• १० मंसिर २०८१, सोमबार

प्रवासमा नेपाली साहित्य

blog

साहित्यिक चेतको व्यक्ति जहाँ रहे पनि नेपाली मनले नेपाल र नेपालीको विषय राष्ट्रियता र संस्कृतिको विषयमा सोच्छ, लेख्न थाल्छ र बोल्न थाल्छ । अहिले लाखौँ नेपाली नेपालबाहिर फैलिएर नेपाली भाषा, संस्कृति र साहित्यमार्फत नेपाली मौलिकता विस्तार गरिरहेका छन् । कर्मभूमि बदलिए पनि मन र राष्ट्रियता बदलिँदैन । नेपाली डायस्पोराबाट सामान्य वा डायस्पोरिक चेतनासहितको साहित्य विस्तार हुँदै आएको  छ । त्यसैले प्रवासी कला साहित्यलाई उपयोग गर्ने विषयले राष्ट्रिय कार्यसूची पाएको छ । प्रवासमा नेपालीको जनसङ्ख्या वृद्धिसँगै साहित्यिक गतिविधि व्यापक रूपमा बढेका छन् । यससम्बन्धी संस्थाहरू जन्मने क्रम पनि अकासिएको छ । युरोपदेखि अमेरिकासम्म, एसियादेखि अफ्रिकासम्म नेपाली सर्जकहरू निरन्तर क्रियाशील छन् । उल्लिखित क्षेत्रमा नेपाली साहित्यिक संस्थाहरू खुल्ने क्रम बढिरहेको छ । तिनले निरन्तर साहित्यिक गतिविधि पनि गर्दै आएका छन् । 

विदेशी भूमिमा रहेर पनि प्रवासी चेतनाका कैयन् सिर्जना प्रकाशन भएका छन् । नेपाली डायस्पोराका सर्जकहरूले नेपाली भावभूमि र पात्रहरूको उपयोग गर्छन् । पात्रहरू पनि प्रेम, पीडा, सङ्घर्ष र सहयोगमा नेपाली भावनामा लफ्रक्क भिजेका छन् । डायस्पोराको साहित्यले जन्मभूमि र कर्मभूमिबिचको संवाद गराउँछ । भूगोल र भावनाबिच संवाद गराउँछ । अन्तरसंस्कृतिको अस्तित्वपूर्ण अन्तर्घुलन खोज्छ र ‘वसुदैव कुटुम्बकम्’ को बौश्विक मानवमूल्य स्थापनामा जोड दिन्छ । 

मानिसको अवसर र अस्तित्वको खोजीको यात्रा सुरु हुन्छ । डायस्पोरिक वा प्रवासी साहित्य त्यसैको उपज हो । मातृभूमिबाट टाढा भए तापनि साहित्य साधना सिर्जनामा प्रवासी नेपालीको उत्तिकै योगदान छ । नेपाली साहित्यको आयाम निकै फराकिलो भएको छ । आज नेपालबाहिरको नेपाली साहित्य फस्टाउने र विस्तारित हुने क्रममा छ ।

नेपाली प्रवासी साहित्यको विकासक्रमतर्फ विचार गर्दा विभिन्न मुलुकमा लाहुरे हुने क्रमसँगै नेपाली भाका, भाषा र साहित्यमार्फत नेपाली पहिचान विस्तार हुन थाल्यो । ‘बर्मा गए कर्म सँगै’ भन्ने नेपाली कहावतले बिदेसिएका नेपालीको दुःखपीडालाई श्रुतिमै सँगाल्दै आएको देखिन्छ । डायस्पोरा साहित्यको लिखित इतिहास भने रणशुर लिम्बूको ‘बर्माको सम्झना’ (संस्मरण आलेख) बाट सुरु हुन्छ । 

