काठमाडौँ, वैशाख १७ गते । सर्वोच्च अदालतले बहालवाला न्यायाधीश डा. आनन्दमोहन भट्टराईविरुद्ध भ्रामक सामग्री प्रकाशन प्रसारण गरेको भन्दै सिधाकुरा डटकम नामक अनलाइनमाथि अवहेलना कारबाहीको प्रक्रिया अघि बढाएको छ । अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुङ्गानालगायत प्रकाशन/प्रसारणमा संलग्नलाई कारबाहीको मागसहित अदालत प्रशासनले प्रतिवेदन उठाएको हो ।
उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले उक्त प्रतिवेदन इजलाससमक्ष पेस गर्नुभएको हो । न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (१) अनुसार अदालत प्रशासनको प्रतिवेदनले प्रक्रिया अघि बढाइएको हो । न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर आँच पु¥याएको प्रतिवेदनमा उल्लेख छ । सर्वोच्च अदालत नियमावलीको नियम ५९ (३) बमोजिम उपरजिस्ट्रार घिमिरेको प्रतिवेदनले कारबाही प्रक्रिया अघि बढाइएको हो । सोमबार प्रतिवेदन इजलासमा पेस हुने छ ।
प्रतिवेदनमा सामग्री प्रकाशन प्रसारणमा संलग्न व्यक्तिलाई अदालतमा झिकाई बयान गराउन पनि प्रतिवेदनमा माग गरिएको छ । साथै प्रचलित फौजदारी कसुरमा अनुसन्धान र कारबाहीमा अन्य निकायलाई आदेशको माग पनि प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा प्रमाणका रूपमा सिधाकुरा अनलाइनको युट्युब च्यानलमा प्रसारित भिडिओलाई पेस गरिएको छ ।