• २१ वैशाख २०८१, शुक्रबार

बागलुङका चार विद्यालय गाभिदा ३१ विद्यालय घटुवा

blog

फाइल तस्बिर

बलेवा (बागलुङ), वैशाख ८ गते । नयाँ शैक्षिकसत्रको सुरुआतसँगै सदरमुकामका संस्थागत विद्यालयले उच्चप्राथमिकताका साथ विद्यार्थी भर्ना अभियान चलाइरहेका छन् । अभिभावकको घर पुग्नेदेखि सामुदायिक विद्यालयका विद्यार्थी प्रेरित गर्ने अभियान चलिरहेको छ । सदरमुकामकै केही सामुदायिक विद्यालयमा पनि यो अभियान चलिरहेको छ । 

तर सबै सामुदायिकमा त्यो जाँगर देखिँदैन । घट्दो विद्यार्थी सङ्ख्या, संस्थागत विद्यालयमै अभिभावकको जोडबल र फितलो व्यवस्थापनले दुब्लाउँदै गएका सामुदायिक विद्यालयको व्यवस्थापनमा चुनौती छ । नयाँ शैक्षिकसत्रको सुरुआतसँगै बागलुङ नगरपालिकाले विद्यालय स्थगन र समायोजन गर्यो । यसले सामुदायिक विद्यालयमा सबै पक्षको चासो र मेहनत कम छ भन्ने संकेत गर्छ ।

नगरपालिकाले नगरभित्रका विद्यार्थी सङ्ख्या न्यून भएका चार विद्यालय स्थगन र ३१ विद्यालय समायोजन गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिका बैठकले केही विद्यालय स्थगन गर्ने र केही विद्यालय घटुवा गर्ने निर्णय गरेको हो । बैठकले आधारभूत तहका चार विद्यालय नजिकका विद्यालयमा पूर्णरूपमा गाभ्ने निर्णय गरेको छ । वडा नम्बर ९ का रानीभुमे र सरस्वती सामुदायिक प्रावि, वडा नम्बर १२ को कालीगण्डकी र वडा नम्बर १३ को लक्ष्मीनारायण संस्कृत पाठशाला स्थगन गर्ने निर्णय भएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै आठ वटा विद्यालयमा बालविकास केन्द्र मात्रै सञ्चालन गर्ने, ११ विद्यालयमा बालविकास केन्द्र र कक्षा १ मात्रै सञ्चालन गर्ने, एउटा विद्यालयमा कक्षा १ मात्रै, पाँच विद्यालयमा कक्षा १ देखि ३ सम्म सञ्चालन गर्ने, दुई विद्यालयमा कक्षा ४ र चार विद्यालयमा कक्षा ६ सम्म कक्षा सञ्चालन गर्ने गरी ३१ विद्यालयमा तह मिलान गरिएको हो । बागलुङ बजारको मुटुमा रहेको बालमन्दिर आधारभूत विद्यालयदेखि भौगोलिक हिसाबले दूरदराजमा पर्ने ओख्ले प्राविसम्मका विद्यालय घटुवामा परेका छन् । 

नगरको विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यविधिअनुसार विद्यार्थी सङ्ख्या कम भएका, शिक्षक दरबन्दी नभएका विद्यालय नजिकका विद्यालयमा समायोजन गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख श्रेष्ठले विद्यालय सुधारको प्रयासलाई अगाडि बढाइएको बताउनुभयो । सामुदायिक विद्यालयमा नयाँ प्रविधिको प्रयोगसँगै अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । शैक्षिक सुधारका लागि नगरपालिकाले विद्यालयको अवस्था बुझेर प्रतिवेदन तयार गर्न समिति बनाएको थियो । 

नगर शिक्षा समिति, अनुगमन तथा सिफारिस समिति र नगरसभा तथा कार्यपालिकामा भएका छलफलका आधारमा विद्यालय स्थगन तथा घटुवाको निर्णयमा पुगेको नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ । नगरको यो निर्णयबाट प्रभावित हुने शिक्षक विद्यार्थीको व्यवस्थापनका लागि उपयुक्त कदम चालिने उहाँले बताउनुभयो । कक्षा १ देखि ३ सम्म २१ जना, ४ देखि ५ सम्म १४ जना, ६ देखि ८ सम्म २७ जना, ९ देखि १० सम्म ३० जना र ११ देखि १२ सम्म ३० जना विद्यार्थी हुनुपर्ने अनिवार्य मापदण्डलाई प्रमुख आधार बनाएर विद्यालय स्थगन तथा समायोजन भएका हुन् । 

घटुवा हुने विद्यालयमा वडा नम्बर २ को बालमन्दिर आवासीय विद्यालय, वडा नम्बर ३ को वसुन्धरा प्रावि, वडा नम्बर ४ का देउराली प्रावि र उपल्लाचौर आवासीय विद्यालय, वडा नम्बर ५ का मालिका आवि र कृष्ण आवासीय विद्यालय , वडा नम्बर ६ का सदाशिवा प्रावि, आधारभूत प्रावि र भगवती प्रावि रहेका छन् । 

त्यस्तै वडा नम्बर ७ का जनचेतना प्रावि र ज्योतिपुञ्ज प्रावि, वडा नम्बर ८ का भैण्डाँडा आवि र भगवती प्रावि, वडा नम्बर ९ का सरस्वती प्रावि, जनसेवा प्रावि, तित्याङ प्रावि, इन्द्र प्रावि, कृष्ण प्रावि, वडा नम्बर १० का सरस्वती प्रावि र बराहा प्रावि, वडा नम्बर ११ का सरस्वती प्रावि, ओख्ले प्रावि, सिद्ध प्रावि र सहिद स्मृति प्रावि, वडा नम्बर १२ का सरस्वती प्रावि, बुद्धिदात्री प्रावि, भैरव प्रावि र जगन्नाथ प्रावि, वडा नम्बर १३ का दुर्गा भवानी प्रावि, सरस्वती प्रावि र वडा नम्बर १४ को आधारभूत मावि रहेका छन् । 

स्थगन भएका विद्यालय विद्यार्थी सङ्ख्या पुगेका बेला जुनसुकै समयमा सञ्चालन गर्न सकिने गरी भौतिक संरचना संरक्षणको जिम्मेवारी दिने निर्णयसमेत बैठकले गरेको छ । सम्बन्धित वडाका वडाअध्यक्ष, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापक रहेको समितिले खाली भएका संरचनाको व्यवस्थापन सहजीकरण गर्ने छन् । पुस्तकालय, सिकाइ केन्द्र, प्रशिक्षण केन्द्र तथा सामुदायिक भवनका रुपमा प्रयोग गर्न भवनको उपयोग गरिने नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । स्थगन र घटुवा हुँदा मौजुदा शिक्षक बच्ने भएकाले सोही वडाको अर्को विद्यालयमा व्यवस्थापन गर्ने निर्णयसमेत बैठकले गरेको छ । रासस