• १८ वैशाख २०८१, मङ्गलबार

वायु प्रदूषणले बिरामी बढ्दै

blog

मध्यविन्दु जिल्ला अस्पतालमा आएका बिरामी ।

मीना कंडेल

कावासोती, वैशाख ५ गते । पछिल्लो समय वायु प्रदूषणले बिरामीको सङ्ख्या बढ्न थालेको छ । प्रदूषणले गर्दा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, आँखा चिलाउने, पोल्ने समस्या लिएर आउने बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको नवलपुर जिल्ला अस्पतालले जनाएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालका डा जितेन्द्र कंडेलले वायु प्रदूषणको मुख्य कारण डढेलो, बन्दै गरेका सडक रहेको बताउनुभयो । वन डढेलोबाट आर्थिक, सामाजिक र जैविक विविधतामा मात्र क्षति पुग्ने नभई त्यसबाट निस्कने धुवाँको मुस्लोमा कार्बनमोनोअक्साईड, मिथेन र अन्य प्राङ्गारिक ग्याँसले वायुमण्डल दूषित भइ मानिसमा आँखा तथा श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने भएकाले बिरामीको सङ्ख्या पहिलेको तुलनामा वृद्धि हुदै गएको डा कंडेलले बताउनुभयो । 

जिल्ला अस्पतालमा अन्य समयमा दैनिक रुपमा दुई सय बिरामी आउने गरेको भएपनि अहिले चार सयसम्म बिरामी आउने गरेको उहाँले बताउनुभयो । मौषममा आएको परिवर्तन र प्रदूषणले विशेषगरि बालबालिका र वृद्धवृद्धाहरु आँखा चिलाउने, पोल्ने, घाटि दुख्ने, रुघाखोकीका बिरामी धेरै आउने गरेको उहाँले बताउनुभयो । वन डढेलो र पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेकाले त्यहाँको धुलोको कारणले पनि बिरामीको सङ्ख्यामा वृद्धि आएको डा कंडेल बताउनुहुन्छ।

यता देवचुली नगर अस्पतालका मेडिकल अफिसर डा. बिबेक बस्ताकोटीले बिरामीको सङ्ख्यामा दैनिक १५ देखि २० जना समेत आउने गरेको बताउनुभयो । वनमा हुने आगोलागी र प्रदूषण लगायतका कारणले तुवाँलो बढी मात्रामा देखिएको छ जसले गर्दा आँखा पोल्ने, चिलाउने, छालाको समस्या र श्वासप्रवास सम्बन्धी जिल्ला अस्पतालमा आउने गरेको बताउनुभयो । वायु प्रदूषणबाट सुरक्षित रहनकोे लागि घरबाट बाहिर ननिस्कने, निस्कनै परे मास्क र चस्माको प्रयोग गर्ने, बारम्बार सफा पानीले आँखा सफा गर्नुपर्ने सुझाव दिनुभएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय नवलपुरका प्रमुख मुक्तिनाथ भट्राईले पछिल्लो केही दिनदेखि बढेको वायु प्रदूषणले नागरिकमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने भएकोले धँवा धुलो र प्रदूषणबाट बच्न सतर्कता अपनाउनु पर्ने बताउनुभयो । वनमा हुने आगोलागी र प्रदूषण लगायतका कारणले तुवाँलो  हट्न सकेको छैन । यद्यपी दीर्घरोगी र बालबालिकामा बढी यसको असर परेकाले सकेसम्म दिउँसो घाममा घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।

निमार्णका रुपमा रहेको सडक धुलाम्मे हुदा साथै वनमा डढेलो लाग्नेक्रम नरोकिदा यसबाट निस्किएको धुवाँले एकातिर चालक र यात्रुको आँखा पोल्ने, दम बढ्ने समस्या देखिएको छ भने अर्कोतिर बाटो धमिलो देखिनाले दुर्घटना समेत हुनसक्ने बताउनुभयो । डढेलोबाट बहुमूल्य वनस्पति एवं वन्यजन्तुको नाश हुने, वन नजिक रहेका बस्तीमा क्षति पुग्ने हुँदा वन डढेलो नियन्त्रण गर्नु आवश्यक छ । स्वास्थ्यको ख्याल गर्दै सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।