• २२ वैशाख २०८१, शनिबार

मानव सेवामा सबैले सहकार्य गरौँ : मन्त्री चौधरी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी ।

काठमाडौँ, वैशाख ११ गते। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मानव सेवा नै सर्वोत्तम सेवा भएको बताउनुभएको छ। 

नेपाल निजामती कर्मचारी संगठन अर्थ विभागीय कार्य समितिले मंगलबार नागार्जुन १ काठमाडौँ स्थित मानव सेवा आश्रममा आयोजना सहयोग हस्तान्तरण तथा खाना खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो। 

कोही नभएकाको अभिभावक बनेर आश्रमले ठुलो मानवीय योगदान दिएको भन्दै उहाँले भन्नुभयो, ‘मानव सेवा आश्रममा आश्रित रहनुभएका हाम्रा आदरणीय दाजुभाइ दिदीबहिनी आमाबुवा सबैमा कृतज्ञता व्यक्त गर्दछु। आश्रमका संस्थापक रामजी अधिकारीको संकल्पले यति धेरै व्यक्तिलाई सेवा दिने, आश्रय दिने, खुवाउने, संरक्षण दिने काम गर्नुभएको छ भने, तपाईं हामी सबैले सोचौँ। हामीले पनि आफ्नो तर्फबाट गर्न सक्ने सेवामा योगदान गरौँ।’

एक जनाको संकल्पले कति धेरै बेसहारा, पीडित व्यक्तिले सेवा पाइरहेको भन्दै मन्त्री चौधरीले एक दिनको खाना तथा अन्य सामग्री सहयोग गर्ने नेपाल निजामती कर्मचारी संगठनलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय सेवाका निम्ति सडक मानव मुक्त अभियानको थालनी गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सडक मानव मुक्त गर्नुपर्छ भन्ने कुरा उहाँले ल्याउनुभएको थियो। यो चिजमा पनि यहाँहरूले पनि धेरै सहकार्य गर्ने गरी यो जुन काम गर्नुभएको छ। त्यसका लागि यसका संस्थापक सहित सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’’



आफू अहिले सरकारको संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यक समुदाय हेर्ने मन्त्रालयको जिम्मेवारीको रहेको भन्दै उहाँले त्यस्ता व्यक्तित्वहरूको पीडामा मलहम लगाउँदै उनीहरूको संरक्षण तथा उनीहरूको अधिकार सम्पन्न गराउने कार्यमा लागिरहेको बताउनुभयो। 

मन्त्रालय अन्तर्गत सरकारले विभिन्न ऐन, कानून पनि ल्याएको भन्दै उहाँले विभेदमा परेका अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा यौनिक अल्पसंख्यकहरूलाई अधिकार सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। 

मुलुक सात प्रदेशको संरचना व्यवस्थामा रहेको भन्दै उहाँले यस्ता सेवाहरूलाई सबै क्षेत्रमा पुर्याउनु आवश्यक रहेको र त्यसमा राज्य सँगसँगै रहेको बताउनुभयो। 

कार्यक्रममा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उत्तम थापाले आश्रमले स्थापनादेखि हालसम्म १० हजार व्यक्तिको उद्धार गरेर करिब ७ हजारको परिवारमा पुनर्मिलन गराउन सफल भएको बताउनुभयो।