• १० मंसिर २०८१, सोमबार

पिरतीको रङ (कविता)

blog

सोहोरेर सारा फूलका रङहरू

झारेर सारा ताराका आभाहरू

र ओरालेर आकाशबाट इन्द्रेणी

तिम्रै मुहारमा राखिदिउँ कि !

अनि भनुँ प्रिय,

हेर तिम्रो तस्बीर मेरो आँखामा

जहाँ तिम्रा सपना 

र मेरो बिपना एकसाथ

दोहरी पिङ खेलिरहेछन् निस्फिक्री 

जहाँ तिम्रो बैँसालु चाहना र

मेरो प्रेमिल भावना एकसाथ

छलाङ मारिरहेछन् निर्धक्क ।

यतिबेला

गुराँसे वनमा मुस्काएको लालिगुराँसझैँ 

राताम्य भएका छन् तिम्रो गाला पनि

बिहानी हिमाल हाँसेजस्तै

प्रफुल्ल उध्रेका छन् तिम्रा ओंठ पनि

साँच्चै भन्नुपर्दा

मलाई भुतुक्क पार्ने 

तिम्रा ती चञ्चल नयन 

र तिम्रा ती मधुर मुस्कान हुन्

जसलाई मैले भन्ने गरेको छु

तिम्रो र मेरो 

पिरतीको रङ त्यही हो

पिरतीको आभा त्यही हो ।