काभ्रेपलाञ्चोक, वैशाख ५ गते । बनेपा नगरपालिका-१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यावसायिक स्ट्रबेरी (भूईकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ । कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टले भने स्वरोजगार बन्ने जुक्ति निकाले स्ट्रबेरी खेती सुरु गर्नुभएको थियो ।
उहाँ उक्त काममा कत्तिपनि विचलित नभई निरन्तरको मेहनतले व्यवसायको दायरा बढाउँदै रमाइरहनुभएको छ । दैनिक हजारौँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै केही गरौँ भन्ने लाग्नलाई विष्टको स्ट्रबेरी खेती उदाहरणीय बन्ने गरेको छ । अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै आउनुभएको छ । उहाँले आफ्नै माटोमा बगाउनुभएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको बताउनुभयो । विष्टले आफ्नो १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर युवालाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने अभियानमा लागेको बताउनुभयो ।
बयालिस वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको होइन । रुले रोपेको देखेर र भनेको सुनेको भरमा काम थालेको उहाँको भनाइ छ । गत वर्ष स्ट्रबेरी बेचर सबै खर्च काट्दा पनि ४० लाख मुनाफा भएको विष्टले जानकारी दिनुभयो । उहाँले यस वर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यसबाट गत वर्षभन्दा बढी आम्दानी हुने बताउनुभयो । उहाँले स्ट्रबेरी खेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोप्नुभएको छ । विष्टले भन्नुभयो, “बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन गर्न थालेको छु ।”
उहाँले चितवन, नवलपरासी र बारामा स्ट्रबेरी खेतीका लागि अध्ययन भइरहेको भन्दै गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेको जानकारी दिनुभयो । दुई महिनामा हुर्केको स्ट्रबेरीले उत्पादन दिन थाल्छ । हाल स्ट्रबेरीको बजारमा प्रतिकेजी तीन सयदेखि सात सयसम्ममा बिक्री हुने गरेको विष्टले बताउनुभयो । बनेपा र आसपासका किसानले खेतमै आएर हेर्ने र किनेर लैजाने गर्न थालेका उहाँको भनाइ छ । “आजभोलि दैनिक बेरी खेती हेर्न आउने क्रम बढ्दैछ । उहाँहरू आएर हेर्नुहुन्छ अनि फर्किदा किनेर लैजानुहुन्छ । बजारको भन्दा यहाँ केही सस्तो पर्ने भएकाले पनि उहाँहरूले लैजाने गर्नुभएको छ”, विष्टले भन्नुभयो ।
उहाँका अनुसार उत्पादित स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडौँ, पोखरा तथा चितवनसम्म जाने गरेको छ । उहाँले भन्नुभयो, “देशका प्रमुख सहरमा मेरा उत्पादन पुर्याउने लक्ष्य लिएको छु, स्ट्रबेरीका बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ । त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।” प्रतिबिरुवा २५ देखि ३० सम्ममा बिक्री हुने गरेको विष्टले जानकारी दिनुभयो । करिब ४० लाख लगानीबाट थालिएको व्यवसायमा अहिले उहाँको दुई करोड लगानी पनि थपिएको छ । अमर भूमण्डलीय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी नयाँ-नयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको हो ।
“सुरुआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुपर्यो, अहिले त्यस्तो छैन,” विष्टले भन्नुभयो । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ भएको उहाँले अनुभव सुनाउनुभयो । विष्टको व्यवसायमा अहिले स्ट्रबेरी मात्र छैन, करिब दुई सय बोट ड्रागनफ्रुट पनि उत्पादन हुने क्रममा रहेका छन् । परीक्षणका रूपमा रोपिएका ड्रागनफ्रुटको उत्पादनलाई हेरी व्यावसायिकता दिने सोचमा उहाँ हुनुहुन्छ । फार्ममा स्थानीयवासीले रोजगारी पाएका छन् । तीन जनालाई नियमित तथा दैनिक आवश्यकता अनुसार कामदार लगाउने गरेको विष्टको भनाइ छ ।
हाल मुक्तिको व्यवसायमा कुखुरापालन र बाख्रापालन पनि देख्न सकिन्छ । उहाँको फार्ममा पाँच सयदेखि एक हजारसम्म कडकनाथ जातका काला कुखुरा छन् । जसबाट उत्पादन भइरहेको अण्डा र मासु बिक्री भइरहेको छ । व्यवसायका लागि विष्टले वित्तीय संस्थाबाट ऋण लिएको बताउनुभयो । “अहिलेसम्म सरकारी अनुदानमा ऋण पाएको छैन, प्रयास गर्दैछु । सरकारले पौरखी किसानलाई सहुलियत ऋण दिए व्यावसायिक कृषि उत्पादनमा लाग्नेको सङ्ख्या बढ्न सक्छ र युवा बिदेसिने क्रम घट्ला कि !” उहाँले भन्नुभयो । रासस