• १८ वैशाख २०८१, मङ्गलबार

आगलागी हुँदा १५ बिघाको गहुँबाली जलेर नष्ट

blog

आगलागीबाट सखाप भएको किसानको गहुँबाली । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, वैशाख ५ गते । बाँकेको जानकी गाउँपालिका २ नेवाजीगाउँमा आगलागीबाट १५ बिघाको गहुँबाली जलेर नष्ट भएको छ । एक्कासि खेतमा आगलागी हुँदा ११ जना किसानको १५ बिघामा लगाइएको गहुँबाली नष्ट भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।

आगलागीबाट अन्दाजी दुई लाख रुपियाँ बराबरको गहुँ बाली नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपालगन्ज १० गोसाई गाउँमा एक खेतबारी सफा गर्ने क्रममा आगो लागेपछि सोही आगो जानकी गाउँपालिका वडा नम्बर २ नेवाजीगाउँका ११ जना किसानको गहुँबालीमा सल्किएको प्रहरीले जनाएको छ ।

आगलागी भएको सूचना पाए लगत्तै प्रहरी चौकी बेलभारबाट प्रहरी सहायक निरीक्षक रेशम बहादुर खड्काको कमाण्डमा ५ जनाको टोली र साईगाउँ प्रहरी चौकी इन्चार्ज वरिष्ठ सई अमर रावत सहितको टोली आगलागी स्थलमा खटिएको थियो । प्रहरी, दमकल र स्थानीयहरूको सर–सहयोगमा करिब एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन् । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 

किसानले अधियामा लगाएको १५ बिघा गहुँ बाली सखाप भएको जानकी वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले बताउनुभयो । उहाँले आगलागीमा परेका अधिकांश खेतलाई गरिब किसानले अधियामा गहुँ लगाएको जनाउँदै अब उनीहरूले आफू के खाने र खेत मालिकलाई के दिने भन्ने चिन्ताले सताइरहेको बताउनुभयो । 

गर्मी सुरु भएर हावाहुरीको मौसम सुरु भएलगत्तै बाँकेका धेरै ठाउँमा आगलागीका घटनाहरू भएका छन् ।