त्यसपछि मास्टर मित्रसेन बरालको गीत भजन, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ र ‘ब्रह्मपुत्रको छेउछाउ’, रूपनारायण सिंहको ‘भ्रमर’ (उपन्यास), इन्द्रबहादुर राईको ‘जयामाया आफू मात्र लिखापानी आइपुगी’ (कथा), लैनसिंह बाङ्देलको ‘मुलुक बाहिर’, बिक्रमवीर थापाको ‘विगतको परिवेशभित्र’, गोविन्दराज भट्टराईको ‘मुग्लान’, कृष्ण धरावासीको ‘शरणार्थी’ लगायत कृतिले विदेशमा नेपालीले भोगे सहेका पीडाका अनुभूतिहरू, त्यसबाट खोजिएको मुक्तिको आन्तरिक वा औपचारिक सङ्घर्षका विम्बहरू उतारिएका छन् । यसरी प्रवासी जागरणले साहित्यका बहुबिधामा प्रवेश र निरन्तरता पाएको छ । सन् १९६० मा बेलायतमा स्थापित यती नेपाली एसोसिएसन स्थापनापछि संस्थागत रूपमा साहित्यिक अभियानमा क्रियाशील हुन थाल्यो । सन् १९९१ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापनापछि विभिन्न महादेश, देश, प्रान्तमा यसको सञ्जाल विकास भएपछि डायस्पोरामा रहेका नेपाली साहित्य, सङ्गीत, कला र संस्कृतिको विकास एवं आपसी सम्बन्ध संवर्धन, प्रवर्धन र प्रोत्साहनको अभियानले व्यापकता पाएको छ । यसले सर्जकहरूको साझा मञ्चका रूपमा काम गरिरहेको छ । 

विभिन्न मुलुकमा साहित्य संस्थाहरू खुल्ने र क्रियाशील हुने क्रम पनि निरन्तर उकालो लाग्दो छ । भौतिक उपस्थितिलाई डिजिटल प्रकाशन र भर्चुअल अन्तर्वि्रmयाले उछिन्दै गएपछि साहित्य, सङ्गीत, कला र संस्कृति विस्तारका अतिरिक्त अवसरहरू आक्रामक रूपमा विस्तारित एवं परिचालित छन् । यी सङ्घ संस्था, मञ्च, प्रक्रियाको सक्रियताले नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने, मौलिकता र पहिचान विस्तार गर्ने कार्य हुन थालेका छन् ।

पछिल्लो समय नेपालीको भ्रमणप्रियता, सिप र शिक्षामा भएको विकास र अध्ययन, अनुसन्धान एवं अवसरको खोजी गर्ने प्रवृत्तिले नियात्रा, खोज, निबन्ध, गजल, कविता र आख्यानहरू प्रकाशन हुँदै आएका छन् । ती कतिपय डायस्पोरिक संस्कृति र कतिपय सामान्य भावभूमिमा रहेका छन् । अधिकांश जस्तो नेपाली डायस्पोरा सर्जकहरू सामान्य साहित्यका सर्जक हुन् । साहित्य साँचो अर्थमा प्रचारका लागि नामका लागि मात्रै लेखिँदैन, यदि त्यसो हो भने जे जस्तो किसिमले प्रचारमा आइन्छ त्यसरी नै लेख्दा हुन्छ । 

नेपालको राजनीति व्यङ्ग्य तथा नेपालको गतिविधिलाई बढी समेटेरभन्दा पनि हामी जुन धरातलमा उभिएका छौँ त्यही धरातलका बारेमा यहाँका राम्रा गतिविधि र नेपालसँग दाँज्न मिल्नसम्म मिल्ने प्रवृत्तिका गतिविधिलाई समेटेर साहित्यिक सिर्जना गर्न सकेमा यो उपलब्धिमूलक रहन सक्दछ । त्यस्तै प्रकारले डायस्पोरामा रहेका साहित्यिक गतिविधिले पनि सम्बन्धित ठाउँका क्रियाकलापलाई विषयवस्तु बनाएर साहित्य सिर्जना गर्न सकेमा डायस्पोराका साहित्यिक संस्थाको उपलब्धिता आफैँमा रहन्छ । त्योभन्दा बढी नेपाली साहित्यको पर्खालमा एउटा इँटा थप्ने कामको सुरुवात यहाँबाट अवश्य हुन सक्दछ । डायस्पोरामा बसेर साहित्य सिर्जना गर्ने अर्थात् प्रवासमा रहेर आफ्नो रगत र पसिना विदेशी माटोमा सिँचिँदै गर्दा उनीहरूमा आएका उद्वेग उमङ्ग भावना तरङ्गलाई समेटेर नेपाली भाषा तथा साहित्यको विकास र विस्तार गर्ने हेतुले स्थापना भएको विविध संस्थाले नेपाली भाषा तथा साहित्यको उत्थानका लागि मरमग्दुर प्रयास गरेका छन् ।

विभिन्न विधाका स्रष्टाहरू निम्त्याएर भानु जयन्ती, मोती जयन्ती तथा लक्ष्मी जयन्ती जस्ता नेपाली साहित्यका महारथीहरूलाई सम्झेका मात्र होइन, उनीहरूको पहलले प्रवासमा रहेका भाषा तथा साहित्यप्रेमीलाई ठुलो प्रेरणा तथा उत्साह थप्नु स्वाभाविकै हो । 

संस्थागत अभियानबाट साहित्यप्रति चासो नराख्ने मानिसलाई समेत आकर्षित गरेको उनीहरूमा साहित्यप्रतिको चाख र उत्प्रेरणा बढेको हरेक कार्यक्रममा उपस्थित व्यक्तिको चापले स्पष्ट सङ्केत गर्दछ । डायस्पोरामा रहेका स्थानीय साहित्य संस्थामा साहित्यिक रचना सुन्ने र सुनाउने शृङ्खलाको कार्यक्रमले पनि साहित्य अनुरागीलाई आफ्ना भावना व्यक्त गर्ने स्थल बनेको छ । साहित्यिक कार्यक्रममा सुनिएका मर्मस्पर्शी, वेदना, माया, प्रेम, तरङ्ग, जीवनचर्या, देशको अवस्था र बिदेसिनु पर्दाका पीडा जस्ता कविताले दर्शकको मन नछोएको होइन । कम्तीमा यसैको माध्यमबाट आफ्नो देश, भाषा र साहित्यलाई सम्झने कार्यसमेत प्रवासबाट भइरहेको छ ।  अझ यस्ता वाचन कार्यक्रमको पृथक् सञ्चालन शैलीले झन् श्रोता तथा वाचकसमेतलाई कार्यक्रमको थप रोचकता थपेको हुन्छ । कतिपय राष्ट्रिय स्रष्टालाई नेपाल प्रज्ञा–प्रतिष्ठानले नसम्झिरहेको अवस्थामा पनि डायस्पोरामा यी संस्थाले सम्झेर प्रसिद्ध साहित्यकारको जन्मजयन्ती मनाउने परम्पराको थालनीसमेत भएको छ । यसरी देशबाहिर बसेर भाषा तथा साहित्यमा लागेर भाषा तथा साहित्यको उत्थानमा अनवरत लाग्नेलाई उत्साह र हौसला थप्ने कसले ? पक्का पनि भाषा तथा साहित्यको जगेर्ना गर्ने मूल स्थल भनेको नेपाल प्रज्ञा–प्रतिष्ठान हो ।

यी र यस्ता गतिविधि गर्दै आएका डायस्पोरामा रहेका साहित्यिक संस्थालाई कम्तीमा प्रतिष्ठानद्वारा गरिने कार्यक्रममा सहभागी गराउने उद्देश्य र लक्ष्यसहित कार्यक्रम तर्जुमा गरेर सधैँ एउटा मालामा उन्न सकेमा डायस्पोराको साहित्यिक यात्राले मात्र होइन, नेपाली साहित्यिक पाटोले एक उपलब्धिमूलक उज्ज्वल यात्रा तय गर्ने थियो । नेपालको साहित्यिक यात्रा केही हदसम्म देशको समग्र राजनीतिले प्रत्यक्ष या अप्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा यस्तो प्रभावबाट डायस्पोराका साहित्यकारहरू टाढै रहन सक्नु पर्दछ । उनीहरूले जुँगाको लडाइँ लडिरहनुभन्दा नेपाली साहित्यको विकास तथा विस्तारमा समय खर्चनु वेश हुन्छ । 

