सिन्धुपाल्चोक, पुस १६ गते । मेलम्ची नगरपालिका–९ स्थित प्रख्यात पर्यटकीय स्थल गुफाडाँडामा पर्यटकीय प्रवर्द्धन र जलवायु अनुकूलताका लागि पुस १७ गते आयोजना हुन लागेको पाँचौँ जलवायु दिवसको तयारी पूरा भएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार दिवस मनाउन सबै तयारी पुरा भएकाले यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।
समुद्री सतहभन्दा २ हजार दुई सय ५० मिटर उचाइमा अवस्थित गुफाडाँडामा जलवायु विज्ञबाट जलवायु अनुकूलता र प्रतिकूलताबारे प्रस्तुतीकरण हुने मेयर तामाङले जानकारी दिनुभयो । गुफा डाँडाबाट विश्व समुदायलाई जलवायु परिवर्तनले नेपाल र नेपालीलाई पुर्याएको असरबारे सचेत रहन र त्यसबाट बच्ने उपाय दिनका लागि दिवस मनाउन लागेकाे उहाँले बताउनुभएको छ ।
आयोजक मेलम्ची नगरपालिकाले गुफाडाँडामा ७७ वटै जिल्लाको नाममा राष्ट्रिय झन्डा फहराउने कार्य सम्पन्न भएको छ । कार्यक्रम स्थल, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन लगायतका काम पूरा भएको छ । टेन्ट र पार्किङ व्यवस्थापनका काम व्यवस्थित बनाइएको छ ।
२०७५ सालबाट जिल्ला समन्वय समितिले गुफाडाँडामा जलवायु सम्मेलन सुरु गरेको थियो । त्यस बेला राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सो समयमा ७७ जिल्लाका समन्वय प्रमुखहरू सहभागितामा जलवायु विज्ञहरूबाट प्रस्तुतीकरण भएको थियो । २०७९ बाट जिससले सो कार्यक्रमलाई निरन्तरता नदिएपछि मेलम्ची नगरपालिकाले जलवायु सम्मेलनलाई आयोजना गर्न थालेको हो ।