• १९ वैशाख २०८१, बुधबार

एकीकृत घुम्ती शिविरमा एक हजार बढीलाई सेवा

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ६ गते । गुल्मीको काली गण्डकी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजारभन्दा बढीले सेवा लिएका छन् । यस गाउँपालिकाको वडा-७ भुर्तुङ्गस्थित दुर्गा भवन माध्यमिक विद्यालयमा एक दिन मात्र सञ्चालन गरिएको घुम्ती शिविरमा एक हजार ४४ जनाले सेवा लिएका हुन् ।

जनतालाई अत्यावश्यक सेवा प्रवाहमा सहज होस् भन्ने उद्देश्यसहित विभिन्न ११ प्रकारका सेवा एकीकृत घुम्ती शिविर मार्फत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । उहाँले सेवा लिनका लागि नागरिकहरू लामो दुरी हिँडेर गाउँपालिकाको केन्द्र पुर्तिघाट आउनुपर्ने भएको हुँदा सहजताका लागि यो शिविर सञ्चालन गरिएको बताउनुभयो ।

एक दिन मात्र सञ्चालन भएको शिविरमा १७३ जनाको सामान्य स्वास्थ्य चेक जाँच तथा औषधी वितरण गरिएको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत पाँच जना गर्भवती तथा सुत्केरी महिलासँग उपाध्यक्ष भेटघाट गर्नुभएको छ । २५१ जनालाई तरकारी मिनी कीट वितरण तथा कृषि समूह नवीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।

२०१ जनालाई परजीवी नियन्त्रण सम्बन्धी औषधि वितरण गरिएको छ । साथै पशु बन्ध्याकरण समेत गरिएको छ । ८० वर्ष माथिका ४२ जना ज्येष्ठ नागरिकहरूका लागि सहायता सामग्री वितरण अन्तर्गत टर्च लाइट र थर्मस वितरण गरिएको छ । ६० वर्ष उमेर पुगेका ७५ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । तीन जनाको व्यवसाय दर्ता तथा नवीकरण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, नौ जनाको योजना सम्बन्धी कार्य गरिएको छ । १०४ जनाले दन्त उपचार सेवा लिएका छन् । आठ जना गर्भवती महिलाले भिडियो एक्स-रे सेवा लिएका छन् । १७३ जनाले आयुर्वेद सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताउनुभयो ।