• १८ वैशाख २०८१, मङ्गलबार

दैनिक उपभोग्य सामग्रीको मूल्य घट्यो

blog

सिमकोटस्थित व्यापारीको पसल । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला वैशाख ५ गते ।
 हिमाली जिल्ला हुम्लामा दैनिक उपभोग्य सामग्रीको मूल्य घटेको छ । उद्योग वाणिज्य सङ्घ हुम्लाले बुधबारबाट लागू हुनेगरी बजारमा उपभोग्य सामानको मूल्य घटाएको हो ।

सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले प्रत्येक उपभोग्य सामग्रीको मूल्य घटाएको बताउनुभयो । सङ्घको मङ्गलबार बसेको बैठकले हालको मूल्य २० प्रतिशतसम्म घटाएर नयाँ मूल्य निर्धारण गरी बुधबारबाट लागू भएको उहाँले बताउनुभयो ।

अध्यक्ष भण्डारीका अनुसार ३९ प्रकारमा दैनिक उपभोग्य सामानको मूल्य घटाइएको छ । पैदल मार्गबाट आउने सामानको मूल्य हवाई मार्गबाट आउने सामानकै जति मूल्य पर्ने गुनासो आउन थालेपछि सङ्घले यो निर्णय गरी कार्यान्वयन गरेको हो ।

उहाँले यो निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र यसका लागि समन्वय तथा अनुगमन गर्न स्थानीय प्रशासन र गाउँपालिकालाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पैदल मार्गबाट हुम्लामा आउने सामानको मूल्य घट्ने छ ।

मूल्य घटाइएका दैनिक उपभोग्य सामानहरूमा धारा तेल, स्वस्तिक तेल, पिठो, चिनी, चिउरा, दुध, जिरा, धनियाँ, बेसार, तरकारी, मसाल कफी, चिया पत्ती, लुगा धुने र नुहाउने सावन, मोटो र मसिनो चामल, अण्डा, मैदा, खुर्सानी लगायतका रहेका छन् ।