• २२ वैशाख २०८१, शनिबार

शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा

blog

शुक्लागण्डकी नगरपालिकाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की   

तनहुँ, वैशाख १३ गते । तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शैक्षिक गुणस्तर सुधार वर्ष घोषणा गरेको छ । शुक्लागण्डकी नगरपालिकाले चालु शैक्षिक सत्र २०८१ लाई सुधार वर्ष घोषणा गरेको हो ।  

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’  नाराका साथ बुधबार घोषणा गरिएको हो । नगरपालिकाले शिक्षामा लगानी अभिवृद्धि गर्दै सामुदायिक विद्यालयको उपयुक्त शैक्षिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिंदैआएकोमा आगामी शैक्षिक वर्ष २०८१ लाई शैक्षिक गुणस्तर सुधार वर्षका रूपमा बुधबार घोषणा गरिएको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । 

नगर प्रमुख पण्डितका अनुसार सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८१ बाट आधारभूत तह (प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा १–८ सम्म) को शिक्षा अनिवार्य तथा कुनै शुल्क उठाउन नपाउने निर्णय गरेको छ । 

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, तथा शिक्षकका सन्ततिलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्ने निर्देशन गरिएको छ । सञ्चालित कक्षा, विद्यार्थी सङ्ख्या, विषयगत दरबन्दीको उपलब्धता तथा भौगोलिक अवस्थाका आधारमा विद्यालयलाई  शैक्षिक सत्र २०८१ बाट लागु हुनेगरी समायोजन तथा एकीकरण गर्ने र शिक्षक दरबन्दी मिलानलाई कार्यान्वयनमा ल्याउने भएको छ । 

शैक्षिक गुणस्तर र सुशासन संवर्द्धनका लागि सघन विद्यालय अनुगमन तथा सुपरिवेक्षणलाई सूचकका आधारमा वैज्ञानिक बनाउँदै नगर कार्यपालिकाका सदस्यले नियमित विद्यालय अनुगमन गरी नगर कार्यपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान राखिएको छ ।