• १९ वैशाख २०८१, बुधबार

जयेन्दु बालसुधार गृहमा बालबन्दी कोचाकोच

blog

क्षमता भन्दा धेरै बढी बालबन्दी रहेको बाँकेको जयेन्दु बालसुधार गृह । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख ६ गते । बाँकेको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा ठाउँ अभावले बालबन्दीहरुलाई कोचाकोच हुँदा समस्या भएको छ । बालसुधार गृहको क्षमता भन्दा धेरै बढी बालकहरू रहेकोले कोचाकोचको स्थितिमा बस्न बाध्य रहेको बालसुधार गृह व्यवस्थापनले जनाएको छ । 

जयेन्दु बालसुधार गृहमा हाल २४८ जना कानुनी विवादमा रहेका बालकहरू छन् । सो बालसुधार गृहमा दुईवटा भवन रहेपनि हाल एउटा नयाँ भवनमा मात्रै कानुनी विवादमा रहेका बालकहरूलाई राखिएकोले समस्या भएको बालसुधार गृहका प्रमुख विमला काउचामगरले बताउनुभयो । उहाँले भन्नुभयो, "सो भवनमा सानो ठुलो गरेर ८ कोठा रहेकोमा हाल ५ वटा ठुला हल टाईपका कोठामा बालकहरूलाई राखिएको छ । ती ठुला कोठामा २४ देखि ८० जना सम्मलाई राखिएको छ । स्थान अभावमा एउटा बेडमा दुई जनासम्म सँगै सुत्नु पर्ने अवस्था छ । जसका कारण बाल बन्दीहरूलाई विभिन्न शारीरिक समस्या पनि हुने गरेको छ ।"

जयेन्दु बालसुधार गृहका प्रमुख काउचामगरका अनुसार सुधारगृहमा सबैभन्दा बढी करणी सम्बन्धी मुद्दाको कानुनी विवादमा परेका बालकहरू छन् । सुधारगृहमा करणी मुद्दाका १४३, कर्तव्य ज्यानमा ३९, चोरीका ३६, लागु औषधमा १३ जना, सवारी ज्यानमा ८, कारागार ऐन सम्बन्धी कसुरमा ४, अप्राकृतिक मैथुनमा ३, बालबिज्याईमा १ जना, अभद्र व्यवहारमा १ जना गरी जम्मा २४८ जना छन् । 

प्रेम सम्बन्धमा परेकाहरू बिच सहमतिमा करणी भएपनि पछि परिवारले उजुरी गरिदिने, उमेर नपुगी भागी विवाह गर्ने बालकहरूलाई केटीका अभिभावकले चित्त नबुझाई जबरजस्ती करणीको मुद्दा दिने गरेको बालकहरूले गुनासो गरेको अधिवक्ता वसन्त गौतमले बताउनुभयो । उहाँले २५ प्रतिशत जति वास्तविक घटना भएपनि केटाकेटी बिच जातीधर्म, धनी गरिवका कारण अभिभावकले प्रेम सम्बन्ध नस्विकार्दा जबरजस्ती करणीका मुद्दामा उजुरी दिने गरेको पाइएको बताउनुभयो । 

बालबालिकामा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी गराउन र अभिभावले बेलैमा आफ्ना बालबालिकालाई उचित शिक्षा र हेरचाह गर्न सकेमा त्यस्ता घटनाहरूमा कमी आउने जनाइएको छ ।