विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १३ गते । नेपाल–भारत पूर्वी सीमामा आवतजावत बन्द गरिएको छ । नेपालसँग सीमा जोडिएको भारतमा निर्वाचनलाई लक्षित गरेर पूर्वी नाका सिल गरिएपछि आवतजावत बन्द भएको छ ।
आउँदो शुक्रबार भारतमा लोक सभा निर्वाचनको दोस्रो चरणको मतदान हुने भएपछि ७२ घण्टा सीमा सिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभएको छ । नेपालको झापासँग सीमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किसनगन्ज जिल्लामा एकै दिन मतदान रहेकाले भारतको आग्रह र अनुरोधमा सीमानाका सिल गरिएको हो ।
विगतदेखि नै निर्वाचनमा सीमा बन्द हुँदै आएको थियो । दुवै देशका सुरक्षाकर्मीले नाकामा निगरानी गर्ने गरेका छन् । झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगन्जलगायतका नाका बन्द भएका छन् । मङ्गलबार साँझदेखि बन्द भएको नाका निर्वाचन सकिएपछि खुल्ने छ ।
अत्यावश्यक कामबाहेक सीमामा कोही पनि आवतजावत गर्न नपाउने व्यवस्था गरिएको छ । अत्यावश्यक काम परेमा सीमामा रहेका सुरक्षाकर्मीसँग समन्वय गरेर आउजाउ गर्ने व्यवस्था मिलाइएको छ ।