• २१ असार २०८१, शुक्रबार

स्थानीय तहकाे निर्वाचनमा महिला

पुरूष उम्मेदवारभन्दा हामी के कम ?

blog

प्रमुख र अध्यक्ष दाबी गर्ने सिन्धुपाल्चोकका महिला नेतृहरु । जानुका पराजुली, कमला कायस्थ, माया गुरुङ, कल्याणी घिसिङ ।

सिन्धुपाल्चोक, वैशाख ७ गते । स्थानीय तहको निर्वाचन घरदैलोमै आइपुग्दा सत्ता साझेदार दल र अन्य पार्टीमा चुनावी सरगर्मीसँगै महिला नेतृ ओझेलमा परिसकेका छन् । जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर केही महिला नेत्रीले आफ्नो उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका विदुर रायमाझीका अनुसार अहिलेसम्म स्थानीय तहको मेयरदेखि अन्य पदमा उम्मेदवारी दिनेमा सगरमाथा आरोही, होटेल व्यवासायीदेखि केही उद्यमी, कृषक महिलासम्म छन् ।

नारी दिवसकै दिन आफ्नै गाउँमा गापाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी पाँचपोखरी थाङपाल गापा वडा ७ ,भोटेनाम्लाङकी ४३ वर्षीया सगरमाथा आरोही माया गुरुङ मुख्य एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुग्न थाल्नुभएको छ । सन् २००८ मा सात महिलाको टोलीमा रहेर सगरमाथा आरोहण गरेकी उहाँसहितको टोलीले सात वटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान बनाएका थियो । 


–सगरमाथा आरोही माया गुरुङ

स्वतन्त्र हैसियतमा उम्मेदवारी दिनुभएकी सन् २००८ अक्टुबरमा एक्सपोलर हिमालयन ट्राभल एण्ड एडभेन्चरको आयोजनामा सर्वोच्च सगरमाथाबाट ‘स्काईडाइभ’ गर्ने एसियाको पहिलो महिला पनि हुनुहुन्छ । ‘आफ्नो गाउँ बनाउन अब हामी महिलाले नै हिम्मत गर्नैपर्छ, त्यही सम्झिएर गापाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिए, जनतामुखी एजेण्डा बोकेर घरदैलोमा पुगेर समृद्ध योजना लिएर भेट्दैछु,’ गुरुङले जानकारी दिनुभयो । 

जुगल हिमशृङ्खलाको ११ वटामध्येको एक चुचुरो ६ हजार एकसय ५१ मिटरको उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) पहिलो पटक आरोहण र बाटो खोल्दै गुरुङ मुलुककै हिमालको बाटो खुलाउने पहिलो महिला बन्नुभएको थियो । प्रदेश र स्थानीय सरकारको सहयोगमा ०७५ चैत्र २९ मा गुरुङको नेतृत्वमा ७ जनाले भर्जिन जुगल हिमालमा पहिलो पटक मानव पाइला टेक्दै त्यतिखेर पहिलो पटक झण्डा फहराएका थिए । 

कल्याणी घिस्रिङ

बाह्रबिसे नगरपालिका वडा ९ की कल्याणी घिस्रिङले पहिलो पटक नगरको मेयर पदमा एमालेतर्फबाट उम्मेदवारी दाबी गर्नुभएको छ । पहिले नगर प्रमुखमा एमालेमै सात जनाको दाबी थियो, धेरै बहस, छलफल र सहमतिको आधारमा नाम छाटेर चार जनाको सिफारिस भयो । जसमध्ये नगर कमिटीको बैठक निर्णयले उनीसहित चार जना सिफारिस ग¥यो । पेशाले घिस्रिङ गार्मेन उद्यमी हुनुहुन्छ । बाह्रबिसे नगरकै बजारक्षेत्रमा ‘भैरवकुण्ड गार्मेन्ट उद्योग’ सञ्चालन गरेर धेरैलाई रोजगारी र निःशुल्क सीपमूलक तालिम दिइरहनुभएको छ । सामान्य लेखपढ गरेर महिला, युवायुवतीदेखि वृद्धालाई समेत निःशुल्क सिलाइ, बुनाइ र कटाइ तालिम दिएर सक्षम बनाउनुभएकी उहाँले बाह्रबिसे नगर मेयर पदमा उम्मेदवारमा सिफारिस हुनुभएको छ । ‘हामी पनि पुरुषसरह उठ्नुपर्छ जस्तो लाग्यो, त्यही भएर उम्मेद्वारी दिएँ,’ उहाँले बताउनुभयो । 


– जानुका पराजुली

त्यस्तै, माओवादी केन्द्रबाट चौतारा साँगाचोकगढी नगरको मेयर पदमा हाल उपमेयर रहेकी जानुका पराजुलीले उम्मेदवारी दाबी गर्नुभएको छ । जनयुद्धमा पूर्व लडाकु पराजुलीले पाँच जना पुरुषबीच नगर कमिटीबाट मेयर पदको उम्मेदवारीको लागि सिफारिस हुनुभएको छ । ‘हामी महिलाले पनि पुरुषसरह योगदान दिएका हौँ, किन पछि पर्ने भनेर दाबी गरेको हुँ, माथिबाट आउने निर्क्याेल स्वीकार्य हुनेछ,’ उहाँले बताउनुभयो । 

