• २३ वैशाख २०८१, आइतबार

महालक्ष्मी दोभान–चखेल–मातातीर्थ सडक वैशाखभर बन्द

blog

कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चरखेल–मातातीर्थ सडकअन्तर्गत मकवानपुरतर्फ निर्माणाधीन सडक । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख १० गते ।
हेटौँडा–काठमाडौँ छोटी दूरीको मार्गहरुमध्येको एक हेटौँडा–कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चरखेल–मातातीर्थ सडक वैशाख महिनाभरका लागि बन्द हुने भएको छ ।

कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चरखेल–मातातीर्थ सडकको मकवानपुर र काठमाडौं दुवैतर्फ स्तरोन्नतिका क्रममा सोमबारबाट वैशाख ३१ गतेसम्म बन्द गरिने भएको हो ।

महालक्ष्मी दोभान–घट्टेखोला–चखेल मातातीर्थ सडकअन्तर्गत मकैवारीदेखि मातातीर्थसम्म सडक खण्डमा वेस बिछ्याउने र कालोपत्रेलगायत सडक निर्माणको काम भइरहेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ को कार्यालयले जनाएको छ ।

वडा नं. ५ का वडाध्यक्ष दुतराज तितुङले उक्त सडक खण्डमा कालोपत्रेलगायत सडक स्तरोन्नतिको कार्य भइरहेकोले आजबाट वैशाख ३१ गतेसम्मका लागि सडक बन्द गरिएको जानकारी दिनुभयो ।

यस्तै, काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. ८ को कार्यालयले सतुङ्गल–मातातीर्थ–देउराली–कुलेखानी सडक बन्द गरिएको जनाएको छ ।

पूर्वाधार विकास कार्यालय, ललितपुरमार्फत निर्माणाधीन सतुङ्गल–मातातीर्थ–देउराली–कुलेखानी सडकको निर्माण कार्य गर्न उक्त सडकमा सवारीको चाप अत्याधिक भई निर्माण कार्य गर्न असहज भएको भन्दै पूर्वाधार विकास कार्यालयले पूर्णरुपमा बन्द गराई सहजीहरण गर्न आग्रह गरे अनुसार वैशाख ३० गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष प्रल्हाद रिजालले सूचना जारी गर्दै बताउनुभएको छ ।

यसअघि निर्माणाधीन महालक्ष्मी दोभान–घट्टेखोला–चखेल मातातीर्थ सडक नयाँ वर्षको अवसरमा खुला गरिएको थियो । ईन्द्रसरोवरको मार्खु कुलेखानी क्षेत्र पर्यटकिय गन्तव्यको रुपमा विकास भइरहेको भन्दै नयाँ वर्षको अवसरमा पर्यटकलाई आवतजावतमा सहजताका लागि खुला गरिएको हो ।

मार्खु पर्यटकहरुको रोजाईमा परेको, पर्यटकको बढ्दो चाप र कुलेखनी मार्खुका होटेल व्यवसायीहरुलाई पर्न गएको समस्यालाई दृष्टिगत गर्दै चखेलबाट कुलेखानी मार्खु जान आउन ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ को कार्यालयले सडक खुला गरेको थियो ।