलाई वस्तुवादी, व्यावहारिक, यथार्थपरक र जवाफदेही बनाउनु पर्छ । त्यस्तै, एसिस्मेन्ट तथा शोध पद्धतिबापत दिइने अङ्कलाई वस्तुनिष्ठ तुल्याउनु पर्छ ।

पाठ्यक्रमलाई सटिक रूपमा अघि बढाउन शैक्षिक संस्थाद्वारा, शैक्षिक पात्रो लागु गरिएको हुनु पर्छ तर हाम्रा शिक्षण संस्थाहरू निर्धारित समयमा परीक्षा लिन, नजिता प्रकाशन गर्न, नयाँ भर्ना लिन चुक्तै आएका छन् । उदाहरणका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन सङ्काय एमफिल १० औँ ब्याचको नतिजा प्रकाशन भएको डेढ वर्षपश्चात् मात्र विद्यावारिधिमा भर्नाका लागि आवेदन माग गरिएको छ 

यसै पनि प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहको शैक्षिक पद्धति अब्बल नभएसम्म उच्च तहको शिक्षा अब्बल बन्न सक्दैन । प्राथमिक तहका बालबालिकाको मस्तिष्क विकासको कार्य प्रारम्भिक चरणमा हुने हुँदा शैक्षिक ज्ञानभन्दा अनुशासन, आचरण, नैतिकता, सुझबुझ र स्वभावमा रूपान्तरण ल्याउन मद्दत गर्ने गरी पाठ्यक्रम निर्माण गर्नु पर्छ । अर्थात् बालबालिकालाई अनावश्यक सैद्धान्तिक ज्ञानभन्दा कसरी अनुशासित, नैतिकवान् एवं सुशील बन्ने ? कसरी सहयोगी बन्ने ? कसरी विद्यालयय तथा घर सफा राख्ने ? कसरी गुरु, मातापिता तथा अग्रजको आदर, सम्मान एवं सत्कार गर्ने ? आपत–विपत् पर्दा कहाँ, कसलाई, कसरी सम्पर्क गर्ने वा छुटकार पाउने जस्ता आधारभूत कुरा पाठ्यक्रममा समाविष्ट गर्न चुक्नु हुँदैन ।

निम्न माध्यमिक तहमा अनुशासन, आचरणबाहेक हाम्रो भूगोल, इतिहास, कला, संस्कृति, सम्पदा, पुर्खाको गाथा, संवैधानिक व्यवस्था जस्ता विषयमा ज्ञान दिने गरी पाठ्यक्रम निर्माण गर्नु पर्छ । साथै विद्यार्थीको इच्छा, चाहना, रुचि, क्षमता पहिचान गरी सो अनुरूपको विषय चयन गर्न मिल्ने पाठ्यक्रमको प्रबन्ध मिलाउनु पर्छ । 

माध्यमिक तथा उच्च माध्यमिक तहमा विद्यार्थीमा निहित रुचि, क्षमताको क्षेत्रमा अगाडि बढ्न सहयोग मिल्ने गरी पाठ्यक्रम निर्माण गर्नु पर्छ । पाठ्यक्रम निर्माण गर्दा माध्यमिक तहमा समष्टिगत ज्ञान र उच्च माध्यमिक तहमा निश्चित विधामा मार्ग प्रशस्त हुने गरी पाठ्यक्रम तर्जुमा गर्नु पर्छ । पाठ्यक्रममा उपयोगहीन विषयवस्तु किमार्थ समावेश गर्नु हुँदैन । सबै विषयमा सतही ज्ञान दिनुका साथै कुनै निश्चित क्षेत्रमा विज्ञता हासिल हुने गरी पाठ्यक्रम निर्माण गर्नु पर्छ । अर्थात् पाठ्यक्रममा व्यावहारिक र जीवन उपयोगी कुरा समावेश गर्नु पर्छ । 

जर्मनीमा ९ वा १० कक्षा पश्चात् पेसागत ज्ञान र आयआर्जनसहितको कार्य गर्न लगाइन्छ । सिङ्गापुरमा १८ वर्ष उमेरपश्चात् छात्रले अनिवार्य दुई वर्ष सैनिक सेवा गर्नुपर्ने प्रावधान रहेको छ । यस सन्दर्भमा नेपालमा पनि १० वा १२ कक्षापश्चात् आफूले अध्ययन गरेको क्षेत्रमा पारिश्रमिकसहितको इन्टर्नसिपको प्रबन्ध मिलाउनु पर्छ, जसले मेहनत एवं अनुशासित बन्न, जानेको कुरा व्यवहारमा उतार्न, जान्नुपर्ने कुरा पहिल्याउन, कार्यदक्षता विकास गर्न र आत्मनिर्भर बन्न मद्दत गर्छ । फिनल्यान्डको शैक्षिक प्रणाली विश्वमै उत्कृष्ट मानिन्छ र पाठ्यक्रम चयनमा स्थानीय सरकारलाई स्वायत्तता प्रदान गरिएको छ । यहाँ सैद्धान्तिक ज्ञान, गृहकार्य, घोकाइभन्दा व्यावहारिक ज्ञान र अतिरिक्त क्रियाकलापमा जोड दिने गरिएको छ । अझ त्योभन्दा महत्वपूर्ण कुरा फिनल्यान्डमा हरेक ३० वर्षमा शैक्षिक प्रणाली परिवर्तन हुन्छ । नेपालको पाठ्यक्रम निर्माण तथा संशोधनको सवालमा यो उदाहरण अनुकरणीय हुन सक्छ । 

विश्वविद्यालयको पाठ्यक्रमले विद्यार्थीभित्र क्षेत्रगत विशिष्टीकरण, खोज, अनुसन्धान, अन्वेषण, सिर्जनशिलता र आलोचनात्मक सिकाइलाई सम्बोधन गरेको हुनु पर्छ । पेसागत विभेदलाई बढवा दिने गरी पाठ्यक्रम तय गर्नु हुँदैन । जस्तो कि विश्वका कैयौँ मुलुकमा डक्टर, इन्जिनियर, प्लम्बिङ, इलेक्ट्रिसियन, गार्डेनिङ, डकर्मी, सिकर्मी जस्ता पेसागत विधालाई समान पारिश्रमिक तथा सम्मान दिइन्छ । त्यसैले हाम्रो पाठ्यक्रमले यस कुरालाई पनि आत्मसात् गर्नु पर्छ । जर्मनीमा ट्युसन, कोचिङ जस्ता विद्यार्थीलाई अतिरिक्त लागत बोकाउने कक्षा पूर्णतया निरुत्साहित गरिन्छ । हामीले पनि ट्युसन, कोचिङ, गाइड, गेसपेपर, नोट पद्धतिलाई निरुत्साहित गर्ने गरी पाठ्यक्रम निर्माण गर्नु पर्छ । उच्च शिक्षालाई शोध अनुसन्धानमुखी बनाउन शोधविधि, प्रक्रिया, अवधि, वैधता, वस्तुनिष्ठता, उपादेयताको क्षेत्रमा रहेका कमीकमजोरी पाठ्यक्रमद्वारा सम्बोधित हुनु पर्छ ।

Author

ढुनबहादुर बुढाथोकी