• २८ वैशाख २०८१, शुक्रबार

जनताको विश्वास जितेको पार्टी एमाले हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

एमाले क्षेत्रीय समितिले शनिबार आयोजना गरेको पार्टी प्रवेश तथा जनसभामा सहभागी नेताहरु । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा  

धनुषा, बैशाख १५ गते । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको विश्वास जित्न सफल भएकै कारण देशको पहिलो पार्टी भएर एमाले यहाँसम्म आएको बताउनुभएको छ । 

धनुषा निर्वाचन क्षेत्र २ (क) को नेमुवाटोलमा एमाले क्षेत्रीय समितिले शनिबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतको निर्वाचनमा एमालेलाई विभिन्न किसिमले घेराबन्दी गर्न खोज्दा पनि जनताले एमालेलाई विश्वास गरेर ठुलो पार्टी बनाएको चर्चा गर्नुभयो ।

आगामी निर्वाचनमा एकल बहुमत प्राप्त दल बनाएमा देशको समृद्धि कायम गर्ने प्रतिवद्धता जनाउनुभयो । एमाले पार्टीमा प्रवेश गर्ने लहर देशभरी रहेकाले २०८४ सालमा हुने निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दावी गर्नुभयो । 

एमालेलाई यहाँसम्म ल्याउनमा धनुषाका पुराना नेताहरुको योगदान महत्वपूर्ण रहेकाले एमाले पार्टी रहुन्जेलसम्म ती योगदान गर्ने व्यक्तित्वहरुलाई विर्सन नसकिने बताउनुभयो । 

कार्यक्रममा एमाले सचिव एवम मधेश प्रदेशका इन्चार्ज योगेश भटट्राईले जनताले एमाले नेतृत्वको सरकार चाहेको भन्दै २०८४ को निर्वाचानपछि एमालेको एकल बहुमतको सरकार बन्ने दावी गर्नुभयो । त्यसकालागि इमान्दारीपूर्वक एक भएर नेता कार्यकर्ताले सक्रिय हुनुपर्ने बताउनुभयो । एमाले नेतृत्वको सरकारले विगतमा गरेका कामहरुको बारेमा आम नेपाली जनतालाई थाहा रहेको भन्दै अब जनताको रोजाइ एमाले भएको दावी गर्नुभयो । 

धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम एमालेका युवा नेता लखन दासले एमालेको लक्ष्यअनुसार आफुले कामकाज गरिरहेको भन्दै आफनो क्षेत्रमा जनताले अनुभूति गर्ने किसिमले कामकाज भइरहेको बताउनुभयो ।


एमालेका पोलिटव्यूरो सदस्यहरु सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, जुलिकुमारी महतो, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, नेता रामसिंह यादव, जिल्ला अध्यक्ष राजकिशोर यादव, विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहितले धारणा राख्नुभएको थियो । 

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, जनता समाजवादी पार्टी परित्याग गरी एक हजारभन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष पोखरेलले फूलको माला गम्छा लगाएर पार्टी प्रवेश गराउनुभयो ।