• २७ वैशाख २०८१, बिहिबार

मटिहानी आग्नीपीडितको अवस्थाबारे जानकारी दिनुहुँदै मुख्यमन्त्री यादव

blog

मधेश प्रदेशका मुख्यमन्त्री आगलागीपीडितहरुको अवस्थाको निरीक्षण तथा राहतबारे जानकारी लिनुहुँदै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, वैशाख १५ गते । 
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मटिहानीको आगलागीपीडितहरूको अवस्था तथा राहतको बारेमा जानकारी लिनुभएको छ ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा बुधबार भएको भीषण आगलागी घटनाका पीडितहरूको अवस्था तथा राहतको बारेमा जानकारी लिन शनिबार मुख्यमन्त्री मटिहानी पुग्नुभएको थियो ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बुधबार मटिहानी नगरपालिका वडानं. ६ जरलहवा बस्तीमा लागेको भीषण आगलागीको घटना र त्यसपछिको वचाव र राहतको बारेमा मुख्यमन्त्री यादवलाई जानकारी गराउनुभएको थियो ।

निरीक्षणमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयकाका राज्यमन्त्री मो.अब्दुल कलाम, जसपा नेपालका जिल्ला अध्यक्ष राम प्रकाश यादव, जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीका अध्यक्ष मिनु झा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा मुख्यमन्त्री यादवले अग्निपीडितहरूको राहतमा कुनै कसर बाँकी नराख्न तथा दुःखको यस घडीमा प्रदेश सरकार मटिहानी नगरपालिकाको साथमा रहेको वचनबद्धता दिनुभएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

यसैबिच, जिल्ला विपद् व्यवस्थापन समितिले मटिहानीमा भएको भीषण आगलागीबाट घरविहीन भएका परिवारहरूलाई २० हजार नगद उपलब्ध गराएको छ ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मटिहानीको आगलागी बस्तीमा पुगेर पीडित परिवारहरूलाई २० हजार नगद हस्तान्तरण गर्नुभएको हो ।

बढ्दै गएको निरन्तरको गर्मीका कारणले अग्निपीडितहरूको अवस्था दयनीय हुँदै गएको छ । तीन रातिदेखि उनीहरू रातभरि जाग्राम नै बस्नु परिरहेको स्थानीय कलिम अन्सारीले जानकारी दिनुभयो । गर्मीको मौसम भएको तथा माथि त्रिपाल टाँगेर र तल पटिया बिछ्याएर सुत्नु पर्दा साँप किराहरूको डरले रातभरि धेरै जना जाग्राम बस्नु परिरहेको अन्सारीले बताउनुभयो ।

राहत वितरण भइरहेको छ तर आफूहरूलाई खानासँगै आवासको समेत आवश्यकता भएकाले सङ्घीय र प्रदेश सरकारले यसमा तदारुकता देखाउनुपर्ने माग अग्निपीडित परिवारहरूको रहेको छ । अन्सारीले भन्नुभयो, ‘‘दिनमा ४० डिग्रीभन्दा बढीको घाम हुन्छ, त्रिपालले गर्मी छल्न समस्या छ, त्यसैले पनि आवास निर्माणमा तत्कालै सरकारले ध्यान दिन जरुरी छ ।’’

अग्निपीडितहरूले बिहानैदेखि आफूहरूको अवस्था बुझन कोही न कोही आउने गरेको कारण दिनभरि सुत्न नसकिने र राति गर्मी तथा साँप किराको डरले सुत्न समस्या भइरहेकोले जाग्राम बस्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार लागेको आगलागीको कारण बस्तीको ९१ वटा कच्ची, ९ वटा अर्धपक्की गरी १०० वटा घर जलेको तथा ४६२ व्यक्ति प्रभावित भएको छ ।