• २४ वैशाख २०८१, सोमबार

जलस्राेतको महत्त्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक : मन्त्री बस्नेत

blog

उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख १२ गते । चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । बुधबारबाट काठमाडौंमा तीन दिने हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गर्नुभयो ।

हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्‍याली भएको छ । र्‍यालीमा तीन सयभन्दा बढी विद्युतीय सवारीसाधनहरु रहेका छन् । स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा आएर र्‍याली सम्पन्न हुने र एक्स्पोका अन्य कार्यक्रमहरु सुरु हुने आयोजक स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) ले जनाएको छ ।

एक्स्पोको उद्घाटन गर्नुहुँदै उर्जामन्त्री बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको जलस्राेतको महत्त्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी सबैलाई थाहा छ, नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ । नेपालको जलश्रोत जुन प्रकृतिको छ, यसको महत्त्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र विस्तारका लागि काम गर्नेछौँ ।’’

कार्यक्रममा बोल्नुहुँदै स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताउनुभयो । उहाँले विद्युतीय सवारीसाधनहरुको र्‍याली नेपालमै धेरै विद्युत खपत गरौँ भन्ने सन्देश दिन गरिएको बताउनु भयो । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले आजदेखि हिमालयन हाइड्रो एक्स्पो गर्दैछौँ । नेपाल सरकारले पनि इन्भेष्टमेण्ट समिट गर्दैछ । त्यसको सफलताका लागि हामीले उद्देश्यका लागि गरेका छौँ । इभी र्‍याली हाम्रो विद्युत् हामीले नै खपत गरौँ भन्ने उद्देश्यले गरेका हौँ । नेपालमा थुप्र्रै बिजुली खपत गर्नुपर्नेछ । नेपाल सरकारले त झनै २०३५ सम्म १३ हजार मेगावाट बिजुली खपत गर्ने योजना लिएर अघि बढिरहेको छ । त्यसले गर्दा त्यही उद्देश्यलाई पूरा गर्न इभीलाई प्रोत्साहन गर्नका लागि र्‍याली गरेका हौँ । इलेक्ट्रोनिक उद्योगलाई सहयोग पुग्नेछ भन्ने उद्देश्यबाट यो समिट गर्न लागेका हौँ ।’’

अध्यक्ष कार्कीले जलविद्युत् र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भए पनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्‍याउने विश्वास रहेको बताउनुभयो ।

सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार पाँच सयको विद्युत् उत्पादनको योजना सफल बनाउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बतउनुभयो । अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताउनुभयो ।