• २१ वैशाख २०८१, शुक्रबार

वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख ७ गते। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताउनुभएको छ।

मुलुकलाई सुरक्षित भविष्यतर्फ लग्ने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको उहाँले स्पष्ट पार्नुभयो। 

आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहार्याउनु भयो। 

शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लाागि लालायित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोहोर्याउने संकल्पका साथ नयाँ सत्तासमीकरण बनाएको उल्लेख गर्नुभयो। उहाँले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आइपरे एमालेले काँग्रेससँग मिलेर काम गर्ने मान्यता राखेको बताउनुभयो।

महासचिव पोखरेलले भन्नुभयो, ‘‘हामी सत्ताका लागि लालायित छैनौं। पहिला पनि हामी सत्ता हाम्रो लागि प्राथमिकता होइन। यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौं। हाम्रो चिन्ता मुलुकप्रति हो, जनताप्रति हो। राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौं। काँग्रेससँग त हामीले स्वभाविक रुपले जतिबेला मुलुकमा लोकतन्त्रमाथि संकट आउँछ, जतिबेला परिवर्तनमाथि संकट आउँछ। त्यतिबेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौं।’’

महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्ता समीकरण बन्दा पनि महत्त्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताउनुभयो।