• २२ वैशाख २०८१, शनिबार

बाटो निर्माणमा अनियमितता : सात जनाविरुद्ध मुद्दा दायर

blog

काठमाडौँ, वशौख १३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियारले बिहीबार सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली ३ का वडाध्यक्ष शालिग्राम एडीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता घिमिरेका अनुसार उनीहरूले हुम्लाको सुकिचौरै हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा भएकोभन्दा बढी कामको मूल्याङ्कन गराएको, झुटा बिल तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारको ठहर छ ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली, असिस्टेन्ट सब इन्जिनियर बुढा, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाटबाट दुई लाख २२ हजार बिगो मागदाबी गरेको छ ।

यसैगरी, चंखेली गाउँपालिका वडा नं ३ का अध्यक्ष शालिग्राम ऐडीले निर्माण सम्पन्न नभएको बाटोलाई भयो भनी सिफारिस गरी सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याएको भन्दै अख्तियारले सजायको मात्रै माग गरेको छ ।