• २६ वैशाख २०८१, बुधबार

बझाङमा बिहान १० बजेसम्म ७.५ प्रतिशत मतदान

blog

बझाङ सदरमुकाम चैनपुरस्थित जय पृथ्वी नगरपालिका वडा नम्बर १० स्थित बाल मन्दिर आधारभूत विद्यालयमा मतदान गर्न जाँदै एक वृद्ध मतदाता । तस्बिर: गोरखापत्र

प्रकाशविक्रम शाह

धनगढी, वैशाख १५ गते । बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ ) मा आज बिहान १०  बजेसम्म ७.५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान १० बजेसम्म चार हजार ६३२ मतदाताले मतदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउनुभयो ।

उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९३ मतदान केन्द्रमा मतदान सुरु भएको सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् । सात वटा पालिकामा जय पृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सुर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् । 

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) बाट निर्वाचन पर्यवेक्षणमा रहनु भएका अभयराज जोशीले मतदानमा जनताको सहभागिता कमजोर रहेको बताउनुभयो । यद्यपि खाना खाएपछि मतदान गर्नेको सङ्ख्या बढ्ने अनुमान छ ।

मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । 

उहाँका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।

सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । ११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू क्रमशः नेपाली कांग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।