• २१ वैशाख २०८१, शुक्रबार

कैलालीको सात नदीमा तटबन्ध निर्माण सुरु

blog

तटबन्ध । फाइल तस्बिर

गोदावरी (कैलाली), वैशाख ८ गते । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी, गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगङ्गा दुई सय ३०, शिवगङ्गा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटर तटबन्धका लागि तीन करोडको ठेक्का सम्झौता भएको छ । 

बर्दगोरिगा गाउँपालिकाको काँडा नदीमा तटबन्ध निर्माणका लागि पाँच करोडको ठेक्का सम्झौता भई धमाधम काम भइरहेको डिभिजन प्रमुख अमरबहादुर पालले बताउनुभयो । कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि नौ करोडको ठेक्का सम्झौता भई काम सुरु भएको छ । घोडाघोडी नगरपालिका-१० लठैया, ११ मग्रहवा र १२ को अम्बारीमा एक किलो १६ मिटर तटबन्ध निर्माणका काम सुरु भएको डिभिजन प्रमुख पालले बताउनुभयो ।

यसैगरी मोहन्याल गाउँपालिका-४ खिमडीस्थित ठूलीगाडमा सात सय ५६ मिटर तटबन्ध निर्माणका लागि चार करोडमा ठेक्का सम्झौता भएको छ । डिभिजन कार्यालयका प्रमुख पालले नौ महिनाभित्र तटबन्धको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको बताउनुभयो । रासस