• ३० वैशाख २०८१, आइतबार

प्रधानमन्त्री कप एनभीए भलिबल लिगको तयारी

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख १६ गते । नेपाल भलिबल सङ्घको आयोजनामा आठौँ प्रधानमन्त्री कप/एनभीए पुरुष तथा महिला भलिबल लिग जेठमा हुने भएको छ ।

जेठ १९ गतेदेखि सुरु हुने प्रतियोगितामा पुरुषमा आठ र महिलामा ६ गरी १४ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । 

गत चैतमा काठमाडौँमा भएको आठौँ आरबीबी/एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितालाई आधार मानी टिम छनोट गरिएको हो । पुरुषमा शीर्ष आठ तथा महिलामा शीर्ष ६ स्थान हात पार्ने टोली लिगमा सहभागी हुनेछन् ।

पुरुषमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बुढानीलकण्ठ भलिबल क्लबको सहभागिता रहने छ । महिलामा प्रहरी, एपीएफ, न्यु डायमन्ड, आर्मी, एभरेष्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेशले खेल्ने छन् ।

पुरुषमा टिपटप र महिलामा प्रहरी डिफेन्डिङ च्याम्पियन हुन् । पुरुष/महिलामा सहभागी टिमले राउन्ड रोविन लिगमा एक आपसमा खेल्ने छन् । शीर्ष २ स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्ने छन् । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः आठ लाख, चार लाख र दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ पुरस्कार दिइने छ । 

विधागत उत्कृष्टतर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही २० हजार नगदसहित पुरस्कृत गरिने छ । उपत्यका बाहिरका टिमलाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराइने छ । उपत्यकाका टिमको हकमा खाजा खर्च बापत प्रत्येक दिन प्रत्येक खेलाडीलाई जनही २ सय ५० रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि ३१ लाख ४० हजार रुपैयाँ रहेको छ । २०६९ सालमा लिगको पहिलो संस्करण हुँदा कुल पुरस्कार राशि करिब २ लाख रुपैयाँ रहेकोमा हाल आएर उल्लेखनीय वृद्धि गरिएको अध्यक्ष चन्दले बताए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आठ दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब करिब ७५ लाख रुपियाँ खर्च हुने आयोजकको अनुमान छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले ३५ लाख रुपियाँ उपलब्ध गराउने छ । बाँकी रकम प्रायोजन, बोर्डकास्टिङ, टिकटिङ, शुभचिन्तकलगायतबाट प्राप्त हुने सङ्घले जनाएको छ ।

आयोजक भलिबल सङ्घका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक युवराज श्रेष्ठले विगतका कमी कमजोरीलाई सुधार्दै प्रतियोगिता अझ व्यवस्थित ढङ्गले आयोजना गर्ने बताउनुभयो ।