एमालेबाट निर्वाचित बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री काँग्रेस प्रवेश गरेयता कार्यवाहक अध्यक्ष सम्हालिरहेकी उपाध्यक्ष कमला कायस्थले बलेफी गापा अध्यक्षमा उम्मेदवारी दाबी गर्नुभएको छ । 


–कमला कायस्थ

दर्जनाैं पुरुष उम्मेदवारीबीच पनि केही छलफल र बहसपछि नेकपा (एमाले)ले कायस्थलाई अध्यक्ष पदकै लागि एक्लो रुपमा उभ्याएको छ । होटेल व्यवसायबाट समाजसेवा र राजनीतिमा प्रवेश गरेकी कायस्थलाई बलेफी गापाका स्थानीयले विश्वासिलो महिला नेतृको रुपमा चिन्दै आएका छन् । ‘अध्यक्ष पदमा महिला जानुपर्छ , जनताको सेवामा समर्पित हुनुपर्छ भन्ने लागेर उम्मेदवारी दाबी गरेँ र आकाङ्क्षी बने,’ उहाँ बताउनुहुन्छ । 

काँग्रेस र माओवादी केन्द्रका केन्द्रीय सदस्य स्तरका नेता, जिल्ला सभापति सत्ता गठबन्धनको बैठक र छलफलमै व्यस्त छन् । उम्मेदवारी चुनिरहँदा नेकपा (एमाले) मा पहिले उपाध्यक्ष जितेका अधिकांश स्थानीय तहका महिला नेत्री आहिले अध्यक्ष र प्रमुख पदमा उम्मेदवारी दाबी गरिरहेको एमाले जिल्ला अध्यक्ष कमल नेपालले बताउनुभयो । 

उहाँकानुसार क्रमशः लिसंखुपाखर गापामा हेमगङ्गा मोक्तान, त्रिपुरासुन्दरी गापामा दुर्गादेवी नेपाल,  जुगल गापामा सिर्जना तामाङ, बलेफी गापामा कमला कायस्थ प्रमुख पदको आकाङ्क्षी रहनुभएको छ । उहाँहरु सबै बहालवाला उपाध्यक्ष हुनुहुन्छ । यीबाहेक पाँचपोखरी थाङपाल गापामा पूर्व सांसद डोल्मा तामाङ, चौतारा साँगाचोकगढी नगरमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटासहित मेलम्ची नगरमा दुई जना महिला मेयर पदको आकाङ्क्षी छन् । 

उपमेयरमै दोहोरिएका महिला नेत्री

बाह्रबिसे नगरकै उपप्रमुखमा हाल उपमेयर रहेकी सुशीला पाख्रिनले उपमयेरमा दाबी गर्नुभएको छ । सामान्य कृषक विपन्न परिवार वर्गबाट अनेक सङ्घर्ष गर्दै सामाजिक सेवा क्षेत्रमा कुदिरहेकी पाख्रिनले बाह्रबिसे नगर उपमेयरमा उम्मेदवारी दिन धेरै कसिकसाउ गर्नुप¥यो । तर, अघिल्लो स्थानीय निर्वाचन ०७४ मा काँग्रेस गढक्षेत्र बाह्रबिसे नगरको उपमेयर पदमा जितेर देखाएकी पार्खिनलाई एमालेले पुनः उपमेयर पदमै एक्लै उभ्याइदिएको छ ।  

‘नेतृत्वमा हामी पनि पुरुषभन्दा कम छैनौँ भनेर देखाउन पुनः सोही नेतृत्वमा हाम फालेको हुँ, त्यहीनुरुप म एमालेबाट एक्लै उम्मेदवारी भएँ,’ उहाँले जानकारी दिनुभयो । भोटेकोशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दाबी गर्नुअघिसम्म स्थानीय सुन्तली लामा श्रेष्ठलाई राजनीति महिलाको लागि हुँदै होइन भन्ने सोच्नुहुन्थ्यो ।

सामान्य परिवारबाट सामाजिक संघर्ष गर्दै उभिएकी श्रेष्ठले गरेको हिम्मतिलो उम्मेदवारीले अघिल्लो स्थानीय निर्वाचनमा केही मतले पराजय व्यर्होनुपरे पनि उहाँले हार मान्नुभएन । ‘फेरि उपाध्यक्ष पदमा उम्मेदवारी दाबी गरेँ, उहाँले बताउनुभयो । फलस्वरुप अध्यक्ष पदमा एमालले अमृत खड्का र मलाई उपाध्यक्षमा सर्वसम्मत चुनेको छ, यसले हौसला बढ्यो,’उहाँले खुशी हुँदै सो विचार व्यक्त गर्नुभयो ।