हिजो संस्कृतबाट सुरु भएको नेपाली भाषा साहित्यले नेपाली, अङ्ग्रेजी तथा अन्य मातृ भाषामा पनि आउन थालेपछि भाषा र साहित्य अझ सम्पन्न बन्दै गएको सन्दर्भमा अब हामीले नेपाली भाषा साहित्यलाई अझ फराकिलो बनाउनका लागि एक कदम अगाडि अगाडि बढ्नु आवश्यक छ । नेपाली भाषा साहित्यलाई विश्वमा चिनाउनका लागि पनि हामीले केही न केही गर्नैपर्ने आवश्यकता छ । 

दक्षिण एसियाका भाषा र संस्कृतिमा विद्यावारिधि डा. रोड्रिक चाल्मर्सले भन्नुभए झैँ जहाँबाट जसरी सुरु भए पनि, जहाँ रोपिए पनि ‘हामी नेपाली’ भन्ने भावना नेपालीभाषीबिच झाङ्गिइसकेको छ । यो भावनालाई अझ विस्तृत रूपमा वर्ग, जाति र लिङ्गमा भेदभावरहित तरिकाले जरा पसाउने काम चाहिँ इतिहासबाट पाठ सिक्दै नयाँ पुस्ताले गर्नुपर्ने हो कि ? अहिले प्रवासमा रहेका साहित्यकारले प्रकाशन, वितरण र पाठकको समस्याका अतिरिक्त विदेशमा अति व्यस्तताका साथ बिदेसिएका नेपालीले नेपाली भाषा साहित्यलाई संसारभर पु¥याएका छन् ।  विश्लेषकहरू भन्छन्, “नेपाली डायस्पोरिक लेखनमा एक किसिमको सृजनात्मक विष्फोट भएको छ र नेपाली साहित्यलाई थप समृद्ध बनाउन डायस्पोराले ठुलो भूमिका निर्वाह गरेको छ ।” प्रवासमा नेपाली साहित्यको विकास र प्रवर्धनका लागि धेरै साहित्यिक संस्था सक्रिय छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जस्ता संस्थाले विदेशमा पनि नेपाली साहित्यलाई मलजल गरिरहेका छन् । गैरआवासीय नेपाली सङ्घ अन्तर्गत भाषा साहित्य संस्कृति संवर्धन समितिले पनि साहित्यका क्षेत्रमा काम गरिरहेको छ । अधिकांश मुलुकमा स्थानीय साहित्यिक संस्था गठन गरेर थोरै काम र थकानबाट विश्राम लिन साहित्यिक रचनात्मक क्रियाकलाप बेलाबखत सञ्चालन भइरहेका हुन्छन् । 

यद्यपि प्रवासको साहित्यसामु थुप्रै चुनौती पनि छन् । एउटा प्रमुख चुनौती भनेको दोस्रो पुस्ताले नेपाली भाषा, संस्कृति र साहित्य भुल्दै जानु हो । उनीहरूलाई नेपाली भाषा, संस्कृतितर्फ जोड्न जति काम हुनुपर्ने हो, त्यति भइरहेको छैन । डायस्पोराका साहित्यिक संस्थालाई समेटेर अगाडि बढ्न सकेमा सुनमा सुगन्ध हुन्छ । यस्ता कार्यक्रमले निरन्तरता पाऊन् । 

नेपालीभाषी विश्वको जुनसुकै कुनामा रहे पनि वा नागरिकता लिए पनि उनीहरू नेपाली भाषा र साहित्यसँग टाढिन सक्दैनन् । विदेशको व्यस्तता र सीमितताबिच उनीहरूले जति कलम चलाएका छन्, त्यसले नेपाली साहित्यको विकासमा टेवा नै पुगेको छ । यो क्रम निरन्तर बढ्ने छ । 

 

Author

दधिराम खतिवडा